वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले आगामी छठसम्म श्रीसिया नदी निर्मल हुने बताएका छन् । छठ पर्व असोज–कात्तिक महीनामा पर्छ । वीरगंजको लागि वरदान श्रीसिया नदी फोहरको कारण अभिशाप बनेको छ । नदीछेउमा टहल्न जाँदा आनन्द अनुभूति हुनुपर्नेमा दुर्गन्धका कारण भाउन्न भएर आउँछ । नदीको पानी विषाक्त बनिबनेको छ । सोही कारण जलचर लोप भइसकेका छन् । उक्त नदीको पानी पिउने चौपायामा विभिन्न रोग देखा पर्छ । नुहाउँदा छालामा समस्या देखिने गरेको छ । नदीको पानी सिंचाइमा प्रयोग गर्दा बाली, बिरुवामा रोगको प्रकोप देखिएको गुनासाहरू आउने गरेका छन् । प्राकृतिक नदीको रूपमा नभई ढल निकास अर्थात् एउटा ठूलो नालाको रूपमा श्रीसिया नदीको भूमिका परिवर्तन भएको छ । फेरि पनि स्थानीय बासिन्दामा सो नदीप्रति आस्था, विश्वास र भरोसा कायमै छ । विगतमा कञ्चन, सङ्गलो पानी बग्ने श्रीसिया, माछालगायत विभिन्न प्रजातिका जलचरको क्रिडास्थल श्रीसिया, वारिपारि किनारामा लहलहाउँदो वनस्पति, नुहाउनका लागि टाढादेखि मानिसहरू पुग्ने श्रीसिया, नगर विस्तारकै कारण प्रदूषित भएको भने होइन ।
जीतपुरसिमरा उपमहानगरपालिकाको रामवन क्षेत्रबाट शुरू भएर वीरगंज हुँदै भारतको रक्सौलतर्फ बगेको यो नदी प्रदूषित हुनुको मुख्य कारण प्रचलित ऐन कानूनको पालना नगर्दा नै हो । नदीमा फोहर विसर्जन गर्न नदी क्षेत्रलाई केन्द्रित गरेर उद्योगहरू खुले । कतिपय उद्योग नदीको जमीनसमेत अतिक्रमण गरेर स्थापना भएका छन् । विशेषगरी मासु, छाला र हड्डी उद्योगहरूले नदीमा उत्सर्जित फोहर बगाउन थाले । स्टील, कपडालगायत अन्य उद्योगहरूले आफ्नो कम्पनीबाट उत्सर्जित फोहर र घातक रसायनहरू नदीमा बगाउन शुरू गरे । केही वर्ष पहिलेसम्म यो अवस्था नियन्त्रणबाहिर जस्तै थियो । विभिन्न प्रयासका बावजूद केही सुधार भएपनि अझै १०/१२ वटा उद्योगले श्रीसिया नदीमा सीधैं फोहोर विसर्जन गरिरहेका छन् । शहरका ढल तथा नालाका फोहर पानी उपचारविनै नदीमा खसालिएको छ । ढल तथा नालाहरूमा घरघरका शौचालयहरू जोडिएका हुन्छन् । यस्ता कार्य उद्योग होस् या व्यक्ति, जोसुकैले गरेको भएपनि गैरकानूनी हो ।
श्रीसिया नदी प्रदूषित हुनुको अर्को पनि कारण छ, वीरगंज महानगरपालिकाको फोहरद्वारा नदीको जमीन अतिक्रमण । वीरगंज महानगरको फोहर उठाएर रामगढवा पुलदेखि रक्सौल–वीरगंज मितेरी पुलसम्म नदी किनारामा फालिन्छ । यसमा अहिले न्यूनीकरण हुँदै आएको अवस्था छ । नदीको जमीन आसपासका सँधियारबाट यतिसम्म अतिक्रमण गरिएको छ कि त्यसतर्फ नियाल्ने, अनुगमन तथा नापजाँच गर्ने फुर्सद कसैलाई छैन । नदीलाई दुवैतर्फबाट कङ्क्रिटले पेल्दै सानो बनाइएपछि प्राकृतिक फिल्टर वा वनस्पति, झारपात उम्रन पाएन । यसले पानीको प्रदूषण यथावत् रहने भयो । महानगर एकपटक निर्मम बनेर कानूनी छडी घुमाउने हो भने नदीमा फालिने गरिएका फोहर नियन्त्रण हुन्छ । फोहर नियन्त्रण गर्न सके नदी स्वतः निर्मल हुन्छ । मुख र मोहर हेर्ने प्रवृत्ति कानूनको बाधक हो । त्यो बाधालाई तोड्ने हिम्मत वीरगंज महानगरका प्रमुखलाई प्राप्त होस् भनी श्री गहवामाईलाई कामना गर्नुसिवाय अरू के नै गर्न सकिन्छ र !