प्रस, परवानीपुर, १५ जेठ/

वीरगंजका अटो व्यवसायीहरूले अटो भिलेजको माग गरेका छन् । भर्खरै सम्पन्न स्थानीय निर्वाचनबाट विजयी भएका वीरगंजका नगरप्रमुख राजेशमान सिंहसँग वीरगंज अटोमोबाइल्स सङ्घ, पर्साले यस्तो माग गरेको हो ।

सङ्घका वरिष्ठ सल्लाहकार अशोक रौनियारले वीरगंजलाई सफा, स्वच्छ र व्यवस्थित शहरको रूपमा विकास गर्नको लागि अटोभिलेज आवश्यक रहेको बताए । उनले वीरगंजको कुनै निश्चित ठाउँलाई अटोभिलेजको रूपमा विकास गरी वीरगंजको भन्सार क्षेत्र, बाइपास, बसपार्क क्षेत्र, पुरानो बसपार्क क्षेत्र, आदर्शनगर, ट्रान्सपोर्ट क्षेत्रलाई समेत उक्त अटो भिलेजमा स्थानान्तरण गरी शहरलाई व्यवस्थित बनाउन सकिने माग गरेका हुन् ।

अहिले बुटवलमा सञ्चालनमा आएको अटो भिलेजले बुटवल आसपासको ठाउँलाई सुन्दर र रमणीय बनाएको तथा फोहरमैला पनि व्यवस्थापन गर्दै पर्यटक तान्न सफल भइरहेको परिप्रेक्ष्यमा वीरगंज महानगरपालिकाले आगामी बजेटमा अटो भिलेजको अवधारणा अध्ययन गरी काम अगाडि बढाउनुपर्ने उनको सुझाव छ ।

नेपालका दाङ, तुलसीपुर, घोराही, बिर्तामोड, सुनवल, बर्दघाटलगायत ठाउँमा अटो भिलेज सञ्चालनमा छ । अटोभिलेज भन्नाले ४०–५० बिघा क्षेत्रफलको एउटा गाउँ हो । जसमा ग्यारेज, स्पेयर पाटर््सको पसल, लेथ, कारखाना, बडीबिल्डर्स कारखाना, पेन्ट गर्ने कारखाना र ट्रान्सपोर्टको सामान ओसारपासर गर्ने थलोको रूपमा विकसित गरिन्छ । वीरगंजमा अटो भिलेज स्थापना भएसँगै जथाभावी मरम्मत–सम्भारको लागि पार्किङ गर्ने गाडीहरूको चापमा कमी आउँछ र शहरलाई व्यवस्थित बनाउन सकिन्छ ।

त्यसैगरी जथाभावी तेल, मोबिल, ग्रीज, कालोकपडा सडकमा खस्दैन ।

लिंकरोड र मुर्ली क्षेत्रमा सञ्चालनमा रहेका स्पेयर पाटर््स पसलहरूलाई अटो भिलेजमा स्थानान्तरण हुँदा सो क्षेत्रमा अन्य दैनिक उपभोग्यका सामान बिक्री गर्ने पसल सञ्चालन गर्न सकिन्छ । आदर्शनगर क्षेत्रबाट क्यारियर र ट्रान्सपोर्टको कारोबार अटो भिलेजमा सर्दा उक्त क्षेत्रमा पनि ट्राफिक आवागमन व्यवस्थित हुन्छ ।

साथै अटो भिलेजमा एकै थलोमा सवारी साधनको मरम्मत, रङरोगन, बडी निर्माण र स्पेयर पाटर््स खरीद गर्न सजिलो हुने व्यवसायीहरूको भनाइ छ ।

नवनिर्वाचित मेयरसँग यस विषयमा चाँडै सङ्घका पदाधिकारीहरूले ज्ञापन बुझाएर औपचारिक माग गर्ने तयारी रहेको पनि वीरगंज अटोमोबाइल्स सङ्घ, पर्साका वरिष्ठ सल्लाहकार रौनियारले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here