वाशिंगटन, २८ जेठ/एपी

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ ।

वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एक दिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतवारदेखि हटाएको हो ।

रोग रोकथाम तथा नियन्त्रण निकायहरूले सङ्क्रमणको निरन्तर अनुगमन गर्ने जनाउँदै अन्तर्राष्ट्रिय यात्राका बेला पेश गर्नुपर्ने ‘कोभिड–१९ नेगेटिभ रिपोर्ट’ को अनिवार्य प्रावधानलाई आइतवार सखारैदेखि खारेज गरिएको बताएका हुन् ।

परिस्थिति परिवर्तन भएमा परीक्षणको आवश्यकता पुनः समीक्षा गरिने पनि उनीहरूले बताएका छन् ।

कोभिड–१९ विरुद्ध लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको स्वास्थ्यमन्त्री जेभियर बेसेराले बताए । यद्यपि यात्रीहरूले कोभिडविरुद्ध खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउन अमेरिकी प्रशासनलाई महीनौंदेखि दबाब दिइरहेका थिए भने यात्रीहरू पनि अन्तर्राष्ट्रिय यात्रा गर्न निरुत्साहित भएका थिए ।

युएस ट्राभल एसोसिएशनका अध्यक्ष रोजर डाउले परीक्षणको प्रावधान हटाउनुलाई आन्तरिक एवं अन्तर्राष्ट्रिय यात्राका निम्ति ठूलो कदम भएको प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here