प्रस, पंचगावाँ, २९ जेठ/
पटेर्वासुगौली गाउँपालिकामा आइतवारदेखि कुष्ठरोगीहरूको खोजतलाश शुरू भएको छ ।
गापाको पाँचवटै वडामा कुष्ठरोगका शङ्कास्पद बिरामीहरूको खोजी कार्य शुरू भएको हो ।
आज पहिलो दिन दुईजना कुष्ठरोगका शङ्कास्पद बिरामी फेला परेको गापाको कार्यालयले जानकारी गराएको छ । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वयंसेविकाहरू कुष्ठरोगी पत्ता लगाउनका लागि गापा अन्तर्गतका पाँचवटा वडामा खटिएका र पहिलो दिन दुईजना शङ्कास्पद बिरामी फेला परेको सोनवर्षा स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष चौधरीले बताए ।
उनले अहिले पनि समाजमा कुष्ठरोगीहरूप्रतिको धारणा नकारात्मक रहेको र उनीहरूमाथि अवहेलना गरिने भएकाले नाम र ठेगाना खुलाएनन् । उनले वडाहरूमा टोली परिचालन गरिएको र शङ्कास्पद रोगीहरूको बारेमा विज्ञ बोलाएर चेकजाँच गरिने जानकारी गराए ।
स्वास्थ्य शाखाका सिनियर अहेब जगन्नाथ साहले चालू आवमा पटेर्वासुगौली गापामा छजना कुष्ठरोगी भएको जानकारी गराए ।