– अनन्तकुमार लाल दास     

बालबालिकाहरू परिवारका आकाङ्क्षा र अपेक्षाका केन्द्र हुन्छन्, पारिवारिक सुख, समृद्धि र सफलताको आधार हुन्छन्। यस अर्थमा सम्पूर्ण सामाजिक व्यवस्थाको आधारस्तम्भ नै बालबालिका हुन् र उनीहरूकै लागि हामी जीवनपर्यन्त सङ्घर्षरत रहन्छौं। शिक्षाद्वारा केटाकेटीहरूको बाह्य व्यक्तित्वको निर्माण हुन्छ। शिक्षाको आन्तरिक प्रभाव केटाकेटीहरूमाथि तब मात्र पर्छ जब उनीहरूमा संस्कारको गुणस्तरीय बीउ हुन्छ। आमाबुवाले यो कदापि सोच्नुहुँदैन कि विद्यालयमा हालिदिएको छु, आवश्यक सबै थोक लिइदिएका छौं, अब जिम्मेवारी पूरा भयो। हामी सबैले यो सधैं याद राख्नुपर्छ कि जस्तो वृक्ष हुन्छ त्यस्तै बीउ बन्छ र जस्तो बीउ हुन्छ त्यस्तै वृक्ष हुन्छ। प्रकृतिको यही नियम हो।

आजको प्रतिस्पर्धात्मक युगमा बालबालिकाहरूमाथि पढाइको बढी दबाब हुन्छ। तर हरेक विद्यार्थीले कुनै पनि कुरा राम्ररी बुझोस् भन्ने आवश्यक छैन, किनभने हरेक बालबालिका एकनास हुँदैनन् र उनीहरूको बुझ्ने क्षमता पनि बेग्लाबेग्लै हुन्छ। यदि विद्यार्थीहरू पढाइमा कमजोर छन् भने रिसाउनु, हप्काउनु वा सजाय दिनु उचित होइन। यदि तपाईंको बच्च पढाइमा कमजोर छ भने उसलाई सुत्न वा खेल्न नदिनु उचित होइन। बुद्धि विकासको लागि निदाउनु र खेलकूद त्यतिकै आवश्यक हुन्छ। यस कारण अभिभावक वा शिक्षकले शिष्यलाई पढाइमा योग्य बनाउनु छ भने पहिले समस्याको कारण बुझ्नुपर्छ किनभने केही बालबालिकालाई किताबी कुरा अलि कम समझमा आउँछ। यस परिस्थितिमा उसलाई खेल वा भिडियो आदिको माध्यमले पाठको अवधारणा बुझाउन सकिन्छ।

कुनै विद्यार्थी जो पढाएको कुरा बिस्तारै बुझ्छ ऊ पढाइमा प्रायः पछि पर्दछ किनभने उसले पहिले पढाएको पाठ बुझेकै हुँदैन र अर्को पाठ पढ्नुपर्ने हुन्छ। यसरी आधारभूत कुरा नबुझ्दै माथिल्लो पाठ पढाउँदा उसले झन् बुझ्न सक्दैन र पढाइबाट भाग्न खोज्छ। यो कुरामा शिक्षक र अभिभावक दुवैले ध्यान दिनुपर्छ। यस्ता विद्यार्थीलाई कक्षामा पढाउन गा–हो हुन्छ। प्रयास के गर्नुपर्छ भने उसलाई बेग्लै केही विशेष समय दिएर नबुझेका कुरो बुझाइदिनुपर्छ।  अन्यथा कमजोर विद्यार्थी पढाइमा पछि पर्दै जान्छ र उसको आत्मविश्वास पनि खस्दै जान्छ। उनीहरूको मनमा के भ्रम उत्पन्न हुन्छ भने पढाइमा राम्रो गर्न सक्दैनन्। यस कारण यस्ता विद्यार्थीको पढाइमा सुधार ल्याउन उसलाई पटक–पटक प्रोत्साहित गरिराख्नुपर्छ। यसरी गर्दा बिस्तारै कम हुँदै गएको आत्मविश्वास बढ्न थाल्छ र बिस्तारै पढाइमा ध्यान दिन थाल्छ। यसबाहेक उसको अध्ययनमा कुनै अवरोध छ भने त्यसलाई पनि ध्यानमा राखेर सहयोग गर्नुपर्छ।

कमजोर विद्यार्थीको पढाइमा सुधार ल्याउनको लागि अतिरिक्त परिश्रम आवश्यक पर्छ। यसर्थ उसको पढाइको लागि समय निर्धारित गर्नुपर्छ। जुन विषयमा ऊ बढी कमजोर छ त्यस विषयमा बढी समय निर्धारित गर्नुपर्छ। अभिभावकहरूले यस्ता केटाकेटीहरूलाई नियमित र निर्धारित समयमा पढ्न प्रेरित गर्नुका साथै स्वयं वा शिक्षकको सहायताले पढाउनुपर्छ। कहिले पनि उसको पढाइको समयक्रम भङ्ग गर्नुहुँदैन र पढाउँदा धैर्य राख्नुपर्छ। कहिले पनि उसमाथि रिसाउनु हुँदैन। तर विडम्बना के छ भने मधेसमा अभिभावकहरूले उनीहरूमाथि राम्ररी ध्यान नदिनु, अध्ययन छोडाएर पारिवारिक क्रियाकलाप सामेल गराउनु, शिक्षकहरूले सम्पर्क गर्न बोलाउँदा विभिन्न बहाना बनाएर नआउनु, विद्यार्थीको आवश्यकतालाई सबैभन्दा पछिको सूचीमा राख्नु प्रमुख कारण रहेको छ।

जहिले पनि अभिभावक वा शिक्षकहरूले उसको जीवनसँग सम्बन्धित कुरा सम्झाउँदा उसको साथीजस्तै भएर सम्झाउनुपर्छ। उपदेश वा भाषण नदिई यसरी सम्झाउँदा उसले कुरा सुन्छ र बुझ्छ पनि। यदि अभिभावकले पनि शिक्षकजस्तै सम्झाउन थाल्छन् भने तपाईंको कुरा उसले सुन्ने र बुझ्ने प्रयास नै  गर्दैन। यस कारण उनीहरूसँग कुरा गर्दा उनीहरूजस्तै बनेर कुरा गर्नुपर्छ। यसको लागि रचनात्मक तरीकाले खेलखेलमा सम्झाउने प्रयास गर्नुपर्छ। यसरी सम्झाउँदा सिकाइएको फर्मुला कहिले पनि बिर्सिदैन। सधैं पाठ्यपुस्तक लिएर पढाउनुको साटो हिंड्दाहिंड्दै सिकाउने प्रयास गर्नुपर्छ। तर यो कार्य मधेसका धेरैजसो शिक्षक र अभिभावक दुवैको लागि सम्भव देखिंदैन किनभने उनीहरूसँग ‘समयको अभाव’ हुन्छ। यो समय उनीहरू कहाँ–कहाँ खर्च गर्छन् यो जगजाहेर छ। यस कारण हाम्रो समाजमा शिक्षकले अभिभावकलाई र अभिभावकले शिक्षकलाई दोष दिने चलन रहेको छ। केटाकेटी विद्यालय गइरहेका छन् भने उनीहरूको प्रगतिको जिम्मेवारी विद्यालयको मात्र होइन। एउटा शिक्षकसँगै अभिभावकको पनि के कर्तव्य हो भने उसले घरमा विद्यार्थीहरूलाई पढेका कुराहरूको अभ्यास गराउनुपर्छ। सँगसँगै रचनात्मक तरीकाले उनीहरूको परीक्षा पनि लिइराख्नुपर्छ र केही इनाम पनि दिनुपर्छ।

ससाना कमजोर केटाकेटीहरूलाई पढाउने सबैभन्दा सजिलो माध्यम हो खेलेर पढाउने किनभने उनीहरूलाई खेल मन पर्छ। कमजोर विद्यार्थीलाई पढाउने थुप्रै तरीका छन्। जस्तै कुनै बच्चा जनावर हेरेर दङ्ग पर्छ भने उसलाई जनावर हेराएर पढाउनुहोस्। यस्ता विद्यार्थीहरूलाई कहिले पनि हप्काएर पढाउनुहुँदैन। उनीहरूलाई मनोरञ्जन गरेर सिकाउँदा सजिलै सिक्छन् र जीवनभरि बिर्संदैनन्। यस्ता विद्यार्थीहरू जो एकैपटक बढी कुरो सिक्न सक्दैनन् उनीहरूलाई अलिअलि गरेर सिकाउनुपर्छ र पटक–पटक अभ्यास गराइराख्नुपर्छ। केटाकेटीहरूलाई लामो समयसम्म नपढाई बीचबीचमा विश्राम दिनुपर्छ। उनीहरूमाथि यथोचित ध्यान नदिंदा केटाकेटीहरू विद्युतीय कुलतका शिकार भइरहेका छन् जुन उनीहरूको स्वास्थ्यका साथै भविष्यको लागि पनि राम्रो होइन। विद्युतीय उपकरणको निरन्तर प्रयोगले केटाकेटी हरूको आँखा खराब हुनुका साथै स्मरण शक्ति पनि कमजोर हुँदै गइरहेको छ। यस्ता कुरामा अभिभावकहरूले गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक छ।

यसको लागि पढाइको बेला विद्युतीय उपकरणबाट टाढा बसेर पढाइ गर्नुपर्छ लामो समयसम्म पढ्नको लागि ३० मिनेटपछि ५ मिनेटको ब्रेक लिनुपर्छ। त्यसपछि त्यसलाई दो–याउनुपर्छ र चार पटक दोहो–याएपछि १५–२० मिनेटको ब्रेक लिनुपर्छ। पढ्नको लागि सधैं शान्त ठाउँ रोज्नुपर्छ। विद्युतीय कुलतले गर्दा हिजोआज धेरैजसो केटाकेटीहरूको ध्यान पढाइमा हुँदैन। उनीहरू केही न केही बहाना खोजिरहन्छन्। यसको असर उनीहरूको पढाइमा परिरहेको छ। यदि तपाईंलाई पनि यस्तै लागिरहेको छ भने उनीहरूलाई उत्प्रेरण दिने गर्ने सबैभन्दा सजिलो तरीका उनीहरू पढिरहेको बेला सँगै बसेर उनीहरूको समस्या बुझ्ने प्रयास गर्नुपर्छ। यस बेला मोबाइल र ल्यापटपमा समय बिताउनुको साटो सन्तानसँगै बसेर उनीहरूलाई सहयोग गर्नु बेस हुनेछ।

प्रायः अभिभावकहरू आफ्ना सन्तानलाई राम्रो ग्रेड ल्याउन दबाब दिन्छन्। यसो गर्नु पढाइको दृष्टिले सही होइन। यसो गर्नुको साटो सिक्नको लागि प्रोत्साहित गर्नुपर्छ। उसको समस्या बुझेर त्यसको समाधानका लागि शिक्षकहरूसँग सल्लाह लिनुपर्छ। आफ्नो सन्तानको सिक्ने र याद गर्ने क्षमता कस्तो छ बुझ्ने प्रयास गर्नुपर्छ। उदाहरणका लागि पढेर छिटो याद गर्छ वा लेखेर, बिहान छिटो याद हुन्छ वा राति आदि कुरा बुझेपछि तदनुसार पढाउन सजिलो हुन्छ। अभिभावकले आफ्नो सन्तानको कुरा महत्वका साथ सुन्नुपर्छ, त्यसको विश्लेषण गर्नुपर्छ र सोही अनुसार सुझाव दिनुपर्छ। पढ्नको लागि प्रेरित गर्ने सबैभन्दा सजिलो तरीका उसको प्रशंसा गर्नु हो। पढ्नको लागि प्रलोभन दिनु सही हुँदैन। प्रलोभनले उनीहरूलाई स्वार्थी बनाउँछ, मेधावी

होइन।                    

अभिभावकको भूमिका केटाकेटीहरूको सोचलाई दिशा प्रदान गर्न महत्वपूर्ण हुने भएकोले सन्तानको हरेक सफलतामा ऊसँग क्षमता छ भन्ने बोध गराउनु आवश्यक छ। फेल भए तापनि सन्तानप्रतिको प्रेममा कमी आउनुभएन, उनीहरूसँग बढी अपेक्षा राख्नु पनि राम्रो होइन। तर केटाकेटीहरूसँग बढी समय व्यतीत गर्नुपर्छ। स्वयं पठनपाठनमा रुचि राखेपछि सन्तानमा पनि सोही अनुकूल रुचि जागृत हुन्छ। विद्यार्थीहरूमा भएको कमजोरी हटाउन अभिभावक सँगसँगै शिक्षक स्वयं सजग हुनुपर्छ। शिक्षकहरूले पनि पूर्ण तयारीका साथ कक्षामा प्रवेश गर्नुपर्छ र रोचक तरीकाले पढाउनुपर्छ। टिफिनको बेला एक्लै नबसी विद्यार्थीहरूबीच गएर कुराकानी गर्नुपर्छ। प्राचीनकालका शिक्षकहरू विद्यार्थीको घरघर पुग्थे जुन अहिले सम्भव छैन। पहिलो कारण त समयको अभाव, दोस्रो आफ्नो दबदबाको अभिमान र निस्स्वार्थ भावको कमी देखिन्छ। यसले शिक्षकलाई त्यस ठाउँमा पु–याएको छ जहाँ हामी सुन्छौ–“मलाई के मतलब पढछन् कि पढदैनन्। आफैं भोग्छन्। अभिभावक र प्रधानाध्यापकले गरून्। जो पढ्न खोज्छ उसलाई पढाइदिने हो।”

यस आलेखमार्फत भन्न खोजिएको के मात्र हो भने यदि शिक्षकले इमानदारीपूर्वक विद्यार्थीहरूसँग आफ्नो छोराछोरी सरह व्यवहार गर्छन् र घरमा अभिभावकले उनीहरूको पढाइमा रुचि लिन थाल्छन् भने ‘कमजोर विद्यार्थी’ भन्ने शब्द शिक्षाबाट लुप्त हुन्छ किनभने विद्यार्थी कोही पनि कमजोर हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here