प्रस, वीरगंज, ९ असार/
नेपालकोएकजना कलाकार बलिउड सिनेजगत्का चर्चित कलाकारहरूको आवाज निकाल्ने अर्थात् मिमिक्री गर्ने कलाका कारण चर्चामा छन् ।
पर्सा, कालिकामाई गाउँपालिका–५, गदियानीका ४२ वर्षीय मुख्तार गद्दी हिन्दी सिनेजगत्का चर्चित खलनायक अमरिश पुरी, शक्ति कपूर, अभिनेता नाना पाटेकर, सनी देवल, मिथुन चक्रवर्तीलगायतका आवाज हूबहू निकाल्छन् । उनीहरूको संवाद हूबहू निकाल्दा स्टेजमा दर्शकहरूको ताली र प्रोत्साहनका साथै नगद पुरस्कार पनि पाउने गरेको उनले बताए ।
२० वर्षको उमेरदेखि भोजपुरी नाच कार्यक्रममा आबद्ध गद्दी अहिले पनि भोजपुरी नाच कार्यक्रममा आफ्नो प्रस्तुति दिइरहेका छन् । नेपाल तथा भारतका विभिन्न कार्यक्रममा उनको प्रस्तुतिले गर्दा दर्शकहरू उनको कलाको कायल बनेका छन् ।
मञ्चमा उनको मिमिक्री कला देखेर दर्शकहरू अचम्ममा पर्ने गरेको पोखरियाका राजेश मिश्र बताउँछन् । आफ्नो यसै कलाको कमाइबाट गद्दीले चार कोठाको एक तले घर बनाएका छन् । र चारजना सन्तान, पत्नी गरी छजनाको परिवार पनि पाल्दै आएका छन् ।