प्रस, वीरगंज, १५ जेठ/
मधेस प्रदेश सरकार अन्तर्गत रहेको डिभिजन वन कार्यालय, पर्सामा भएको भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले छानबीन शुरू गरेको छ ।
उजूरीको आधारमा सम्बन्धित विषयको आवश्यक कागजातसहित प्रतिवेदन बुझाइदिने भनी पत्र डिभिजन वन कार्यालयमा पुगेपछि घटना बाहिरिएको हो । यस विषयमा निमित्त कार्यालय प्रमुख फरमान मियाँसँग बुझ्दा अख्तियारले पठाएको पत्रको जवाफ पठाइसकेको र चित्त नबुझेमा स्थलगत अनुगमन गर्न सकिने उनको भनाइ थियो ।
समाचार स्रोतका अनुसार प्रदेश सरकारले आव २०७५–०७६, २०७६–०७७, २०७७–०७८ मा वृक्षारोपण, पोखरी उत्खनन, अतिक्रमण हटाउने उद्देश्यले बर्सेनि पठाएको करोडौं रुपियाँ कर्मचारीहरूले कामै नगरी नक्कली बिल भर्पाई बनाई भुक्तानी लिएको उजूरीको आधारमा अख्तियारले छानबीन गरेको छ । स्रोतका अनुसार बडनियार तथा स्कूलको छेउमा जीवजन्तुलाई पानी खानको लागि खनिएको पोखरी उचित ठाउँमा नरहेको, त्यहाँ पशुपक्षी पनि नआउने गरेकोले उपयोगहीन अवस्थामा छ । मनवा जङ्गलभित्र तटबन्धको नाममा रु २५ लाख, कोइलाभार सिमसार क्षेत्रको नाममा रु २५ लाख, सबैया साझेदारी वन क्षेत्रमा रु ५० लाखको दुईवटा पोखरी, वसन्तपुर सबडिभिजन अन्तर्गत सुकीभार नदी क्षेत्रमा वृक्षारोपण, अतिक्रमण र पोखरी उत्खनन, हरैया रेन्जपोस्टको उत्तरपट्टि वृक्षारोपण, छतिवन टाँडी, मनवा आदि क्षेत्रमा वृक्षारोपण, अतिक्रमणको बहानामा लाखौंको भुक्तानी गरेको विषयमा उजूरी परेको बताइएको छ ।
त्यसैगरी वृक्षारोपण गरेको भनिएको ठाउँमा बोटबिरुवा नरहे पनि नक्कली हेरालु खडा गरी भुक्तानी लिएको समेत तथ्य खुलेको छ । बीउ उत्पादन गरेको नक्कली तथ्याङ्क देखाई लाखौंको बिरुवा उत्पादन गरेको र सोमा लाखौं खर्च देखाएर रकम झ्वाम पारेको उजूरीमा उल्लेख छ । फलफूल, बिरुवा उत्पादन, त्यसको वितरण र वृक्षारोपण कहाँ भएको र अहिलेसम्म फेला नपरेको तर सोबापत रकम हिनामिना भएको उजूरीमा उल्लेख छ । स्थलगत निरीक्षण गर्दा उचित ठाउँमा पोखरी नभएको, पोखरी खनिएको ठाउँ नजीकै खोला र टर्सरसमेत रहेको छ । नियमानुसार सो ठाउँमा पोखरी खन्न मिल्दैन । जङ्गल अतिक्रमण रोक्ने प्रयास नभएको, विभिन्न बहाना बनाएर जनतालाई उस्काई कर्मचारीविरुद्ध होहल्ला गर्न लगाउने र उचित काम गर्न नदिने तर सोबापत रकम खर्च भएको स्रोतले दाबी गरेको छ ।