– सिबी अधिकारी
काठमाडौं, २६ असार/रासस
वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उडयन क्षेत्रमा स्थापित नाम हो। हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनले वर्षाैंदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाएका छन्। सो क्षेत्रमा सफलता हासिल गरेका व्यक्ति धानमिल अर्थात् धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा कसरी मोडिए त ? रासससँग भएको कुराकानीमा प्रबन्ध निर्देशक बस्नेतले भने–“बुद्ध एयर खोल्नु अगाडि धानमा परिचित थिएँ, धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हुँ, यसैले नेपालको सफलतम न्यायसङ्गत व्यवसाय के हुन सक्छभन्दा त्यो कृषि नै हो, किनभने अहिले पनि हामी कृषिप्रधान देश भनेर चिनिन्छौं।”
उनको अनुभूतिमा जिन्दगी दर्शनसँग जोडिन्छ। किनभने कुन व्यक्तिले कुन काम गर्ने र आफ्नो जीवनको दर्शन हो, के गर्न चाहन्छु, के गर्छु भन्ने विषयसँग जोडिएको हुन्छ। “वायुसेवामा चुलो बाल्ने साधन हामीले सिर्जना ग–यौं। सफल नै छ र राष्ट्रिय उद्योग राष्ट्रिय अर्थतन्त्रमा ठूलो सेवा पु–याएको छ। योगदान पनि गरेको छ। तर राज्यको समृद्धि के हामी यस सफलताबाट स्थापित गर्न सक्छौं कि सक्दैनौं”–उनले भने। कृषि पेशाप्रति मौलाइरहेको नेपाली नैराश्यलाई परिवर्तन र प्रोत्साहन गर्ने हेतुले यो अभियानमा सक्रिय भएको उनको भनाइ छ। उनले भने–“हरेक एक व्यक्ति एउटा स्थानमा पुग्छ। उसले योगदान गर्न सक्छ। आखिरमा माटोमा नै विलय हुने हो।” उनको बुझाइमा माटोमा विलय हुनुभन्दा पहिले समाज, देश र भावी सन्ततिका लागि केही योगदान गर्न सकिन्छ कि सकिंदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ।
प्रबन्ध निर्देशक बस्नेत कृषिलाई निर्वाहमुखीबाट उद्योगमुखी बनाउन वा व्यवसायीकरण गर्न जोड दिन्छन्। उनले भने–“हामीसँग प्रशस्त जमीन छ। धान ‘अनस्टेबल डाइट’ हो”– नेपालमा रु ५० अर्बको धान आयात गरिएको आँकडा छ। त्यो आयात हुने धान रोक्न र आफैं आत्मनिर्भर हुन सके त्यसले सफलताको कथा निर्माण गर्ने उनले बताए। न्यायोचित र कम खर्च तथा आम्दानी बढाउन सक्यौं भने सफलताको कथा हुनेछ। जसले हरेक नेपाली वा युवापीढीलाई प्रोत्साहित गर्नेछ।
‘आरजु राइस मिल’ स्थापना
मुलुकको आन्तरिक उडानमा १४ एटिआर र दुर्ई थान बिजक्राप्ट गरी कुल १६ जहाजमार्फत यात्री बोक्ने बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सिएसआर) अन्तर्गत व्यावसायिक कृषिमा लगानी गरेको हो। विसं २०६९ मा नेपाल कृषि कम्पनी स्थापना गरी मोरड्ढा विभिन्न स्थानीय तहमा धानखेती व्यवसायीकरण र यन्त्रीकरणमा लगानी गरिरहेको बुद्धले अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजार पठाउने तयारी गरेको छ। बुद्धले मोरड्ढो बेलवारी नगरपालिकास्थित डाङ्गीहाटमा ‘आरजु राइस मिल’ स्थापना गरेको छ। मिलमा अहिले उपकरण जडानको कार्य धमाधम चलिरहेको छ।
कम्पनीले अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झन्डै रु ५० करोड लगानी गरेको छ। उक्त धानमिल आगामी कात्तिकदेखि सञ्चालन हुनेछ। बुद्धले कृषि यन्त्रीकरणमा रु सात करोडभन्दा बढी खर्च गरिसकेको छ। सो भेगमा ससाना टुक्रा जमीन एकीकृत गरी ठूला मेशिनको प्रयोगबाट धान रोप्ने र काट्ने काम भइरहेको छ।
बुद्ध एयरले आफ्नो भगिनी संस्था नेपाल कृषि कम्पनीमार्फत निश्चित क्षेत्रमा निश्चित जातको धान रोप्न कृषकलाई प्रोत्साहन गरिरहेको छ। यसरी फलेको धान आरजु राइस मिलले सीधै खरीद गर्नेछ। मिलले मोरङ र यस आसपासका जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरीद गरी त्यसलाई स्वदेशी ब्रान्डमा नेपाली बजारमा पठाउने लक्ष्य लिएको छ।
पछिल्लो ११ महीनामा नेपालले रु २८ अर्ब ५० करोड बराबरको चामल आयात गरिसकेको आँकडा छ। आयात प्रतिस्थापन र कृषिको व्यवसायीकरण गरी अर्थतन्त्रलाई सबलीकरण गर्ने लक्ष्यसहित कृषिमा यन्त्रीकरणको अभियान थालिएको बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले बताए। कम्पनीले धान फलाउने कृषक र चामल खाने उपभोक्ताबीचका अनेक ‘ब्रोकर’को चेन तोड्ने विश्वास लिएको छ। यो राइस मिलले पहिलो एक सिजनमा दुर्ई हजार मेट्रिक टन र त्यसपछि वार्षिक १३ हजार मेट्रिक टन चामल उत्पादन गर्ने लक्ष्य लिएको छ।
अहिले नेपालमा धेरै मोटो धान उत्पादन हुन्छ। किनकि मसिनो धानको बजार व्यवस्थित भएको छैन। मसिनो धान मिलिङ गर्ने इक्युपमेन्ट पनि छैन। “मिलहरूको त्यो खालको इक्यिुपमेन्ट छैन। त्यसले गर्दा मोटो धान उत्पादन हुन्छ, जसको चामलको मूल्य रु ४० देखि ५० हुन्छ। धानको मूल्य एकदमै थोरै हुन्छ। धानको मूल्य ठीक नहुने भएकोले हामी निर्वाहमुखी खेतीपातीबाट माथि उठ्नै सकेका छैनौं”–प्रबन्ध निर्देशक बस्नेतले भने। सबैभन्दा धेरै उत्पादन र खेती हुने पनि धान नै भएकोले त्यो भिसेप साइकललाई कसरी ब्रेक गर्ने भन्ने एउटा हाइफोथेसिस सिर्जना गर्नु अति जरूरी ठानेर कम्पनी करीब १५ वर्षदेखि कृषि कार्यमा लागेको उनले उल्लेख गरे।
कम्पनीले अहिले मसिनो धान पनि उत्पादन गरिरहेको छ। किसानले लङ्ग्रेन ६.५ एमएमको धानबाट चामल उत्पादन गरे खरीद गरिरहेका छौं। चैतेधानको न्यूनतम रु ७५० तोकिएको छ। आरजु राइस मिलले धान भण्डारणमा पनि ठूलो लगानी गरेको छ। भण्डारण गर्ने ढ्वाङहरू साढे ३ हजार टनका छन्। त्यहाँ सबैभन्दा ठूलो लगानी पिकक्युलयन र डायरमा गरिएको छ। किनकि उत्पादन भएर आउनेबित्तिकै आउने धान वा मकैको नमी एकदमै धेरै हुन्छ। धानलाई १३ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ र मकैलाई ३० प्रतिशतबाट १५ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ। “हरेक घरले महीनामा २० देखि ३० केजी चामल प्रयोग गर्छन्। त्यो खालको बजारीकरण योजनामा जानुपर्छ। यो विशुद्ध नेपाली चामल हो। रु २० देखि २५ रिटेल मूल्य कम गरेर दिन्छौं”–उनले भने।
बेलवारी नगरपालिकामा १० हजार बिघाभन्दा बढी खेतीयोग्य जमीन छ। आरजु राइस मिलले पाँच हजार ५०० बिघाको उत्पादन व्यवस्थापन गर्नेछ।
मिलमा जुन धान प्रशोधन गर्ने प्रविधि छ, त्यो प्रविधिको उच्चतम प्रयोग गर्दा मात्रै धेरै फाइदा हुन्छ। त्यसले अर्थतन्त्रको स्केल तय गर्छ, उत्पादन गर्दाको खर्च घटाउने बस्नेतको विश्वास छ। उनले भने–“नेपालमा अन्य राइस मिलहरूको प्रविधि कस्तो छ थाहा छैन। पहिलोपटक राइस मिल खोल्दैछु। अरूको राइस मिल हेरेको छैन। राइस मिलको दुर्ईवटा टेक्नोलोजी हो एउटा भुलर र अर्काे जापनिज टेक्नोलोजी। दुवैलाई कम्प्युटर ग–यौं। भुलर तुरून्तै आयो। भुलर स्वीज मल्टिनेशनल टेक्नोलोजी हो। यो टेक्नोलोजी फूड ग्रेन म्यानेजमेन्टमा संसारको उच्चतम टेक्नोलोजी हो। उनीहरूको धान मिलको राम्रो टेक्नोलोजी ल्याएका छौं।”
एक तथ्याङ्क अनुसार वार्षिक धान, चामल, गहुँ, मकै रु ८० अर्बभन्दा बढी आयात हुन्छ। त्यसमा चामलमात्रै रु ५० अर्ब हाराहारी आयात गरिंदै आएको छ। सञ्चित मुद्रा बाहिरिंदै गएको छ। बुद्ध एयरले पूर्वी तराईका मोरङ, सुनसरी र झापा जिल्लामा यन्त्रीकरणका साथै हाइब्रिड बीउ भिœयाई धान उत्पादन दोब्बर–तेब्बर वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ। किसानलाई धानखेतीप्रति प्राविधिक र व्यावहारिक सल्लाह पनि दिइरहेको छ।