आइसिसी विश्वकप क्रिकेट लिग–२ नेपालद्वारा ओमान सहजै पराजित

0

काठमाडौं, १ असार/रासस

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केही बेर अघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्ध खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लै पाँच विकेट लिएपछि जीत सहज बनेको हो ।

ओमानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । ओमानले ४६.५ ओभरमा सबै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो । एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३.१ ओभरमा पूरा ग¥यो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मदतमा ५६ रन बनाए ।

शेखले ८६ बलमा ६२ रन बनाए । यसमा उनको एक छक्का र सात चौकासमेत सामेल थियो ।

यस्तै देव खनालले १२ बलमा एक चौकासहित १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिए । उनले २१ बलको सामना गर्ने क्रममा एक छक्का र एक चौका हिर्काए । दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सात रन बनाए ।

बलिङतर्फ ओमानका फयाज बटले दुई तथा खवर अलीले एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमैं खुम्चियो । ओमानका लागि कप्तान जिशन मकसुदले अर्धशतकीय पारी खेले । उनले एक सय बलको सामना गर्ने क्रममा तीन चौकाको मदतमा ५२ रनको योगदान दिए । यस्तै सन्दीप गौडले ९१ बल खेल्दै एक छक्का र तीन चौकासहित ४७ रन बनाए ।

बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । जीतसँगै नेपाल अङ्कतालिकाको पाँचFैं स्थानमा उक्लिएको छ । नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अङ्क जोडेको छ । नेपालले अर्को खेल आज राति ९ः१५ बजे घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here