प्रस, रौतहट, २८ जेठ/

डिभिजन वन कार्यालय, रौतहटका प्रमुख र लेखापालको मिलेमतोमा साठी लाख रुपियाँ हिनामिना भएको आरोप लगाउँदै कर्मचारीहरू नियमित काम छोडेर आन्दोलनमा उत्रेका छन् ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वन अधिकृत, रेन्जर, फरेस्टर, वनरक्षक, जम्दारलगायतले पाउनुपर्ने सेवा सुविधा बापत कट्टी गरिएको करीब ६० लाख रुपियाँ सम्बन्धित खातामा जम्मा नगरी वन प्रमुख अमरदेव यादव र तत्कालीन लेखापाल नीलबहादुर रायमाझीको मिलेमतोमा हिनामिना भएको आरोप लगाउँदै त्यहाँ कार्यरत कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।

१ वर्ष ८ महीनादेखि सञ्चय कोष, नागरिक लगानी कोष, बीमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम प्रमुख यादव र लेखापाल रायमाझीले दाखिला नगरेको भन्दै आन्दोलनमा उत्रनुपरेको कर्मचारीले बताए ।

वन कार्यालयमा कार्यरत ११० जना कर्मचारीको सेवा सुविधाबापत कट्टी भएको करीब ६० लाख रुपियाँ कोष दाखिल भएको छैन ।

कर्मचारीले पाउने सेवा सुविधा अन्तर्गतको उक्त रकम जबसम्म दाखिल हुँदैन, काममा नफर्कने जुनियर वन प्राविधिक सङ्घ रौतहटका अध्यक्ष विजयलाल दत्तले बताए ।

वन अधिकृत विमल ठाकुरका अनुसार कर्मचारीले पाउनुपर्ने सेवा सुविधा डिभिजन वन प्रमुखलाई अवगत गराउँदा समेत बेवास्ता गरेको कारण प्रमुखको पनि मिलेमतो रहेको शङ्का व्यक्त गरे ।

डिभिजन वन कार्यालय, चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादवले लेखापाल नीलाबहादुर रायमाझीले कर्मचारी सञ्चय कोषमा रकम जम्मा नगरिदिंदा समस्या आएको बताए । मेरो कुनै मिलेमतो छैन, उनले बताए ।

कैयौं पत्रपत्रिकाको रकमसमेत निकाली प्रमुख यादव र लेखापाल रायमाझीले हिनामिना गरेको सञ्चारकर्मीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here