इस्लामाबाद, २ असार/एएनआई
दुई जोईका खसम पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना पत्नीभन्दा गरीब भएको पाइएको छ ।
निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको छ ।
पूर्वप्रधानमन्त्री इमरान खानसँग दुई लाख पाकिस्तानी रुपियाँ पर्ने चारवटा बाख्रा छन् । अंशबन्डामा प्राप्त उनीसँग छ किसिमका सम्पत्ति छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्ष खानसँग न गाडी छ, न देश बाहिर सम्पत्ति नै । उनले कतै लगानी पनि गरेका छैनन् ।
खानसँग विदेशी मुद्रा खातामा तीन लाख २९ हजार एक सय ९६ अमेरिकी डलर, पाँच सय १८ स्टर्लिङ पाउन्ड र छ करोड पाकिस्तानी रुपियाँ छ । खानकी पत्नी बुशरा बीबीको चार प्रकारका अचल सम्पत्तिसहित कुल सम्पत्ति १४ करोड २१ रुपियाँको जायजेथा छ ।
प्रधानमन्त्री शहबाज शरीफकी जेठी पत्नी जाया नुसरत शहबाजसँग पनि आफ्नो लोग्नेभन्दा धेरै सम्पत्ति छ । उनीसँग २३ करोड २९ लाखको सम्पत्तिसँगै लाहोर र हजारामा नौवटा कृषि सम्पत्ति र दुवै ठाउँमा एक–एक घर छन् । उनले विभिन्न क्षेत्रमा लगानी गरेको दैनिक अखबार डनले छापेको छ ।
प्रधानमन्त्री शरीफसँग १० करोड ४२ लाख बराबरको सम्पत्ति छ भने १४ करोड ७८ लाखको दायित्व छ । प्रधानमन्त्रीकी कान्छी पत्नी तेहमिना दुर्रानीको सम्पत्ति केही वर्षदेखि करीब ५७ लाख रुपियाँ रहेको छ । रासस