प्रस, पंचगावाँ, १६ असार/
पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरको छपकैया टोलस्थित श्मशानघाटमा बुधवार राति जलाउँदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
विश्रामपुरका श्यामबाबूप्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारीको शव प्रहरीले गएराति जलाउँदै गरेको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । शव शल्यपरीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।
गुपचुप तरीकाले शव जलाइरहेको गाउँलेले प्रहरीमा सूचना दिएपछि ती किशोरीको आधा जलेको शरीर नियन्त्रणमा लिई अनुसन्धान थालेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शङ्कास्पद मृत्यु भएको किशोरीका बुबा, दाजुभाइ र आफन्तहरू फरार छन् भने प्रहरीले मृत किशोरीकी आमा, दिदी र ठूली आमालाई नियन्त्रणमा लिएको जनाएको छ । सोधपूछका लागि तीनैजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी गराए ।
विषसेवन गरी आत्महत्या गरेकी महिमा कुमारीको शव अभिभावक र आफन्तले शल्यपरीक्षण नगरी घटना लुकाउन राति श्मशानघाटमा लगेर जलाउन थालेको खबर आएपछि अनुसन्धान थालिएको प्रनाउ कार्कीले बताए । श्मशानघाटमा प्रहरी पुग्दा शव जलाउनेहरू जल्दै गरेको शव छोडेर भागेका थिए । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक किशोरीका छिमेकीका अनुसार महिमा गाउँकै एक युवकसँग प्रेम सम्बन्धमा रहेका कारण अभिभावकले उनलाई मानसिक र शारीरिक यातना दिंदै आएका थिए । परिवारको यातनाकै कारण महिमाले बुधवार राति विषसेवन गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । शवको शल्यपरीक्षण रिपोर्ट आएपछि मात्रै मृत्युको यकीन कारण खुल्ने र त्यसैको आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रनाउ कार्कीले बताए ।
श्मशानघाटबाट ना.४२प ७३९७ र ना.२१प ६८५ नम्बरका दुईटा मोटरसाइकल र प्र. ०२–००१६–७०१४ नम्बरको टेम्पो प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ कार्कीले बताए ।