प्रस, वीरगंज, १ असार/
वीरगंज महानगरका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा दैनिक ज्यालादारीमा खटाइएका ६४ जना कर्मचारीलाई बुधवारदेखि सेवाबाट हटाइएको छ ।
हिजो मङ्गलवार बसेको नगर कार्यपालिकाको बैठकले ज्यालादारीमा खटाइएका कर्मचारीलाई हटाएको हो ।
२०७८ वैशाखदेखि वीरगंज महानगरमा कम्प्युटर अपरेटर २१ जना, कार्यालय सहयोगी १६ जना, कूचीकार छजना, फायरमैन पाँचजना, चौकीदार, सबइन्जिनीयर, स्टाफ नर्स, अमिन, हेभी सवारीचालक, अहेब दुई/दुई जना, माली, मेकानिकल हेल्पर, सुपरभाइजर, चैनमैन एक/एक जना गरी ६४ जना कर्मचारीलाई हटाइएको प्रशासन महाशाखा प्रमुख रामकुमार कुशवाहाले बताए ।
२०७८ वैशाखदेखि नियुक्त भई दैनिक ज्यालादारीमा कार्यरत उनीहरूलाई असार १ गतेदेखि काममा नआउन भन्दै सेवाबाट हटाइएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम भण्डारीद्वारा जारी सूचनामा वीरगंज महानगरपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी/केन्द्रमा २०७८ वैशाखमा नियुक्त भई दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म २०७९ असार १ गतेदेखि लागू हुने गरी ज्यालादारी सेवाबाट हटाइएको उल्लेख छ ।
दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू कार्यालयमा दिउँसो १२/१ बजे आउने, हाजिर गर्ने, काममा ध्यान नदिने गुनासा बढेपछि हटाइएको बताइएको छ ।