छेपाराले गुँड बनाउँदैन । दिनभर पारिलो घाम तापेको छेपारो रातको कठ्याङ्ग्रिदो जाडोमा भन्छ–“भोलि त जसरी पनि घर बनाउँछु ।” भोलिपल्ट बिहानी पारिलो न्यानो घाम लागेपछि ऊ मस्तले निदाउँछ, रातको चिसो बिर्सन्छ अनि “आ घर नभए पनि चलिरहेकै छ, जे होला देखा जाला” भन्दै अल्छी गर्छ । फेरि रात शुरू हुन्छ । उही कठ्याङ्ग्रिदो भोग्छ र पुनः प्रतिबद्धता गर्छ भोलि जसरी पनि घर बनाउँछु । आपद पर्दा हरेक रात छेपाराले घर बनाउने योजना बुन्छ अनि अवस्था सहज भएपछि भोगेको दुःख बिर्सन्छ । जीवनमा उसले घर बनाउँदैन, त्यसैले आपद् पनि दोहोरिइरहन्छ । यो त केवल छेपारोबारे बनाइएको कथा हो । छेपारोको जीवन वा स्वभावमा यो कथा मिल्छ कि मिल्दैन यकीन भन्न सकिन्न, तर हाम्रो समाजमा भने यो कथा हुबहु मिल्छ । प्रत्येक वर्ष मौसम अनुसार जाडो, गर्मी, बर्खा, खडेरी, बाढी, डुबान–कटानको समस्या, चक्रजस्तै घुमेर आउँछ । हरेक समस्यामा क्षति न्यूनीकरणका उपाय फुर्छन् । जव विपत्ति आइलाग्छ, तब वैचारिक उपायले केही काम गर्दैन । विपत्ति टरेपछि भने उही छेपारोको कथा ।
यस वर्ष पनि डुबान शुरू भयो । असारको मध्यमा आइपुग्दा मनसुन शुरू भएको छ । शुरूआतमा नै धेरै ठाउँमा डुबानकोे समस्या देखिएको छ । जहाँ गहिरो वा दह परेको भूभाग छ, त्यहाँ डुबानको समस्या देखिनु स्वाभाविक हो । तर वर्षौंदेखि डुबानको समस्या नरहेको स्थानमा समेत डुबान देखिन थालेको छ । विशेषगरी मधेस प्रदेशका अधिकांश जिल्लामा, मुलुकको अन्यत्रभन्दा बढी डुबान समस्या देखिएको छ । वीरगंज, कलैया, गौर, जनकपुरधामलगायत आसपास र नदी किनाराका क्षेत्रहरूको डुबान–समस्या पुरानो हो । यहाँ शहरीकरण वा जनघनत्व वृद्धिसँगै डुबान पनि जटिल समस्याका रूपमा झाँगिंदै छ । पछिल्लोपटक बाराको निजगढ, रौतहटको चन्द्रनिगाहपुरलगायत क्षेत्रमा डुबान समस्या देखिएको छ । यस्ता केही उच्च भूभाग तथा चुरे फेदी क्षेत्र, जहाँ खोलाखोल्सी पर्याप्त हुन्छ । त्यस्ता क्षेत्रमा समेत डुबानले जनजीवन प्रभावित पार्न थालेपछि सोच्नैपर्ने अवस्था आएको छ । दुई झरो पानी नपर्दै निजगढ क्षेत्रका राजमार्गहरू पोखरीमा परिणत हुने गरेका छन् ।
बर्खाको पानी प्राकृतिकरूपमा बग्ने मार्ग अवरुद्ध गरियो भने निकास नपाएर डुबान हुन्छ । अवैज्ञानिक किसिमको बस्ती विकास तथा पूर्वाधार निर्माणले पानीको प्राकृतिक बहाव अवरुद्ध भएको छ । वीरगंज, जनकपुरलगायत नगरहरू वैज्ञानिक योजनाविना गुलजार शहरमा परिणत भए । सम्भव रहेसम्म अवरुद्ध पानीको निकास खोलेर डुबान न्यूनीकरण अहिलेको एक मात्र उपाय हो । जहाँ पानी निकासको कुनै विकल्प छैन, त्यस्ता स्थानमा डुबानको समयका लागि आकस्मिक उद्धार सामग्री, ज्ञान, सीप तथा कलाको खाँचो पर्छ । नदी किनार वा नदी प्रभावित बस्तीहरूमा कुनै पनि बेला आपद् आइलाग्न सक्छ । नदीको शिरमा बर्खा हुँदा तल्लो भागमा पानी नपरे पनि डुबान हुन्छ । यसरी आकस्मिक डुबान हुने क्षेत्रका लागि आकस्मिक उद्धारको स्थायी व्यवस्था गर्नुपर्ने आवाज उठेको वर्षौं भयो । सबै तहका सरकारहरूले प्रतिबद्धता पनि व्यक्त गरिरहेका हुन्छन्, तर त्यो छेपारोको कथाजस्तै बनेको छ । डुबान शुरू नहुँदासम्म सुतेर बस्ने बानी परेपछि डुबान भएपछि केही गर्न सकिंदैन । तर पनि समयमा काम गर्ने मनोवृत्तिको अभाव देखिएको छ । यो प्रवृत्ति अन्त्य नभएसम्म समस्या ज्यूँकात्यूँ रहने छ ।