प्रस, वीरगंज, ७ असार/

मधेस प्रदेश सरकार अन्तर्गत रहेको जिल्ला वन कार्यालय, पर्सामा भएको भ्रष्टाचारको विषयमा छानबीन गर्न अख्तियारको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

आव २०७५/७६, २०७६/७७, २०७७/७८ मा वृक्षारोपण, पोखरी उत्खनन, अतिक्रमण हटाउने नाममा बर्सेनि प्रदेश सरकारले रकम पठाए पनि कामै नगरी नक्कली बिल, भरपाई बनाइ रकम निकाल्ने तथा उपयुक्त ठाउँमा पोखरी उत्खनन नगरेको विषयमा जिल्ला वन कार्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडामा उजूरी परेको थियो ।

अख्तियारले केही दिनअघि उजूरी परेको विषयसम्बन्धी सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि माग गरेको थियो । सोहीअनुरूप सो टोली स्थलगत निरीक्षण गरी फर्किएको वन कार्यालयका अधिकृत रेयाज अहमदले जानकारी दिए ।

अधिकृत अहमदका अनुसार उजूरी परेको ठाउँमा टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

स्रोतका अनुसार बडनिहारस्थित आधारभूत विद्यालयनजीक जीवजन्तुलाई पानी पिउन खनिएको पोखरी उचित ठाउँमा नरहेको, त्यहाँ पशुपक्षी नआउने गरेकाले उपयोगहीन अवस्थामा रहेको उजूरीमा उल्लेख गरिएको छ ।

मनवा जङ्गलभित्र तटबन्धको नाममा रु २५ लाख, कोइलाभार सिमसार क्षेत्रको नाममा रु २५ लाख, सबैया साझेदारी वन क्ष्Fेत्रभित्र दुईवटा पोखरी खनिएको ठाउँभन्दा सय मिटर पूर्वपट्टि भेडाहा नदी रहेको र पश्चिमपट्टि ठूलो पानी बग्ने कुलो रहेको ठाउँमा पोखरी खन्नु उचित नरहेको उजूरीमा उल्लेख छ ।

वसन्तपुर सबडिभिजन अन्तर्गत सुकीभार मन्दिर क्षेत्रमा वृक्षारोपण, अतिक्रमण, पोखरी उत्खनन, हरैया रेन्जपोस्टको उत्तरपट्टि वृक्षारोपण, छतिवन टाँडी, मनवा क्षेत्रमा वृक्षारोपण, अतिक्रमण हटाउने बहानामा लाखौं रकम खर्च भएको उजूरीमा उल्लेख रहेको स्रोतले जनाएको
छ ।

वृक्षारोपण भएको ठाउँमा नक्कली हेरालु खडा गरी वन कार्यालयले रकम हिनामिना गरेको स्रोतले दाबी गरेको छ ।

यस विषयमा वन अधिकृत रेयाज अहमदले केही व्यक्तिहरूले आफ्नो स्वार्थ पूरा नभएपछि अख्तियारमा उजूरी दिएको र सो उजूरीको आधारमा आएको अख्तियारको टोलीलाई आफूहरूले सक्दो सहयोग गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here