– उमाशङ्कर द्विवेदी
पाण्डुनन्दन भीम अत्यन्त बली थिए, उनको मुड्कीको चोटले शत्रुको हाड छिन्न–भिन्न भई छताछुल्ल भयो। उनको त्यो दुर्गतिलाई कर्ण र उनका भाइहरूले सहन गर्न सकेनन्, उनीहरूले विषधर सर्पझैं तीक्ष्ण वाण हानेर भीमसेनलाई पीडित पार्न थाले। अनि भीमसेन आफ्नो रथ छाडेर धु्रवको रथमाथि सवार भए। धु्रव पनि निरन्तर उनीतिर वाण हानिरहेका थिए। महाबली भीमसेनले उनलाई पनि मुड्की हानेर मारिदिए। फेरि उनी जयरातको रथमाथि चढेर सिंहनाद गर्दै उनलाई देबे्र हातले एक झापड हाने। यस प्रकार कर्णले हेर्दाहेर्दै उनलाई पनि मारिदिए। अनि कर्णले भीमसेनमाथि एउटा सुवर्णमयी शक्ति प्रहार गरे तर भीमसेनले हाँसीहाँसी त्यसलाई हातले समातेर पुनः कर्णमाथि नै हानिदिए। कर्णतिर आइरहेको त्यस शक्तिवाणलाई शकुनिले आफ्नो वाणले काटेर खसाले। यस प्रकार अद्भूत पराक्रमी भीमसेनले युद्धमा महान् पुरुषार्थ गरेर पुनः आफ्नो रथमाथि आरूढ भई तपाईंका सेनामाथि धावा गरे। क्रोधमा यमराजझैं भएका भीमसेनलाई आइरहेको हेरेर तपाईंका पुत्रहरूले वाण हानेर अघि बढ्न रोके। यो हेरेर भीमसेनले आफ्नो वाणबाट दुर्मदको घोडा र सारथिलाई यमलोक पु–याइदिए। दुर्मद दुष्कर्णको रथमा चढे। अब एउटै रथमाथि बसेका दुवै भाइले भीमसेनमाथि धावा गरेर उनलाई आफ्ना तिक्खर वाणहरू हान्दै पीडित पार्न थाले। अनि भीमसेनले कर्ण, अश्वत्थामा, दुर्योधन, कृपाचार्य, सोमदत्त र बाल्हीकले हेर्दा–हेर्दै दुर्मद र दुष्कर्णको रथमाथि लात्ती हानेर पृथ्वीमा भसाइ दिए। अनि तपाईंका ती दुवै पुत्रलाई मुड्की हान्दै क्षत–विक्षत पारी जोडले गर्जना गरे। त्यति बेला कौरव सेनामा हाहाकार मच्चियो। भीमलाई हेरेर राजाहरू भन्दै थिए–यिनी भीम न भई भीमको रूपमा साक्षात् भगवान् रुद्र हुन् जो कौरवहरूसित युद्ध गर्दैछन्। महाराज, यति भनेर सबै राजाहरू भाग्न थाले, सबैको होश हराएको थियो। सबैले आआफ्नो सवारी तीव्र गतिमा भगाउँदै थिए। त्यति बेला जो सबैको साथमा भाग्न सकिरहेको थिएन ऊ एक्लै भाग्दै थियो।
यस प्रकार त्यस प्रदोषकालमा भीमसेनले कौरवसेनाको नराम्ररी संहार गरे। यसबाट नकुल, सहदेव, दु्रपद, विराट्, केकय र राजा युधिष्ठिरलाई बडो प्रसन्नता भयो। उनीहरू भीमसेनको प्रशंसा गर्न थाले।
सञ्जय भन्छन्–सात्यकिप्रति राजा सोमदत्तको क्रोध अत्यन्त बढेको थियो किनकि उनका पुत्र भूरिश्रवालाई, जब उनी अनशन व्रत धारण गरी बसेका थिए, मारिदिएका थिए। सोमदत्तले नौवटा वाण हानेर सात्यकिलाई घाइते पारे अनि सात्यकिले पनि नौवटा वाण हानेर सोमदत्तलाई पनि घाइते बनाए। सात्यकि बलवान् थिए तथा उनको धनुष पनि अत्यन्त बलियो थियो। अतः उनको मारबाट सोमदत्त रथको बैठकमा मुच्र्छित भएर लडे। यो देखेर उनका सारथिले उनलाई तत्काल रणभूमिबाट बाहिर लगे। अनि सात्यकिको वध गर्ने इच्छाले आचार्य द्रोण उनीतिर झम्टे। द्रोण आइरहेको हेरेर युधिष्ठिर आदि वीरहरू सात्यकिको रथलाई घेरामा हालेर उभिए। तदन्तर आचार्य द्रोणको पाण्डवहरूसित भयङ्कर युद्ध शुरू भयो। दो्रणले पाण्डवसेनालाई वाणबाट आच्छादित पारिदिए र युधिष्ठिरलाई पनि अत्यन्त घाइते पारे।। फेरि सात्यकिमाथि दशवटा, धृष्टद्युम्नमाथि बीसवटा, भीमसेनमाथि नौवटा, नकुलमाथि पाँचवटा, सहदेवमाथि आठवटा, शिखण्डीमाथि एक सयवटा, द्रौपदीका प्रत्येक पुत्रमाथि पाँचवटा, विराट्माथि आठवटा, द्रुपदमाथि दशवटा, युधामन्युमाथि तीनवटा र उत्तमौजामाथि छवटा वाण हानेर घाइते पारे। यस पछि अन्य योद्धाहरूलाई पनि घाइते पार्दै उनी युधिष्ठिरतिर बढे। उनको वाणको चोटबाट आत्र्तनाद गर्दै पाण्डव सैनिक प्रत्येक दिशामा भाग्न थाले। जो जो वीर आचार्यको सामु पर्दथे उनीहरूको मस्तक काटेर आचार्यका वाणहरू धरतीभित्र छिर्दथे। यस प्रकार आचार्यको वाणबाट आहत भएको पाण्डवसेना अर्जुनले हेर्दा–हेर्दै भयभीत भएर भाग्न थाल्यो।
यो हेरेर अर्जुनले श्रीकृष्णसित भने–गोविन्द, अब हामी आचार्यतर्फ लागौं। अनि श्रीकृष्णले नन्दीघोषलाई आचार्यतिर हाँके। भीमसेनले पनि आफ्नो सारथि विशोकलाइ आज्ञा दिए–मलाई आचार्य द्रोणको रथसम्म लग। उनको आज्ञा पाएर विशोकले पनि आफ्नो रथ अर्जुनको रथको पछिपछि हाँके। ती दुवै भाइलाई यसरी तयार भएर द्रोणाचार्यतिर गइरहेको हेरेर पाञ्चाल, सृञ्जय, मत्स्य, चेदि, कारूष, कोशल र केकय महारथिहरू पनि उनीहरूको पछि लागे। तदन्तर त्यहाँ रौं ठाडो पार्ने घोर सङ्ग्राम थालियो। अर्जुन र भीमसेनले आफूसाथ रथिहरूको ठूलो डफ्फा लिएर तपाईंको सेनाको दक्षिण र उत्तर भागमा घेरा हाले।
ती दुइ वीरलाई त्यहाँ उपस्थित भएको देखेर सात्यकि र धृष्टद्युम्न पनि त्यहाँ आइ पुगे। भूरिश्रवाको वधबाट अश्वत्थामा धेरै चिढिएका थिए, उनले सात्यकिलाई आइरहेको हेरेर उनलाई मार्ने निश्चय गरेर उनीमाथि धावा गरे। क्रमशः..।