- अनन्तकुमार लाल दास
व्यवसाय यस्तो शब्द हो जुन प्रत्यक्ष र अप्रत्यक्ष हामी सबैसँग जोडिएको छ । व्यवसाय भनेको वाणिज्य र उद्योगका सम्पूर्ण जटिल क्षेत्र, आधारभूत उद्योग, निर्माण र प्रविधिसँग सम्बद्ध उद्योग, सहायक सेवाहरूको जालो, बैङ्किग, बीमा, यातायात आदि हो । मौसम जस्तै व्यवसाय सदैव हामीसँगै रहन्छ । व्यवसायले नै देशको अर्थ व्यवस्थाको प्रारूप तयार गर्दछ । यो समाजरूपी शरीरको मेरुदण्ड र त्यसको अर्थ व्यवस्था हो । कुनै पनि समाजको अर्थ व्यवस्था त्यसको व्यावसायिक विकासमाथि निर्भर गर्दछ । एउटा सुदृढ अर्थ व्यवस्थाको लागि त्यस अन्तर्गत कार्य गर्ने प्रबन्धतन्त्र, एउटा व्यावसायिक संस्थाको मूल उद्देश्य अर्थात् न्यूनतम लागतमा श्रेष्ठ उत्पादन, कुशल सञ्चालन, ग्राहक सन्तुष्टि, कर्मचारी विकास, आर्थिक न्याय आदि पूरा गर्न र मानवीय र भौतिक संसाधनको उचित उपयोग गर्नको लागि एउटा राम्रो सङ्गठनको निर्माण, व्यवस्थापन र निर्देशन गर्ने योग्य हुनु अनिवार्य हुन्छ । व्यवसायसँग सम्बन्धित यिनै प्रविधि, वैज्ञानिक र मनोवैज्ञानिक क्षेत्रको क्रमबद्ध अध्ययनलाई व्यावसायिक शिक्षा भनिन्छ ।
आजको वैज्ञानिक र प्रतिस्पर्धात्मक युगमा विद्यालयहरूमा दिइने सैद्धान्तिक शिक्षा कति उपयोगी छ भन्ने कुरा सर्वविदित छ । जुन ज्ञान हाम्रो जीवनको अङ्ग बन्न सक्दैन त्यो वास्तवमा निरर्थक र त्याज्य हुनुपर्छ । सत्य त के हो भने जुन ज्ञान आफ्नै अनुभवमा आधारित छ र जसको प्रयोग हामी आफ्नो दैनिक जीवनमा गर्न सक्छौं त्यही ज्ञान हाम्रो जीवनको अङ्ग बन्न सक्छ । विद्यालयमा दिइने सैद्धान्तिक शिक्षाको आधारमा हामी स्वयंलाई साक्षर त भन्न सक्छौं तर वर्तमान सन्दर्भमा यो शिक्षा जागीर उपलब्ध गराउन पूर्णरूपले असफल भएको एउटा प्रमाणिक सत्य पनि हो । त्यहीं अर्कोतिर व्यावसायिक शिक्षाद्वारा आर्जित ज्ञान स्व–अनुभूत र व्यावहारिक भएको कारण हाम्रो जीवनको एउटा महŒवपूर्ण अङ्ग बन्न पुग्छ । आज यदि एउटा साधारण ग्रेजुएट डिग्री हासिल गरेको युवा र एउटा व्यावसायिक डिग्री वा डिप्लोमा गरेको युवा कुनै एउटा पदको लागि निवेदन दिन्छ भने निश्चय नै व्यावसायिक ज्ञान प्राप्त गरेको व्यक्तिले प्राथमिकता पाउँछ ।
वर्तमान समयमा दिनप्रतिदिन व्यवसायको स्वरूप जटिल हुँदै गइरहेको छ । आज व्यवसायका विभिन्न अङ्गहरूबीच सामञ्जस्य कायम राख्नु कठिन कार्य हो । यसको लागि बाजार र व्यावसायिक सङ्गठनको सिद्धान्तको गहिरो ज्ञान हुनु आवश्यक हुन्छ । व्यवसायसँग सम्बन्धित अनिवार्य प्राविधिक र बेग्लाबेग्लै पक्षको सम्बन्धमा वैज्ञानिक तवरले व्यवस्थित ज्ञान व्यावसायिक शिक्षाले नै उपलब्ध गराउँछ । आज के प्रस्ट छ भने व्यावसायिक सफलताको आधार पैतृक योग्यता रहेन । प्रतिस्पर्धा र विशिष्टीकरणको यस युगमा एउटा नयाँ व्यवसायको स्थापना वा कुनै पनि क्षेत्रमा एउटा व्यवसाय सञ्चालन गर्नु त्यतिकै जटिल छ जति एउटा भर्खरै जन्मेको बच्चाको स्याहारसुसार गर्नु । कुनै पनि क्षेत्रमा प्राविधिक ज्ञान हासिल गरेर त्यस क्षेत्रमा सजिलै सफलता हासिल गर्न सकिन्छ । व्यावसायिक शिक्षाले यथार्थ जगत्मा मानिसलाई सफलताको नयाँ परिभाषा वा सूत्र उपलब्ध गराउँछ ।
व्यावसायिक शिक्षाले मानिसलाई स्वयं र आफ्नो परिवारको पालनपोषण गर्ने योग्य बनाउने सीप प्रदान गर्दछ । व्यावसायिक शिक्षाले मानिसमा यति ऊर्जा र ताकत प्रदान गर्छ जसको सहायताले उन्नतिको बाटोमा आउने बाधाहरूको सजिलै र धैर्यतापूर्वक सामना गर्न सक्छ । व्यवसायमा एउटा मानिसको सम्बन्ध त्यस व्यवसायका कैयन पक्षसँग हुन्छ । कर्मचारी वर्ग, व्यावसायिक संस्थाको बाह्य पक्ष, मजदूर सङ्घ, सरकारी सङ्गठन र अन्य व्यक्तिसँग सम्पर्क गर्नु र सुमधुर सम्बन्ध कायम गर्नुपर्ने हुन्छ । यस प्रकारको सम्बन्ध बनाउन र एक अर्कासँग समन्वय गर्न व्यावसायिक शिक्षाले महŒवपूर्ण भूमिका निर्वाह गर्छ । यसका साथै श्रम व्यवस्थाको सही तरीकाले सञ्चालन गर्न, त्यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, निर्देशन दिन, पथ प्रदर्शन गर्न, पर्यवेक्षण, समन्वय जस्ता सीपहरूको ज्ञान पनि व्यावसायिक शिक्षाबाट नै सम्भव हुन्छ ।
आजको वैज्ञानिक, औद्योगिक र प्रतिस्पर्धात्मक युगमा प्रतिस्पर्धा गर्नु र आधुनिकतम वैज्ञानिक तथा प्राविधिक आविष्कारहरूको समुचित लाभ लिनको लागि पनि व्यावसायिक शिक्षा अनिवार्य हुन्छ । सही व्यावसायिक सिद्धान्तले नै मानिसलाई देशको जुन एकाइमा कम उत्पादन र उत्पादन लागत बढी छ वा त्यसमा सीप नभएका श्रमिक, पुरानो मेशीन र परम्परागत प्रविधिको ठाउँमा नयाँ प्रविधिको उपयोग गरि उत्पादनलाई उच्चस्तरीय र कम खर्चमा बनाउनका लागि योग्य बनाउँछ जुन अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न सकोस् । व्यावसायिक शिक्षाले राष्ट्रमा भएको साधनस्रोतलाई विवेकपूर्ण तरीकाले उपयोग गर्ने योग्यता पनि प्रदान गर्छ । यदि हाम्रो उत्पादन क्षमतामा वृद्धि हुन्छ भने प्राकृतिक संसाधनको सही उपयोग हुन्छ र दैनिक उपभोगमा आउने वस्तुहरूको उत्पादन गर्न हामी सक्षम हुन्छौं । यसबाट एकातिर राष्ट्रिय मुद्राको बचत हुन्छ भने अर्कोतिर देश आर्थिकरूपले समृद्ध हुन्छ । सँगसँगै व्यावसायिक शिक्षाको सिद्धान्तलाई प्रभावकारी ढङ्गले पालना गरी उपभोक्तालाई समेत कम मूल्यमा उत्तम किसिमको वस्तु उपलब्ध गराउन सक्छौं ।
वास्तवमा व्यावसायिक शिक्षाको विकास मानवीय पूर्णताको लागि भएको छ । व्यावसायिक शिक्षाले मानिसलाई जीवनको हरेक क्षेत्रमा विकसित हुने अवसर प्रदान गर्दछ । प्रयोग र निरीक्षणको आधारमा प्राप्त व्यावसायिक शिक्षाको ज्ञानले व्यवसायको हरेक पक्षलाई राम्ररी संयोजन गर्ने योग्यता मानिसमा उत्पन्न हुन्छ । यसको लागि व्यावसायिक शिक्षा अन्तर्गत विज्ञापन, विक्रयकला, विवेकीकरण, वैज्ञानिक प्रबन्ध आदि विभिन्न सिद्धान्त प्रतिपादित गरिएको छ । यी सिद्धान्तहरूले व्यवसायमा बढीभन्दा बढी सफलता हासिल गर्नका लागि के गर्नुपर्छ भन्ने कुरा सिकाउँछ । यस कारण यसलाई क्रियात्मक सामाजिक विज्ञानको संज्ञा पनि प्रदान गरिएको छ ।
उपर्युक्त विश्लेषणबाट के प्रस्ट हुन्छ भने वर्तमान समयमा औद्योगिक, व्यावसायिक, सामाजिक र सँगसँगै व्यक्तिगत परिप्रेक्ष्यमा व्यावसायिक शिक्षाले आफ्नो महŒवलाई स्वयं प्रस्ट पारेको छ । आज प्रत्येक क्षेत्रमा व्यावसायिक शिक्षाको वर्चस्व छ । बिजनेस म्यानेजमेन्ट होस् वा कोर्स इन कम्प्युटर एप्लिकेशन, होटल म्यानेजमेन्ट, कैटरिङ वा फैशन डिजाइनिङ, टेक्सटाइल, इन्टिरियर डेकोरेशन वा अन्य कुनै व्यावसायिक शिक्षाको क्षेत्र, हरेकमा विद्यार्थीहरूको रुचि, व्यावसायिक संस्थानहरूको सङ्ख्या र सँगसँगै विद्यार्थीहरूको सङ्ख्यामा पनि ठूलो मात्रामा वृद्धि भएको छ जसले व्यावसायिक शिक्षाको उपयोगिता र वर्तमानको विद्यार्थी र युवामा यसको महŒव स्पष्ट गर्दछ । हिजोआज सरकारी, अद्र्धसरकारी र निजी स्तरमा पनि कैयन संस्थाहरू व्यावसायिक शिक्षाको विकासको लागि महŒवपूर्ण कार्य गरिरहेका छन् ।
यदि राष्ट्रलाई विकसित, समृद्ध र आत्मनिर्भर बनाउनु छ भने त्यसको लागि अनिवार्य शर्त हो व्यावसायिक शिक्षाको पर्याप्त विकास, प्रचार र प्रसार तर हाम्रो शिक्षा प्रणाली राष्ट्रको यो आवश्यकता र उद्देश्य पूरा गर्न सक्षम छैन किनभने यो विद्यार्थीहरूको बौद्धिक विकासमा जोड दिंदैन अर्थात् वर्तमान शिक्षा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन असमर्थ छ । यसको वर्तमान उदाहरण हो, कक्षा ६ देखि ८ मा भएको व्यावसायिक सीप तथा प्रविधि शिक्षालाई अन्य कक्षाहरूमा पनि लागू गर्दै जानुको साटो पाठ्यक्रमबाट विषय नै हटाउनु ।
निष्कर्षतः शिक्षा र रोजगारको क्षेत्रमा नेपालजस्ता पिछडिएका मुलुकको लागि व्यावसायिक शिक्षा अति महŒवपूर्ण छ । आजको प्रगतिशील युगमा व्यापार, वाणिज्य र उद्योगको विकास र वैज्ञानिक प्रगतिको लागि व्यावसायिक शिक्षाको उचित विकास हुनुपर्छ अनि मात्र हाम्रो युवावर्ग देशको विकासमा आफ्नो सकारात्मक योगदान दिन सक्छ । हामी आशा गरौं जीवनको प्रत्येक क्षेत्र अर्थात् औद्योगिक, सामाजिक, आर्थिक र व्यक्तिगत क्षेत्रमा व्यावसायिक शिक्षाको उपयोगिता हेरेर छिट्टै शिक्षा प्रणालीमा व्यावसायिक शिक्षालाई एउटा अनिवार्य विषयको रूपमा सामेल गरिने छ ।