काठमाडौं, २१ असार/रासस

रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा मङ्गलवार बिहान भएको बस दुर्घटनामा नौजनाले अकालमैं ज्यान गुमाए ।

नेपालको भौगोलिक अवस्था, चालकको लापरवाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरू बढ्दो छ ।

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भीरमा खसेर तल्लो सडकमा बजारिंदा नौजना यात्रुको ज्यान गयो । दुर्घटनाको यकीन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठीक नभएको भन्ने खुलेको छ ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाड्ढा अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ । 

आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापाती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा.३ख ८३९६ नम्बरको यात्रुवाहक बस जिल्लाको सुनापाती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भएपनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । हिंडेको केही घण्टापछि (करीब १० किमी गुडेपछि) बस दुर्घटनामा परेको बताइएको छ ।

गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिंदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सीधैं खसेको बताए ।

उनका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो । त्यसपछि केही राम्रो सडक थियो । त्यहाँबाट केही किलोमिटरको दूरीमा विपी राजमार्ग (पक्की सडक) भेटिने पनि उनले बताए ।

बिहान अन्दाजी १० बजेतिर भएको उक्त दुर्घटनामा मृत्यु भएका नौजनामध्ये चार महिला र पाँच पुरुष छन् । उनीहरूको पहिचान खुलेको छैन । दुर्घटनामा अन्य २३ जना यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । 

तीनजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिए । बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको छ । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । 

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ मन्थलीबाट पश्चिम चार घण्टाको यात्रामा घटनास्थल पुगिने भन्दै अहिले आफ्नो टोली घटनास्थलतर्फ गइरहेको बताइन् ।

स्थानीयवासी र प्रहरीले उद्धार कार्य सम्पन्न गरी शवको जाँच मुचुल्का उठाउने कार्यमा प्रहरी जुटेको सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here