प्रस, रौतहट, १२ असार/

फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित डेढ दर्जन पूर्वजनप्रतिनिधिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापनसम्बन्धी जिल्ला समन्वय समितिको रोहबरको बैठकबाट दुवै नगरपालिकाले संयुक्तरूपमा ढुङ्गा, गिट्टी र बालुवाको ठेक्का दिने र प्राप्त हुन आउने आयआर्जन बाँड्ने सम्झौतामा अनियमितता भएको भन्दै अख्तियारले डेढ दर्जन पूर्व जनप्रतिनिधिविरुद्धमा  मुद्दा दर्ता गरेको हो।

आयोगले फतुवा विजयपुर नगरपालिकाका तत्कालीन एवं वर्तमान प्रमुख गोपालराय यादव, तत्कालीन उपप्रमुख कान्ति देवीसहित पूर्ववडाध्यक्षहरूको विपक्षमा रु एक करोड ५३ लाख ५० हजार १९९ बिगो मागदाबी गर्दै आज आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ।

नदीजन्य पदार्थको ठेक्काबाट आउने रकममा फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम बाडँफाँड गर्ने निर्णय भएको थियो। फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लालबकैया नदीको ठेक्का प्रचलित ऐन नियमविपरीत रद्द गरी नगरपालिकालाई नोक्सानी पु–याएको भन्ने उजूरी निवेदन परेपछि अनुसन्धान गर्दा तत्कालीन नगरप्रमुख र उपप्रमुखसहित पूर्ववडाध्यक्षहरूको संलग्नता देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here