प्रस, वीरगंज, ८ असार/

पर्साको धोबिनी गाउँपालिका वडा नं ३ तत्कालीन हरिहरपुर गाविस वडा नं ९ मा सिक्टा नदीको छेउमा रहेको चार बिघा सार्वजनिक जग्गा एकजना व्यक्तिले आफ्नो नाममा दर्ता गराएको समाचार प्राप्त भएको छ ।

कालिकामाई गापा–१, मुर्ली निवासी असर्फी ठाकुर लोहारले मालपोत तथा नापीका कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा पारी आफ्नो नाममा सो सार्वजनिक जग्गा दर्ता गराएको कालिकामाई गापा–१, मुर्ली निवासी सन्देश यादवले जानकारी दिएका छन् ।

धोबिनी–३ सिक्टा नदीको छेउमा रहेको कित्ता नं ४०७ को एक बिघा १० कट्ठा १० धुर, कित्ता नं ४२३ को एक बिघा १८ कट्ठा १४ धुरलगायतका सार्वजनिक ऐलानी जग्गा आफ्नो नाममा दर्ता गराएपछि स्थानीयहरूले जिल्ला अदालत, पर्सामा मुद्दा दर्ता गराएका छन् ।

यादवले २०२२ सालको फिल्डबूकमा कित्ता नं ४०७ मा जग्गाधनीको महलमा सिक्टा नदी तथा कित्ता नं ४२३ मा जग्गाधनीको महलमा बालुवा लेखिएकोमा कर्मचारीहरू मिलेमतोमा २०७२ असार ६ गते कालिकामाई गापा–१, मुर्ली निवासी असर्फी ठाकुर लोहारको नाममा मालपोत कार्यालयले पुर्जा दिएको देखिन्छ । अहिले भूमाफिया लोहारले सो जग्गा देखाएर कृषि अनुदानमा लाखौं रुपैयाँ लिएको खुलेको छ । अनुदानको रकमबाट लोहारले गत आर्थिक वर्षमा सो जग्गामा पोखरी खनेका थिए ।

प्रदेश सरकारले कृषि अनुदानको रकम लोहारलाई दिएको हो । स्थानीयहरूले नदीछेउको सार्वजनिक जग्गामा प्रदेश सरकारले पोखरी खन्न अनुदान रकम दिएको स्थानीयहरूले थाहा पाएर सोको विरोध गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि अहिले कर्मचारी तथा लोहारले फस्ने डरले सरकारी अनुदानको रकमबाट खनिएको पोखरी पुरेका छन् ।

पोखरी खनिएको जग्गामा अहिले उखु रोपिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here