प्रस, सेढवा, ४ असार/
पर्साको ग्रामीण भेगमा दैनिकजसो परेको पानीका कारण वर्षेबाली धानको बीउ उम्रिन नसक्दा किसानहरू चिन्तित भएका छन् ।
किसानहरू नेपाल तथा भारतीय बथारबाट महँगो दरमा बीउ खरीद गरी ब्याडमा छरेको भएपनि पानीका कारण बीउ नउम्रिंदा तेस्रोपटकसम्म बीउ छर्नुपरेको किसानहरूले गुनासो गरेका छन् ।
जिल्लाको ठोरी, जीराभवानी, पटेर्वासुगौली गाउँपालिकालगायतका क्षेत्रमा दैनिक एकपटक पानी परेको छ । जीराभवानी गाउँपालिका वडा नं २ सेढवा निवासी जगदीश चौधरीले महँगोमा बीउ खरीद गरी बीउ छरेको तर वर्षाका कारण नउम्रेकाले पुनः बीउ छरेको बताए । एक बिघा खेतमा रोपाइँका लागि छरेको बीउ पाँच कट्ठालाई पुग्ने बीउ उम्रेको बताए । दोस्रोपटक छरेको बीउ पनि कम हुने शङ्काले फेरि बीउ छरेको चौधरीले बताए ।
अहिले नेपाली तथा भारतीय बजारमा बीउ खरीद गर्दा एक सय पचास रुपैयाँ प्रतिकिलोदेखि छ सय रुपैयाँसम्म रहेको छ ।
बीउ छर्दा पानी परेको कारण जमीनमुनिको बीउ कुहिने तथा जमीनको माथिल्लो सतह कडा भएकोले उम्रिन नसकेको किसानहरूले बताए ।
बीउमा ढिलो हुने हँुदा यस वर्षको रोपाइँ पनि ढिलो हुने किसानहरूले बताए । जगरनाथपुर गाउँपालिका वडा नं १ पिडारीका किसान रमेश चौधरीका अनुसार अगहनी, भदई तथा अन्य हाइब्रिड जातका धान असारको पहिलो सातादेखि रोपाइँ हुने गरेको बताए । तर यस वर्षको रोपाइँ असारको तेस्रो सातादेखि हुने चौधरीले बताए ।