भारतीय नवनियुक्त राजदूत श्रीवास्तव नेपालमा

काठमाडौं, ११ असार/रासस

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आएका छन् । करियर कूटनीतिज्ञ श्रीवास्तव आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् ।

काठमाडौं आउनुअघि उनले नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एशिया डिभिजनको प्रमुखको रूपमा कार्य गरे। उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेको भारतीय दूतावासले जनाएको छ।

राजदूत श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेका छन् । साथै उनले वाशिङ्टन, बेइजिङ, सङ्घाई र हड्ढङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेको दूतावासले जनाएको छ। यसअघिका भारतीय राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि राजदूत पद रिक्त भएको  थियो।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्