राधेश्याम पटेल, काठमाडौं, २१ असार/
नेपालको सङ्घीय राजधानी काठमाडौंमा धेरैका कथा र संयोग जुडेका वृतान्त भेटिन्छन् ।
त्यसैमध्येका एक पात्र हुन्– पर्सा, धोबिनी गापा–४ लङ्गडीका ७७ वर्षीय जङ्गाली दास बनियाँ । बनियाँ २२ वर्षको उमेरमा काठमाडौं उक्लेका थिए । त्यसपछि उनको संसार काठमाडौंमैं रचेबसेको छ ।
२००२ सालमा जन्मेका बनियाँ गाउँकै नेपाली काङ्ग्रेसका नेता वशिष्ठनारायण कुर्मीसँग काठमाडौं हुँइकिएका थिए । काठमाडौंमा कलेजको पढाइ गर्न आएका कुर्मीलाई डेरामा खाना पकाउन उनले सहयोगीको रूपमा बनियाँलाई काठमाडौं लिएर आएका थिए ।
बनियाँले बिहान र बेलुका कुर्मीको डेरामा खाना पकाउने र दिनमा फूटपाथमा पसल शुरू गरेका थिए । उनले शुरूमा कस्मेटिक सामान टँुडिखेल आसपासमा बिक्री गर्थे । त्यसपछि उनले रानीपोखरीछेउमा सडकपेटीको व्यवसायलाई निरन्तरता दिइरहे । अहिले राष्ट्रिय नाचघर हालको सांस्कृतिक प्रतिष्ठानको मूलगेटको दाहिनेपट्टि दुईवटा टेबलमा उनको फूटपाथ पसल सञ्चालनमा छ ।
बिहान ८ देखि राति ११ बजेसम्म उनी पसल चलाउँछन् । नाचघरका जिएम हरिहर शर्मा भएको बेला उनले नाचघरको गेटअगाडि पसल थाप्न मौखिक अनुमति पाएका थिए । त्यसपछि काठमाडौं महानगरका प्रमुख विदुर गौतमले पनि उनको पसल उक्त ठाउँबाट नहटाइयोस् भनेर बेलाबेलामा सहयोग गरेको उनी सम्झन्छन् ।
नेपालका अन्य जिल्लाबाट काठमाडौं आएर व्यवसाय गरी धेरैले घरजग्गा जोड्छन् तर बनियाँले हालसम्म काठमाडौंमा घरजग्गा जोड्न नसकेको दुःखेसो पोख्छन् । उनको पर्साको लङ्गडीमा घडेरी भएको बनियाँ अहिले पनि डेरामैं बस्छन् । “मेरा चारजना छोरा थिए, एकजना कलेजोको रोगले बित्यो, अहिले तीनजना छोरा छन्, पत्नीको पनि स्वर्गवास भइसकेको छ,” उनले भने, “५० वर्षदेखि दुई छाक राम्ररी खाएको छु, परिवारलाई राम्ररी हुर्काएको छु, तर सम्पत्ति भने जोड्न सकेको छैन ।”
३० वर्षअघि बालाजुमा रु आठ हजारमा पाइरहेको चार आना जग्गा हातबाट छुटेकोमा उनी अहिले पनि पछुतो मान्छन् । उनलाई एकजना साथीले उक्त जग्गा खरीद गरी घर बनाउन सल्लाह दिएका थिए, तर उक्त सल्लाह नमान्दा काठमाडौंमा जग्गा जोड्न नसकेको भनी पश्चात्ताप गर्छन् । उनका तीन छोरामध्ये जेठो छोरा ओमप्रकाश बनियाँ नाचघरमैं बिजुलीबत्ती मिस्त्रीको रूपमा काम गर्छन्, माइला छोरा सेनामा सिपाही छन् र कान्छा छोरा बुबासँगै नजीकै अर्को पसल चलाउँछन् । उनका छोराहरू पनि परिवारसँगै काठमाडौंमैं बसेका छन् ।
सबै प्रधानमन्त्रीलाई नजीकबाट हेरेको छु, बालेनको जीतले खुशी छु
सर्ट, पाइजामा तथा शिरमा ढाका टोपीसँगै भेटिएका बनियाँ काठमाडौं महानगरको प्रमुखमा मधेसी समुदायबाट महोत्तरी पुख्र्यौली घर भएका बालेन्द्र शाहले महानगरप्रमुखमा जित्दा खुशी लागेको बताउँछन् ।
बालेनले पछिल्लो स्थानीय चुनावमा सबै दलका उम्मेदवारहरूलाई छक्का छुटाइदिएकोमा आश्चर्य मान्दै भन्छन्, “बालेनको जीतले काठमाडौंमा मधेसी तथा पहाडी समुदायबीच सद्भाव बढेको छ र दुवै समुदायले खुशियाली मनाएका छन् ।”
बालेनले काठमाडौंका फूटपाथमा पसल गर्नेहरूलाई लखेटिरहेको प्रसङ्गमा उनले सुझबुझका साथ आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सुझाव दिए । उनले विगत पाँच दशकमा नेपालका राजा महेन्द्र वीर विक्रम शाहदेखि प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवलगायत सबैलाई नजीकबाट हेरेको बताउँछन् ।
राष्ट्रिय नाचघर, टँुडिखेललगायत काठमाडौंका विभिन्न स्थलमा हुने सार्वजनिक कार्यक्रमको दौरान उनले नेपालका प्रधानमन्त्री तथा मुख्य नेताहरूलाई देखेको उनी बताउँछन् ।