स्थानीय सरकारको सबै तहको र सबै ठाउँको चुनाव सकिएको छ । अब काम गर्नुपर्ने बेला आएको छ । काम हामीकहाँ दुई प्रकारका छन् । पहिलो आफूले निर्वाचनपूर्व गरेका प्रतिबद्धता र दोस्रो जनताको सामयिक समस्याको निदान । निर्वाचनपूर्वका प्रतिबद्धता विभिन्न दल तथा व्यक्तिहरू, जो विजयी भएका छन्, तिनको प्राथमिकतामा पर्ने कुरा हो । अधिकांश मतदाताले मत दिने आधार तिनै प्रतिबद्धतालाई बनाए थिए । त्यसपछि जनताको दैनन्दिनका समस्याहरूले प्राथमिकता पायो भने जनप्रतिनिधिको कामको उचित मूल्याङ्कन हुन्छ । यसर्थ आफ्नो निर्वाचनपूर्वका प्रतिबद्धता र समसामयिक समस्याहरूको समाधानलाई सँगसँगै लिएर हिंड्न सक्नु नै जनप्रतिनिधिको कार्य सफलताको सूत्र हो । यसो त कुनै पनि सरकार बनेपछि ९० दिन हनिमून समय भनिन्छ । तर स्थानीय सरकार नीति–नियम बनाउने, परराष्ट्रसम्बन्ध हेर्ने, सुरक्षात्मक काम गर्ने निकाय होइन, यसको तमाम कार्यविधि जनताको दैनिक समस्याको समाधान हो र नगर/गाउँको सर्वतोमुखी विकासको रेखा कोर्नु र त्यसको सफल कार्यान्वयन भएकोले उसलाई हनिमून मनाउने अधिकार हुँदैन । वीरगंजकै कुरा गर्ने हो भने फोहर व्यवस्थापन, सडकहरूको उचित रेखदेखलगायत बालबालिका, युवा, ज्येष्ठ नागरिक सबैको अधिकार संयोजन गर्नु रहेकोले हनिमूनका लागि लामो समयको विश्राम किमार्थ उचित मानिंदैन ।

नेता वा जनप्रतिनिधिहरू प्रायः चापलुस र अवसरवादी कार्यकर्ताहरूसँग घेरिएका हुन्छन् । नेताहरू पनि उनीहरूको कुरा सुन्छन् । यो एक किसिमले बाध्यता पनि हो । किनकि एउटा व्यक्ति सबै समय, सबै ठाउँ पुग्न सक्दैन, सबै ठाउँको समस्यासँग अवगत पनि हुन सक्दैन । उसले अरूको कुरा सुनेर, तदनुरूप काम गर्नुपर्छ । तर यस्तो बानी लाग्नुको मतलब नेता असफल हुने बाटोमा लाग्नु हो । किनकि कसैलाई लाग्यो कि उसको कुरा नेताले खाइरहेको छ, ऊ समस्यालाई बङ्ग्याएर, आफ्नो हित अनुकूल हुनेगरी सुनाउन थाल्छ । यसर्थ बेला–बेलामा आफ्नो अघिपछि घुम्नेहरूको कुराको जाँच पनि गर्न सक्नुपर्छ । जसले गर्दा कसैले गलत सूचना दिएर, समस्या बढाइ–चढाइ वा लुकाइ भ्रममा नपारोस् । यस्ता कुराहरू प्रायः सुनिने पनि गरेका छन् । हुँदै नभएको कुराको चुक्ली लगाउने, कुनै समूहको अहित गर्न तत्पर रहने व्यक्तिहरू यस समाजमा बग्रेल्ती छन् । यस्तोमा कुनै पनि कुरामा प्रश्न र जिज्ञासा र तत्काल त्यसको पुष्टि हुने प्रयत्न गरियो भने गलत धारणा बन्न सक्दैन । आफू नजीकको मानिस सही र टाढाको गलत हुन्छ भन्ने सामान्य धारणा हो, तर प्रायः यस्तो धारणा गलत पनि साबित हुने गर्दछ ।

पालिकाहरू यद्यपि सरकार हुन् तर अधिकार खोज्ने होइन, अपितु दायित्व बोक्ने सरकार हुन् । दायित्व बोक्नु दुष्कर कार्य हो । तर दुष्कर कार्य गर्न सक्ने नै पुरुषार्थी हुन्छ । नेपालमा सङ्घीय संरचना गठन भएपश्चात् यो दोस्रो  चुनाव हो । जनताले, स्थानीय सरकारले धेरै कुरा बुझ्न, अभ्यास गर्न बाँकी छ । दायित्वको परिधि खोज गर्न पनि बाँकी छ । यसमा समय पनि लाग्छ र गलती पनि हुन्छ । स्वाभाविक गलतीको जनताले वास्ता गर्दैन, तर हेलचेक्र्याइँले मानिसलाई निकम्मा बनाउँछ । आफ्नो नगरको समस्याबारे प्रायः जनप्रतिनिधिहरूलाई जानकारी छ, त्यसलाई बुझ्नु आवश्यक छैन, समयमा त्यसको समाधान आवश्यक छ । समस्या बुझ्ने देखावा गर्दा सस्तो लोकप्रियता हासिल हुन्छ, तर यसमा समय बर्बाद हुन्छ र अकर्मण्यता प्रदर्शन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here