प्रस, वीरगंज, १५ असार/

पर्सा जिल्लाका केही पालिका तथा कृषि क्षेत्र हेर्ने सरकारी कार्यालयहरूले लगनविनाको बाजा बजाए जस्तै बुधवार १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ मनाए ।

आजको दिन धानको बीउ रोपाइँ गरी औपचारिकरूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आइएको छ ।

यसै क्रममा पर्सा र बाराका स्थानीय तह अन्तर्गतका पालिका, कृषि ज्ञान केन्द्र, कृषि अनुसन्धान केन्द्र तथा क्ष्Fेत्रीय कृषि अनुसन्धान केन्द्रलगायतका सरकारी तथा गैरसरकारी संस्थाहरूले दही–चिउरा खाएर धूमधामका साथ यो दिवस मनाएको तस्बिरहरू सामाजिक सञ्जालमा हेर्नेहरूले टीका–टिप्पणी शुरू गरेका छन् ।

बारा र पर्साका विभिन्न पालिकाले धान दिवस धूमधामले मनाए पनि रोपाइँको बेला मलको अभाव भोगिरहेका किसानहरूको समस्याभन्दा दही–चिउरा खानमा आयोजकहरू मस्त देखिए ।

बारा र पर्साका प्रायः पालिकाले किसानहरूको लागि चाहिने मल, बीउको व्यवस्थापन गर्न पहल गरेका छैनन् । अहिले किसानहरूको लागि चाहिने डिएपी मलको अभाव सर्वत्र छ । ८५ प्रतिशत किसान मलबाट वञ्चित छन् । मलविना किसानहरूले कसरी रोपाइँ गरे भन्नेबारेमा सम्बन्धित निकाय कसैको चासो गएन । किसानहरूलाई आवश्यक मल, बीउ, कीटनाशक औषधिको व्यवस्थापन गर्न नसकेको स्थानीय तहका प्रमुखहरूले यो अवसरमा बाजागाजासहित खेतमा पुगी धूमधामसँग रोपाइँ गर्दा लाज मानेका छैनन् । कृषि ज्ञान केन्द्रहरूले पनि पुरानै तथ्याङ्क माथिल्ला निकायमा प्रस्तुत गरेको आरोप छ । केन्द्र र प्रदेश सरकारबाट लाखौं रुपैयाँका योजनाहरू ल्याइ नेताहरूलाई बाँड्ने तर वास्तविक किसानहरूले नपाउने आरोप पनि छ । 

पर्साका किसानहरू पानी परेसँगै धान रोप्न व्यस्त छन्, तर मल नहुँदा उनीहरू छटपटाइरहेका छन । छिमेकी देश भारतीय बजारमा खुलारूपमा मल बिक्रीमा रोक लागेपछि अहिले पर्सा र बाराका किसानहरू ठूलो समस्यामा परेका छन् । नेपालमा मल अभाव भएको बखत भारतीय बजारबाट महँगो मूल्यमा मल खरीद गरेर सीमावर्ती नेपाली किसानहरूले खेती गर्दै आएका छन् ।

सरकार जिम्मेवार नभएको किसानहरूको आरोप

नितेश कर्ण/

वीरगंज महानगरपालिकाले असार १५ गते राष्ट्रिय धान दिवस कार्यक्रमको आयोजना गरी मनाएको छ ।

महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाले वीरगंज महानगर–३१ सोलखपुरमा धान रोपाइँ गरेर दिवस मनाएको हो ।

कार्यक्रममा शाखा प्रमुख उर्मिला श्रेष्ठले कृषकहरूको लागि असार १५ को दिन पर्व भएको बताइन । उनले आजको दिन नेपाली किसानहरूले मानो रोपेर मुरी फलाउने कार्य गर्ने हुनाले अति नै महŒव रहेको बताइन् । एक दिनको रोपाइँले वर्षभरि खान पुग्ने उनले दाबी गरिन । उनले कृषिलाई मर्यादित बनाउन, खेतीपातीमा नयाँ पुस्ताका युवालाई आकर्षित गरी समग्रमा उत्पादन बढाउन र खेत बाँझो नराख्न सन्देश प्रवाह गर्न सरकारले धान दिवस मनाउँदै आएको प्रस्ट्याइन् ।

प्रस, सेढवा/

१९औं राष्ट्रिय धान दिवस पर्साको जीराभवानी गाउँपालिकामा पनि बुधवार कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

जीराभवानी गापाको आयोजनामा वडा नं २ लाटोमाई मन्दिरनजीक खेतमा रोपाइँ गरी राष्ट्रिय धान दिवस मनाइएको हो । गापा अध्यक्ष अनोज चौधरीको अध्यक्षता एवं प्रदेशसभा सदस्य शङ्कर चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्षहरू रामशरण खवास, सुरजराय थारू, राजेश्वरदास थारू, कृषि शाखा प्रमुख बृजेश साहलगायतको सहभागिता थियो ।

प्रस, पंचगावाँ/

पटेर्वासुगौली गाउँपालिकाको कृषि शाखाको आयोजनामा बुधवार राष्ट्रिय धान दिवस मनाइएको
छ ।

 ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ बुधवार मनाइएको हो ।

पटेर्वासुगौली गापा–३ पूर्व देकुलीमा नेपाली काङ्ग्रेस, पर्साका पूर्वसभापति सुरेन्द्रप्रसाद चौधरीले हलोबाट खेत जोतेर धान रोपी दिवसको शुभारम्भ गरे ।

गापा अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव, कृषि शाखा प्राविधिक गोविन्दभैया थारू, मोहनप्रसादलगायतको सहभागितामा धान दिवस मनाइएको हो ।

सो अवसरमा सहभागी किसानहरूले मल सहज उपलब्ध गराउने सवालमा सरकार अहिलेसम्म गम्भीर नभएको गुनासो गरे । उनीहरूले धान रोपाइँको बेला जहिले पनि किसानहरूले मलको समस्या झेल्दै आएको तर सरकार भने यस विषयमा लापरवाह भएको दोषारोपण गरे ।

बाली लगाउने बखत किसानहरूलाई मलको आवश्यकता पर्ने विषयबाट सरकार अनभिज्ञ नभएको तर विभिन्न कारण र खासगरी कमिशनको चक्करमा मलको जोहो गराउन असफल हुने गरेको आरोप लगाए । किसानले मलको हाहाकार झेलेपछि जस्तोसुकै मूल्यमा मल ल्याउने सरकारले पूर्वतयारी नगर्नुको कारण कमिशन नै भएको उनीहरूको आरोप थियो ।

किसानहरूको समस्याप्रति गापा अध्यक्ष्य चौधरीले पालिकाबाट हुने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले आफू पनि किसानको छोरा भएको र कृषि कार्यमा हुने कठिनाइहरूबाट परिचित भएको भन्दै किसानहरूलाई आइपर्ने सबैखाले समस्याको निराकरणका लागि आफ्नो इमानदार प्रयास रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here