• अनन्तकुमार लाल दास

मूल्यवृद्धिको अर्थ वस्तु र सामग्रीको मूल्यमा एक्कासि वृद्धि हुनु हो । मूल्यवृद्धिको समस्या खासगरी गरीब र मध्यम वर्गका मानिसले झेल्नुपर्छ । नेपालमा मात्र होइन विश्वमैं आज मूल्यवृद्धि एउटा गम्भीर समस्या बन्दै गएको छ । यसबाट आम जनतालाई कैयन प्रकारको परेशानीको सामना गर्नुपरिरहेको छ । दिन प्रतिदिन दैनिक उपभोग्य र जीवनको लागि चाहिने आवश्यक वस्तुहरूको मूल्य बढिरहेको छ । परिणामस्वरूप आम मानिसको जीवन दिन प्रतिदिन कठिन बन्दै गएको छ । विडम्बना त के छ भने मूल्यवृद्धिले मर्यादाको सीमा पनि पार गरिसकेको छ । जुन तलबमा हिजो जगीरेलाई गर्व र आत्मविश्वास थियो त्यो आज तलब वृद्धिपश्चात् पनि बेकार साबित भइरहेको छ । कुनै पनि वस्तुको मूल्य बढ्नु देशको अर्थव्यवस्था प्रणालीमा स्वाभाविक हुन्छ किनभने लगातार भइरहेको जनसङ्ख्या वृद्धि र वस्तुहरूको माग र आवश्यक कारणले गर्दा मूल्य बढिरहेको हुन्छ । यदि मूल्यवृद्धिको समस्याको छिट्टै समाधान खोजिएन भने राष्ट्रिय जीवनलाई अस्तव्यस्त हुनबाट कसैले जोगाउन सक्दैन ।

देशमा सङ्घीयता लागू भएपछि मानिसको हृदयमा जुन सुख र समृद्धिको आस जागेको थियो, त्यो आजसम्म पुग्दा पनि फलदायी हुन सकेको छैन । सरकारी योजनाहरूको खर्चमा वृद्धि हुँदै गयो । कागजी तथ्याङ्कमा गरीबी घट्दै गयो तर कोरोनाजस्तो महामारीले पुनः हामी नेपालीलाई पुरानै ठाउँमा पुग्न बाध्य बनायो । कोरोनाको कहर समाप्त नहुँदै रूस–युक्रेन युद्धले हामी नेपालीलाई पुनः आर्थिक मन्दीतिर लगेको सङ्केत दिएको छ । अर्थात् मूल्यवृद्धिको मार खेप्नु हाम्रो नियति बन्दै गएको छ । सिमेन्ट, फलाम, कागज, ओखति र चाहिने खाद्य सामग्री आदिको भाउ पहिलेभन्दा कैयन गुना बढिसकेको छ । आज आम मानिसको असन्तोष चरम सीमा पार गरिसकेको छ । यदि मूल्यवृद्धि यसैगरी बढ्दै गयो भने भविष्यमा अर्को आन्दोलन हुने सम्भावना प्रबल छ । एकातिर सरकारले मूल्यवृद्धि कम गर्ने कुरा गर्दछ भने अर्कोतिर दिन प्रतिदिन मूल्यवृद्धि भइरहेको छ । आज सबैले मूल्यवृद्धि कम गर्ने माग गरिरहेका छन् तर मूल्यवृद्धि न्यून हुने नाम नै लिइरहेको छैन । आखिर यस्तो किन भइरहेको छ ?

नेपालमा मूल्यवृद्धिका कैयन कारण छन् । नेपालमा धेरैजसो सामग्री अन्य मुलुकबाट आयात हुन्छ । यदि त्यस्ता आयातित वस्तुको मूल्य उत्पादक मुलुकमैं वृद्धि हुन्छ भने स्वाभाविकरूपले हाम्रो देशमा पनि मूल्यवृद्धि भइहाल्छ । यसबाहेक उत्पादको आपूर्ति कम हुनु, उत्पादको कालोबाजारी हुनु, आफूखुशी वस्तु र उत्पादको मूल्यमा वृद्धि गर्नु आदिले पनि हाम्रो देशमा मूल्यवृद्धि हुने गर्छ । नेपालमा मूल्यवृद्धिको एउटा अर्को कारण पनि छ–जनसङ्सख्या वृद्धि र युवाशक्ति बेरोजगारी भएर विदेश पलायन हुनु । यसले गर्दा कृषिप्रधान देश भए तापनि अन्नबालीको उत्पादन दिन प्रतिदिन घट्दै गइरहेको छ भने त्यसको आपूर्ति सहज ढङ्गले भइरहेको छैन । यसैगरी बिजुली उत्पादनमा कमीले पनि मूल्यवृद्धिलाई सघाइरहेको छ । त्यहीं अर्कोतिर प्राकृतिक प्रकोपले गर्दा उपजमा कमीले पनि मूल्यवृद्धि हुने एउटा कारण बन्न पुग्छ । धेरैजसो ठाउँमा व्यापारीहरूले वस्तु र उत्पाद जम्मा गरेर त्यसको कालोबाजारी गर्छन् । वस्तु धेरै मात्रामा जम्मा गरेर, खासगरी शहरी क्षेत्रमा, त्यसको कृत्रिम अभाव सिर्जना गर्दा मूल्यवृद्धि हुन्छ । यसमा नियन्त्रण गर्ने निकायको मौन स्वीकृतिले गर्दा पनि मूल्यवृद्धि हुने गर्छ ।

हाम्रोजस्तो सानो र विकासशील मुलुकमा पनि कालोबाजारी बढेकोले मूल्यवृद्धि भइरहेको छ । उदाहरणको लागि वीरगंज बाजारमैं भ्रमण गर्दा ब्यारेकनिर भएको सब्जीबाजारमा तरकारीहरूको मूल्य एउटा हुन्छ भने माईस्थानमा खुलारूपमा बेचिने तरकारीको मूल्य र सब्जी बाजारमा बेचिने तरकारीको मूल्य, बिर्ता बाजार र श्रीपुर बाजारको मूल्य भिन्न–भिन्न हुन्छ । यसले गर्दा धेरैजसो गरीब मानिसलाई राम्रो खाना नसीब भइरहेको छैन । जुन बेला बाजारमा पर्याप्त मात्रामा वस्तु उपलब्ध हुन्छ त्यसबेला व्यापारीहरू बढी मात्रामा त्यसलाई किनेर आफ्नो गोदाममा थुपार्छन् र यसरी वस्तुहरूको कमी भएपछि त्यसको मूल्यवृद्धि हुन्छ । यसरी व्यापारीहरूले कालोबाजारी गरेर देशको अर्थव्यवस्था बिगार्ने काम गर्छन् । यदि यसलाई समयमैं रोकिएन भने मूल्यवृद्धिको समस्या कहिले पनि समाप्त हुँदैन ।

देशमा सही तरीकाले वस्तुहरूको बाँडफाँड नहुनु पनि ठूलो समस्या बनेको छ । आवश्यक वस्तुको उपभोगमा सही तरीकाले बाँडफाँड गर्न धेरै कानून बनाउनुपर्छ । देशका प्रत्येक ठाउँमा खाद्य वस्तुको आपूर्तिका लागि आपूर्ति विभाग स्थापित गरिनुपर्छ । नेपालको हरेक शहरमा दशैंको बेला मात्र नभई सधैंको लागि सुपथ मूल्यको पसल ठाउँ–ठाउँमा सरकारद्वारा खोलिनुपर्छ किनभने व्यापारीको एकमात्र लक्ष्य धन कमाउनु हुन्छ । यसको लागि उनीहरू सधैं सजिलो बाटो खोजिरहेका हुन्छन् । फलस्वरूप उनीहरू आवश्यक सामग्र्री सङ्ग्रह गरेर राख्छन् र बढी मूल्यमा बेच्छन् । अर्कोतिर भ्रष्टाचार पनि मूल्यवृद्धिको एउटा बलियो कारण हो । हिजोआज बढी भौतिक सुविधा हासिल गर्न मानिसहरूलाई बढी धन चाहिन्छ र यसको लागि उनीहरू अनैतिक तरीकाले धन कमाउँछन् । यसको रोकथामको लागि सम्बन्धित निकायले इमान्दारीपूर्वक काम गर्नुपर्ने हुन्छ । यदि खाद्यान्न वितरण प्रणली सही हुन्छ भने मूल्यवृद्धिलाई केही हदसम्म न्यून गर्न सकिन्छ ।

मुनाफाखोर व्यापारी, केही भ्रष्ट अधिकारी र नेताहरू पनि हालको मूल्यवृद्धिका लागि जिम्मेवार छन् । यदि हाम्रो देशमा नियम कानूनको सही ढङ्गले पालना हुन्छ भने मूल्यवृद्धि कम गर्न सकिन्छ । सबैभन्दा पहिले सरकारले देशको उत्पादनमा वृद्धि र त्यसलाई गुणस्तरीय बनाउनुपर्छ । हाम्रो लागि अत्यन्त दुःखको कुरो के हो भने हालसम्म पनि, कृषि प्रधान देश भए तापनि, सरकारले किसानहरूको पीडा बुझ्न सकेको छैन । उनीहरूको लागि सिंचाइको समुचित व्यवस्था, बीउको कमी, खादको प्रबन्ध, आधुनिक साधनको उपलब्धता, समुचित तालीमको व्यवस्था र कृषि क्षेत्रको उन्नतिका लागि किसानहरूलाई ब्याजमुक्त ऋण उपलब्ध गराउन सकेको छैन । सरकारले सदरमुकामको विकास भन्दा बढी गाउँको विकासमा ध्यान दिनुपर्छ । भन्न के खोजिएको हो भने जहाँ किसानहरूको उत्पादन बढाउन सरकारले विशेष योजना निर्माण गरी ध्यान दिनुपर्छ त्यहीं कालोबाजारी र जमाखोरी रोक्नको लागि कडा कानून पनि बनाउनुपर्छ ।

मूल्यवृद्धि रोक्नको लागि बढीभन्दा बढी उद्योग स्थापनामा ध्यान दिनुपर्छ । यसबाट मानिसहरूले रोजगार पाउनुका साथै उत्पादनमा पनि वृद्धि हुन्छ । दैनिक उपभोग्य सामग्रीको मूल्यमा बढी वृद्धि हुनुहुँदैन किनभने शासनमा बस्ने मानिसलाई मूल्यवृद्धिबाट केही खास फरक पर्दैन तर मूल्यवृद्धिले गर्दा देशको शासन गलत हातमा जान्छ । बेरोजगारी जस्तो गम्भीर समस्या कम गर्नुपर्छ । कच्चा मालको आपूर्ति बढाउनुपर्छ । यसको लागि स्वयं नागरिक पनि जनसङ्ख्या नियन्त्रण, भ्रष्टाचार उन्मूलन र देश विकासका लागि इमानदार प्रयासको थालनी गर्नुपर्छ । बैंकहरूले पूँजी बढाउनको लागि ब्याजदर बढाउनुपर्छ । मानिसहरूले बैंकमा घरमा जमेर रहेको पूँजी जम्मा गर्न थालेपछि उनीहरूले खरीददारी कम गर्छन् र मूल्यवृद्धि नियन्त्रण सजिलो हुन्छ । यसबाट पनि मानिसको जीवनमा सुधार ल्याउन सकिन्छ ।

गहरिएर हेर्ने हो भने हाम्रो देशमा कर्मचारीहरूको तलब पनि मूल्यवृद्धिको कारण रहेको छ । ठूल्ठूला व्यापारीसँग कालोधन हुन्छ । उनीहरू गैरकानूनी तरीकाले धन आर्जन गर्छन् र रिश्वतखोरी र भ्रष्टाचारलाई बढावा दिन्छन् । मध्यम र निम्न वर्गका मानिसहरूको आम्दानीमा वृद्धि हुँदैन । मूल्यवृद्धिले उनीहरूको स्थिति नराम्ररी प्रभावित हुन्छ र कर्मचारी तलब बढाउने माग गर्छन् । उनीहरू काम बन्द गर्छन् वा बेइमान हुन थाल्छन् । यसरी कर्मचारीहरूको कारण पनि मूल्यवृद्धि हुन्छ र यो निरन्तर जारी नै रहेको छ ।

मूल्यवृद्धि नियन्त्रण गर्न आवधिकरूपमा आन्दोलन पनि नभएका होइनन् तर मूल्यवृद्धि हालसम्म रोकिएको छैन । मूल्यवृद्धि कम गर्नको लागि उपयोगी राष्ट्रिय नीतिको खाँचो छ । जनसङ्ख्या वृद्धिको अनुपातमा मूल्यवृद्धि रोक्नु अत्यन्त आवश्यक भइसकेको छ । कुनै महान् अर्थशास्त्रीले भनेका छन्–“देशमा मूल्यवृद्धि नियन्त्रणको लागि सही नीति, जनसङ्ख्या नियन्त्रण, उत्पादित वस्तुहरूको मूल्यमा प्रतिबन्धन त आवश्यक छ नै, त्यसभन्दा पनि बढी  आवश्यकता दृढ राजनीतिक इच्छाशक्ति हो ।” मूल्यवृद्धि विश्वव्यापी समस्या हो । अन्तर्राष्ट्रिय परिस्थितिहरू पनि मूल्यवृद्धिको लागि उत्तरदायी छन् । वर्तमान सरकारले पनि यसलाई रोक्ने प्रयास गरिरहेको छ तर धेरै कुरो गर्न अझ बाँकी छ । सरकारले मूल्यवृद्धि कम गर्नको लागि राम्रो योजना ल्याउनुपर्छ र सबैले त्यसलाई सघाउनुपर्छ । यसरी पारस्परिक सहयोगबाट नै मूल्यवृद्धिमाथि नियन्त्रण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here