प्रस, पोखरिया, १७ असार/

पर्सा जिल्लाका चौधवटा पालिकामध्ये तीनवटा गाउँपालिकाले अहिलेसम्म नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेका छैनन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेसम्म सबै पालिकालाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न समयसीमा तोकेको छ । तोकिएको समयसीमामा पर्सा जिल्लाका दशवटा पालिकाले मात्र नीति तथा कार्यक्रम प्रस्तुत गर्न सके । वीरगंज महानगरपालिका, पोखरिया, बहुदरमाई, पर्सागढी नगरपालिका र विन्ध्यवासिनी, सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर, ठोरी, पकाहामैनपुर गरी छवटा गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जीराभवानी गापाले असार १५ गते हिजो मात्र नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो । अहिले कालिकामाई, धोबिनी र छिपहरमाई गापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेका छैनन् । कालिकामाई गापामा वडास्तरमा छुट्याइएको बजेटप्रति स्थानीय जनप्रतिनिधिहरूले  असन्तुष्टि जनाएको र त्यहाँ नेपाली काङ्ग्रेस र एमालेबीच सहकार्य हुँदा बहुमत सदस्यहरू विरोधमा भएका कारण नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेको छैन । सो गापामा जसपाका अध्यक्षसहित चौधजना प्रतिनिधि र नेका तथा एमाले गठबन्धनमा पन्ध्रजना प्रतिनिधि भएका कारण नीति तथा कार्यक्रम प्रस्तुत हुन नसकेको हो । अहिले सहमति गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेको छ तर मिति भने तय भइसकेको छैन ।

धोबिनी गापामा पनि जनप्रतिनिधिहरूबीच विवादले नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेको छैन । छिपहरमाई गापामा भने अध्यक्ष गापा कार्यालयमा अनुपस्थित रहेका कारण नीति तथा कार्यक्रम प्रस्तुत हुन नसकेको बताइएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु साहले गापा अध्यक्ष गुप्ता कार्यालयमा अनुपस्थित रहेका कारण नीति तथा कार्यक्रम प्रस्तुत हुन ढिलो भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here