गायन (अफगानिस्तान), ९ असार/एपी
दशकौंको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । बुधवारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन् ।
भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको र एक हजार ५०० भन्दा बढी घाइते भएका छन् । घाइते तथा मृतकको सङ्ख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् । पक्टिका प्रान्तको गायन जिल्ला सबैभन्दा धेरै प्रभावित भएको छ ।
भूकम्पले भत्काएका भग्नावशेषमा मानिसहरूको खोजी भइरहेको छ । बाँचेकाहरू घरायसी उपकरण लिएर खोजी तथा उद्धारमा जुटेका छन् । उनीहरू हातले भग्नावेशष हटाइरहेका छन् । तालिबान र उनीहरूको नियन्त्रणबाट भागेका अन्तर्राष्ट्रिय समुदाय भूकम्प पीडितहरूलाई सघाउन सङ्घर्ष गरिरहेका छन् ।
बढ्दो गरीबी र भोकमरीका बीच थपिएको यो विपत्तिमा अफगानीहरू अन्तर्राष्ट्रिय समुदायको मुख ताकेर बसेका छन् भने बाह्य सहायता पनि मन्द गतिमा प्राप्त हुन थालेको छ । छिमेकी पाकिस्तानबाट केही राहत सामग्री प्राप्त भएको छ ।
दश महीनाअघि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकी सेना फिर्ता भएसँगै देशको स्वास्थ्य प्रणाली ध्वस्त भएको छ । तालिबान शासन शुरू भएयता अन्तर्राष्ट्रिय वित्तीय सहयोग पनि लगभग रोकिएको छ । भूकम्पपीडितहरूले अन्तर्राष्ट्रिय मानवीय सहायताका निम्ति आह्वान गरेका छन् । उनीहरूले भग्नावशेष हातले पन्छाएर पुरिएकाहरूलाई जीवितै उद्धार गर्न कठिन हुने पीडादायी परिस्थितिबारे जानकारी पनि गराएका छन् ।
भूकम्पपीडितलाई पाकिस्तानको सहयोग
इस्लामाबाद/सिन्ह्वा
अफगानिस्तानका भूकम्प पीडितहरूका लागि पाकिस्तानले सहयोग घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधवार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो ।
पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार सहायता सामग्रीहरूमा टेन्ट, लत्ता कपडा, खाद्यान्न र औषधि रहेका छन् ।
ती सामग्री बिहीवार नै अफगानिस्तान पु¥याइने तयारी गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट शहर नजीकै बुधवार बिहान आएको शक्तिशाली भूकम्पमा परी एक हजारभन्दा बढी मानिसको मृत्यु भएको हो । खोस्ट प्रान्त अन्तर्गत स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरूक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका बुधवार प्राप्त समाचारमा जनाइएको थियो ।
भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । भूकम्पका कारण धेरै ठाउँका हजारौं भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार बिहान १.३० बजेतिर भूकम्प आएको थियो ।
घटनास्थलबाट गम्भीर अवस्थामा घाइतेहरूको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौं उद्धारकर्ता परिचालित छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाए अनुसार भूकम्प ६.१ म्याग्निच्युडको थियो । तालिबान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । रासस