– अनन्तकुमार लाल दास

हावा र पानीजस्तै माटो पनि हाम्रो आधारभूत आवश्यकता हो। माटो वनस्पति, अन्नबाली र रूखबिरुवाको आमा पनि हो। माटोबाट नै जीवजन्तु र रूखबिरुवा पोषित हुन्छन्। दैनिक जीवनमा हामी जुन सडकमा हिंड्छौ त्यो पनि माटोमाथि नै बनेको छ। यस कारण पृथ्वीमाथि बस्ने सबै प्राणी माटोसँग जोडिएको छ। त्यहीं अर्कोतिर हामी सबैलाई के थाहा छ भने कृषिबेगर खाना प्राप्त गर्न सकिंदैन र माटोबेगर कृषि सम्भव छैन। यस कारण मानिसको भोक मेटाउन माटोको महत्वपूर्ण योगदान हुन्छ। खाना पकाउन र ग्रहण गर्न माटोको भाँडो नै सर्वश्रेष्ठ मानिन्छ। चाहे शहर होस् वा गाउँ, हरेक ठाउँमा माटोको महत्वपूर्ण योगदान हुन्छ। माटोबेगर शहर, गाउँ र मरुभूमि सम्मको कल्पना गर्न सकिंदैन तर आज माटो यति प्रदूषित भइसकेको छ जसलाई जोगाउन सामूहिक प्रयासको खाँचो छ। यहींनिर के प्रश्न उठ्नु स्वाभाविक हो भने माटो प्रदूषण भनेको के हो ?

माटो प्रदूषण भनेको माटोमा पाइने कुनै पनि तत्व समाप्त हुनु हो। माटोमा सामेल असन्तुलित तत्वको कारण माटो प्रदूषित भइरहेको छ। दूषित माटोले अन्नबाली र जनावरहरूमाथि नकारात्मक असर पु–याइरहेको छ। ठोस फोहरले गर्दा माटो प्रदूषित हुन्छ। रासायनिक उत्पादको बढ्दो मात्रा, प्लास्टिकजन्य उत्पादको विकल्पको कमीले गर्दा दिन प्रतिदिन माटो प्रदूषित भइरहेको छ। घर र कलकारखानाबाट निस्कने फोहरले पनि माटोलाई नराम्ररी प्रदूषित गरेको छ। नेपालमा माटो जोगाउन दौड लगाइरहेका किसान–अभियन्ता नवीन पुन मगरका अनुसार हरेक सेकेन्डमा ७ रोपनी जग्गा मरुभूमिमा परिणत हुने गरेको छ। विभिन्न प्रकारको मानवीय गतिविधि र प्राकृतिक कारणले गर्दा पनि माटो प्रदूषित हुन्छ। माटो प्रदूषणको कारणमा–कीटनाशकको बढ्दो प्रयोग, औद्योगिक फोहर विसर्जन गर्ने विकल्पको अभाव, वन फडानी, बढ्दो शहरीकरण, अम्लीय वर्षा र खानी प्रमुख हुन्। यी सबैबाट कृषि गतिविधि बाधित हुने गर्छ।

पृथ्वीको एक चौथाई भाग मात्र जमीनले ओगटेको छ र त्यसमा पनि मानिसको प्रयोगको लागि २८० लाख वर्गमील जमीन मात्र छ। यस्तो भूमिको सन्तुलित र सही उपयोग गर्ने उत्तरदायित्व सम्पूर्ण विश्वको हो तर विश्वमा भइरहेको जनसङ्ख्या विस्फोटले गर्दा भूमिको उपयोगमा विविधता देखा परेको छ। अर्थात् यसको उपयोग सही तरीकाले भइरहेको छैन। परिणामस्वरूप माटो प्रदूषित भइरहेको छ। जुन जमीनमा खेती हुन्छ, त्यहाँ कङ्क्रीटका बहुमंजिला भवन बनिरहेका छन्। यहींबाट माटो प्रदूषणको थालनी हुन्छ। माटो प्रदूषणले सम्पूर्ण मानवजातिको विकासमा बाधा पु–याइरहेको छ किनभने माटोबाट नै मानिसले जीवनयापनको लागि खाना र अन्य आवश्यक वस्तु उत्पादन गर्छ। तर मानिस आफ्नो स्वार्थको लागि आफ्नै भविष्य र सन्ततिसँग खेलवाड गर्दै माटोलाई प्रदूषित गरिरहेको छ।

घर, अस्पताल, विद्यालय र बाजारमा उपयोग गरिने सामग्रीहरूमा प्लास्टिक, कन्टेनर, डिब्बा, थैला, इलेक्ट्रोनिक सामान आदि ठोस फोहरको श्रेणीमा गन्ती हुन्छ। यीमध्ये केही बायोडिग्रेडेबल र अन्य गैरबायोडिग्रेडेबल हुन्छन् जो माटो प्रदूषणको कारण बन्न पुग्छ। त्यहीं अर्कोतिर मानिसको विभिन्न आवश्यकता पूर्तिका लागि तीव्र गतिले वन फडानी भइरहेको छ। माटोको लागि वनस्पति आवश्यक हुन्छ किनभने यसले माटोमा पाइने आवश्यक तत्व जोगाउन सघाउ पु–याउँछ। तर रासायनिक फोहर नष्ट गर्नु सजिलो छैन। यसैगरी बढी अन्नबाली उत्पादनका लागि प्रयोग गरिने अत्यधिक कीटनाशक र खादले माटोको क्षमता कमजोर पार्छ। यस्तो जमीनमा उब्जेको फल वा तरकारी शुद्ध हुँदैन। त्यहीं यसबाट प्राप्त तरल र ठोस फोहरलाई कि ल्यान्डफिल गरिन्छ वा अन्यत्र फालिन्छ। यसले पनि माटोलाई प्रदूषित गर्ने काम गर्छ। यसरी माटो प्रदूषण विभिन्न प्रकारका फोहर जमीनमा जम्मा हुनुको परिणाम हो। उद्योगबाट निस्कने रसायन माटो र नदीमा जम्मा हुन्छ। वीरगंजको सिर्सिया नदी र उद्योग छेउछाउको जमीन यसको प्रत्यक्ष उदाहरण हो। यसैगरी जमीनबाट तेल निष्कासन गर्दा तेल भुइँमा खसेर प्रदूषण बढाउँछ। यसरी माटो प्रदूषणका स्रोतमध्ये घरेलु फोहर, औद्योगिक फोहर, महानगरपालिकाको फोहर र कृषिमा प्रयोग हुने रसायन प्रमुख हुन्।

माटो प्रदूषणको सबैभन्दा ठूलो भाग घरबाट निस्कने फोहर हो। घरमा प्रतिदिनको सफाइपछि जुन फोहर निस्कन्छ त्यसमा धूलो, माटो सँगसँगै कागजको टुक्रा, कपडा, प्लास्टिक, काठ, धातुका टुक्राहरू हुन्छन्। यसबाहेक फल र तरकारीको बोक्रा, चियापत्ती, दूधको पैकेट, अन्य सडेगलेका पदार्थ, सूखेको फूल–पात, खराब खाद्य पदार्थ आदि हुन्छन्। यी सबै प्लास्टिकको ब्यागमा हालेर फोहर विसर्जन गर्ने बाकसमा राखिन्छ। विकसित देशहरूमा यस्ता फोहरलाई ‘रिसाइकल’ गर्ने व्यवस्था हुन्छ तर नेपालजस्तो विकासशील मुलुकमा यस प्रकारको व्यवस्थाको अभाव रहेको छ। यसबाट उत्पन्न हुने जीवाणु प्रदूषण र रोगको कारण बन्छ। उद्योगबाट बढी फोहर रासायनिक पदार्थ निस्कन्छ। यस प्रकारको फोहर प्रायः हरेक प्रकारको उद्योगबाट निस्किन्छ। यसमा भएको ग्याँस र रासायनिक तत्वले वायु प्रदूषण सँगसँगै माटोलाई पनि प्रदूषित गर्छ। कैयन उद्योगबाट बढी मात्रामा निस्केको खरानीलाई उद्योग नजीकै फालिन्छ जसले त्यहाँको माटोलाई अनुपयोगी बनाउँछ।

 महानगरपालिकाको फोहर भनेको सार्वजनिकरूपले एकत्रित गरिने फोहर हो, जसमा घरेलु फोहर पनि हुन्छ। यसबाहेक विभिन्न कार्यालय, बाजार र सडकबाट एकत्र गरिएको फोहर, मरेको जनावरको अवशेष, सडकमा फालिएका भवन निर्माण सामग्री आदि पनि माटोलाई प्रदूषित गर्ने कारण हो। कृषि फोहर भनेको खेतीपछि बचेको पराल, भूसा, घासफूस, पातहरू आदिलाई एक ठाउँमा एकत्र गरिन्छ। यसमाथि पानी पर्दा यो सड्न थाल्छ र जैविक क्रिया हुनुको कारण प्रदूषणको कारण बन्छ। अन्य फोहरको तु्लनामा यो धेरै समस्या होइन, किनभने कुनै न कुनै रूपमा यसको उपयोग हुन्छ।

वर्तमानमा सबैभन्दा बढी चिन्ताको विषय बढ्दो प्रदूषण हो। यसले पर्यावरण सँगसँगै मानिसलाई पनि अकल्पनीय हानि पु–याइरहेको छ। यस कारण माटो जोगाउनु आवश्यक छ। माटो जोगाउनुको अर्थ माटोलाई केमिकलमुक्त कसरी बनाउने ? माटोमा हुने जीवहरूलाई कसरी जोगाउने ? माटोमा पानीको मात्रा कसरी बढाउने ? जमीनमुनिको पानीलाई कसरी जोगाउने ? वन फडानीबाट भइरहेको माटो क्षयीकरणलाई कसरी रोक्ने ? एक अनुमान अनुसार करीब २० वर्षपछि खाद्य पदार्थको उत्पादन ४० प्रतिशत कम हुन्छ र जनसङ्ख्या करीब ९३० करोड पुग्छ। खराब माटोले गर्दा खाद्य पदार्थमा पौष्टिकताको कमी हुन्छ। अर्कोतिर खराब माटोमा पानी सोस्ने क्षमता कम हुँदै जान्छ। वैज्ञानिकहरूका अनुसार बेग्लाबेग्लै प्राणीको वासस्थान समाप्त हुँदै गएकोले प्रत्येक वर्ष करीब २७००० प्रजातिको विनाश भइरहेको छ।

माटोमा, वनस्पतिभन्दा तीन गुना र वातावरणभन्दा दुई गुना बढी कार्बन हुन्छ। यदि माटोलाई जीवित राखिएन भने  पछिल्लो ३० वर्षमा मानिसले जति कार्बन डाइअक्साइड वातावरणमा मिसाएको छन् त्योभन्दा बढी कार्बन वातावरणमा जानेछ। एकातिर माटोको गुणस्तर कम हुँदा किसानले आत्महत्या गरिरहेको छ, त्यहीं विश्वका करीब ७४ प्रतिशत गरीब सोझै यसबाट प्रभावित भइरहेका छन्। अनुमान के पनि गरिएको छ भने जनसङ्ख्या वृद्धि, खाना र पानीको कमीले गर्दा सन् २०५० सम्म करीब १०० करोडभन्दा बढी मानिस एक देशबाट अर्को देश पलायन गर्छन्। सन् १९९० पछि अफ्रिकामा भएको ९० प्रतिशत सङ्घर्षमा आम सरोकारको विषय माटो नै रहेको छ। फ्रान्सको राज्यक्रान्तिदेखि विश्वका धेरैजसो ठाउँमा भएको सङ्घर्षको प्रमुख मुद्दा भोजनको कमी र मूल्यवृद्धि रहेको छ।

हाम्रो देश कृषि प्रधान देश भएकोले पनि भोजन र जीविकाको प्रमुख स्रोत माटो नै हो किनभने बहुसङ्ख्यक जनता कृषिमा निर्भर छ। माटोलाई यदि जोगाइएन भने यसको दुष्परिणामले मानिसको स्वास्थ्य, वनस्पति र अन्नबाली नराम्ररी प्रभावित हुन्छ। माटो प्रदूषण दिन प्रतिदिन विश्वमा नै भयानक रूप धारण गर्दै गइरहेको छ। यदि समयमैं यसलाई रोकिएन भने यसले विकराल रूप धारण गर्छ र नेपाल पनि यसबाट अछूतो रहँदैन। यस कारण नेपालमा पनि माटो जोगाउने कार्य प्रारम्भ भइसकेको छ तर यस दिशामा धेरै काम गर्न बाँकी छ।

माटो जोगाउनको लागि सकभर बायोडिग्रेडेबल उत्पादको उपयोग गर्नुपर्छ। जुन खाद्य पदार्थ कीटनाशक र रासायनिक खादबेगर उत्पादन गरिएको छ, त्यसलाई कीटनाशक मुक्त वा उर्वरक मुक्त भनी चिह्नित गर्नुपर्छ। यस सँगसँगै सरकारले किसानहरूलाई यसको प्रयोग नगर्न प्रेरित र त्यसको विकल्प उपलब्ध गराउनुपर्छ। प्लास्टिकजन्य पदार्थको प्रयोगबाट बच्नुपर्छ। बाजार जाँदा कपडाको झोला नै प्रयोग गर्नुपर्छ। वीरगंज महानगरपालिकाले घर–घरमा बाँडेको दुई रङ्गको डस्टबीन सही तरीकाले प्रयोग गर्न शुरू गर्नुपर्छ र फोहरमैला सङ्कलन गर्न आउने गाडीमा पनि दुईखाले फोहर बेग्लाबेग्लै फाल्ने ठाउँ हुनुपर्छ। एक तथ्याङ्क अनुसार कागज बनाउन हरेक वर्ष कैयन रूख फडानी गरिन्छ। यस कारण कागज बर्बाद हुनुबाट जोगाउनुपर्छ। वनफडानी माटोको लागि राम्रो नभएकोले पेपर टिसुको बढी प्रयोग नगरी हातमुख पुछ्नको लागि कपडा वा गमछा प्रयोग गर्नुपर्छ। माटो हाम्रो आधारभूत आवश्यकता हो। यदि माटो जोगिएन भने हामी सबैको जीवन असन्तुलित हुन्छ र एक दिन यस्तो आउँछ जब हामीसँग खानेकुरा हुँदैन, पिउने पानी हुँदैन। यस कारण माटो जोगाउने काममा हामी सबै एकजुट भई लाग्नुपर्छ। तर अहिलेको तीतो यथार्थ के हो भने जीवनलाई आरामदायक बनाउनको लागि हामी स्वयं पर्यावरण नष्ट गरिरहेका छौं। यस कारण पनि स्वयं र सन्ततिको सुख र समृद्धिको लागि माटो जोगाउने कामलाई सबैले निरन्तरता दिनुपर्छ। हाम्रो बानी हरेक कामको लागि सरकारको मुख ताक्ने रहेको छ तर सरकार गल्ली–गल्लीमा घुमेर माटो प्रदूषणलाई नियन्त्रित गर्न सक्दैन। हामी सबैले माटो जोगाउनको लागि कानून र नीतिनियम बनाउन सरकारलाई दबाब दिनुपर्छ र बनेको कानून र सरकारले निर्देशित गरेको बाटोमा इमानदारीपूर्वक हिंड्नुपर्छ। अहिले हाम्रो सन्ततिको भविष्य जोगाउन एकजुट हुने र व्यक्तिगत स्तरबाट पनि प्रयास गरिरहनुपर्छ। अन्त्यमा नवीन पुन मगर, जो माटो जोगाउन ७७ वटै जिल्लामा दौड लगाइरहेका छन्, उनी र उनको टीमलाई सफल बनाउन सहयोग र प्रतिबद्धता जाहेर गर्न अनुरोध गर्दै माटो जोगाउने आन्दोलन फलीभूत होस् भन्ने कामना गर्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here