प्रस, वीरगंज, १ असार/

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुधवारदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः शुरू गरेको छ ।

सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिने आयोगले जनाएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्नेछन् ।

आजदेखि मतदाता नामावलीमा नाम, ठेगाना, जन्ममितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा त्रुटि सच्याउने तथा कुनै मतदाताले झूटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको पाइए त्यस्तो नाम मतदाता नामावलीबाट हटाइनेछ । विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साबिकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जिल्ला निर्वाचन कार्यालय, पर्साकी प्रमुख रञ्जीता झाले जानकारी गराइन् ।

मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेलमार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा पनि नामावली अद्यावधिक गरिने उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here