प्रस, परवानीपुर, १६ असार/

वीरगंजको गण्डकमा रहेको नारायणी वयोधा अस्पताल बिक्री हुन लागेको छ । गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष एवं मेडिसिटी हस्पिटलका चेयरपर्सन डा उपेन्द्र महतोको समूहले नारायणी वयोधा हस्पिटलको बहुसङ्ख्यक शेयर खरीद गर्ने प्रक्रिया शुरू गरेको छ । सय शøयाको यो हस्पिटलको करीब रु एक अर्ब मूल्याङ्कन गरी खरीद–बिक्री प्रक्रिया शुरू भएको बताइएको छ । पछिल्लो समयमा डा महतोले स्वास्थ्य क्षेत्रमा आक्रामक लगानी गरिरहेका छन् ।

मेडिसिटीबाहेक उनको चाबहिलमा रहेको मेडिकेयरमा समेत लगानी छ भने धापासीमा रहेको ग्रान्डी इन्टरनेशनल हस्पिटलमा २५ प्रतिशत शेयर हिस्सा छ । नारायणी वयोधा हस्पिटलका सञ्चालकहरूका अनुसार अस्पतालको बहुसङ्ख्यक शेयर बिक्री गर्ने प्रक्रियामा आफूहरू रहेकाले धेरै कुरा गर्न नमिल्ने बताएका छन् ।

स्रोतका अनुसार कम्पनी ऐन अनुसार कुनै पनि कम्पनीको ४९ प्रतिशतभन्दा बढी शेयर एक आवमा खरीद गर्न नमिल्ने भएकोले असार मसान्तभित्र त्योभन्दा कम र आगामी आर्थिक वर्ष २०७९/८० को साउन मसान्तसम्म बहुसङ्ख्यक शेयरको बाँकी शेयर खरीद गरी खरीद–बिक्रीको प्रक्रिया पूरा गर्ने तयारी रहेको बताइएको छ ।

स्रोतका अनुसार ६० प्रतिशत शेयर मेडिसिटीले लिने, २५ प्रतिशत शेयर पुराना लगानीकर्ता आफैंले राख्ने र १५ प्रतिशत शेयर वीरगंजका उद्योगी राजेश अग्रवालको सौरभ समूहले लिएको प्राप्त सूचनामा जनाइएको छ ।

यस विषयमा सौरभ समूह अन्तर्गत जीतपुरको छातापिपरामा सञ्चालित शुभश्री जगदम्बा सिमेन्टका स्थानीय साझेदार सञ्चालक राजेश अग्रवालले पनि हस्पिटल खरीद–बिक्री भइरहेको पुष्टि गरे । उनले अस्पतालमा थप लगानी गरेर अझै सुविधासम्पन्न बनाउने नयाँ लगानीकर्ताहरूको लक्ष्य रहेको बताए । उनले केही दिनमैं पत्रकार सम्मेलन गरी थप विवरणसहित जानकारी गराउने बताए ।

यस अस्पतालमा पहिले भारतीय लगानीकर्ता डा रञ्जीत कुमार र वीरगंजका उद्योगी अशोक बैदलगायतको लगानी थियो ।

अस्पतालको व्यवस्थापन मेडिसिटी समूहले सम्हालिसकेको छ । हस्पिटलको नारायणी मेडिसिटी वयोधा हस्पिटलको नामबाट सञ्चालनमा आइसकेको छ । गत दुई वर्षदेखि सञ्चालनमा आएको नारायणी वयोधा हस्पिटल घाटामा रहेको कारण पुराना सञ्चालकहरू लगानी उठाउन शेयर बिक्री गर्ने निर्णयमा पुगेका हुन् भने नयाँ खरीदकर्ता सञ्चालकहरूले नयाँ सिराबाट अस्पताललाई सञ्चालन गरी वीरगंजमा प्रभावकारी स्वास्थ्य सेवा दिने लक्ष्य राखेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here