राधेश्याम पटेल, परवानीपुर १५ जेठ/
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंजको नगरप्रमुखमा सत्तारूढ पाँच दलीय गठबन्धनबाट जसपाका राजेशमान सिंह विजयी भएका छन् । निवर्तमान नगरप्रमुख एमालेका मेयर विजयकुमार सरावगीलाई भारी मतले पराजित गर्दै नगरप्रमुख बनेका हुन् । उनको जीतसँगै सामाजिक सञ्जालमा उनी भुइँमा सुतेको फोटो भाइरल गरिएको छ । पत्रकार जियालाल साहले यसबारे सिंहलाई न एसी चाहिन्छ, न सोफा, न राजगद्दी, भुइँमान्छे भुइँमैं सिरानी भनेर लेखेका छन् । भुइँमा चटाई बिछ्याएर ब्यागलाई तकिया बनाएर सुतेका सिंह वीरगंजको नगरप्रमुख भएर पाँच वर्षका लागि कमान सम्हालेका छन् । सोही तस्वीरबारे वीरगंज श्रीपुरका युवा नीरज पाण्डेले भुइँबाट उठेको व्यक्तिलाई आकाश हेर्दा राम्रो लाग्न सक्ला तर उसले आफ्नो माटोलाई कहिल्यै बिर्सिन सक्दैन, किनभने उसले भुइँ र माटोको महŒव बुझेको हुन्छ भनेर टिप्पणी गरेका छन् ।
वीरगंजको नगरप्रमुख बनेका सिंह बारे जान्ने उत्सुकता अहिले धेरै छ । को हुन् सिंह ? मधेसीबहुल क्षेत्र वीरगंजमा नगरप्रमुख बनेका नेवार समुदायका सिंहको परिवार लगभग १७५ वर्ष पहिले मधेश झरेको हो । प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा काठमाडौंमा कोतपर्व हुँदा कीर्तिपुरका भाजुमान सिंह श्रेष्ठलाई काटेर मारिएको थियो । राजेशमान सिंहका जुजुबुवा (हजुरबुवाको बाजे) थिए भाजुमान सिंह श्रेष्ठ । जुजुबुवालाई काटेकै दिन रातारात डाँडा कटेर उनको परिवार मधेस झरेको थियो । जुजुबुवाका चारजना छोरा थिए । गोविन्दमान सिंह श्रेष्ठ, गोपालमान सिंह श्रेष्ठ, कृष्णमान सिंह श्रेष्ठ र भक्तमान सिंह श्रेष्ठ । राजेशमान सिंह सबैभन्दा कान्छा छोरा भक्तमान सिंह श्रेष्ठका सन्तान हुन् । उनका माइला हजुरबुवा गोपालमान सिंह श्रेष्ठ त्यस बेलाको अदालतको खरिदार र हजुरबुवा भक्तमान सिंह श्रेष्ठ डिठ्ठा पदमा कार्यरत थिए ।
राजपरिवारसँग नजीक रहेको सिंह परिवार भारदार थियो । तर जुजुबुवाको घटनापछि सबै त्रसित भएर काठमाडौंबाट पलायन भएको सुनाउँछन् राजेशमान–“त्यस घटनापछि मेरो सबै परिवार वीरगंज आयो सङ्घर्ष गरी जीवन बाँच्न थाल्नुभयो ।”
राजेशमान सिंहका हजुरबुवा भक्तमान सिंह श्रेष्ठका चारजना छोरा, जेठा भूपेन्द्रमान सिंह श्रेष्ठ, माइला नरेन्द्रमान सिंह श्रेष्ठ, कान्छा तुलेन्द्रमान सिंह श्रेष्ठ हुन् । उनका बुवा भूपेन्द्रमान र आमा रुक्मिणी श्रेष्ठ तथा एकजना काका नरेन्द्रमान सिंह श्रेष्ठको निधन भइसकेको छ । कान्छा काका तुलेन्द्रमान श्रेष्ठ जीवित छन् । बुवा आमाको तीन सन्तानमध्ये कान्छा छोरा हुन् राजेशमान सिंह । ठूली दिदी सङ्गीता श्रेष्ठ काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकमा जागीर गर्छिन् भने माइला दाइ शैलेन्द्रमान सिंह श्रेष्ठ काठमाडौंमा एक दशकदेखि व्यवसायमा आबद्ध छन् ।
रेडियो मिस्त्रीका छोरा हुन् राजेशमान
वीरगंजको नगरप्रमुख सिंहका बुवा भूपेन्द्रमान सिंह रेडियो मिस्त्री थिए । उनको परिवार वीरगंज आएपछि वडा नं ३ छपकैयामा बसोवास गरेको थियो । बुवा भूपेन्द्रमान सिंह श्रेष्ठ वीरगंजको माईस्थानमा प्रभाकर रेडियो सर्भिस नामको पसल चलाउँथे । “मेरो परिवार तथा बुवाहरूले धेरै सङ्घर्ष गर्नुभएको छ, बुवा रेडियो पसल चलाउनुहुन्थ्यो, रेडियो बेच्नुहुन्थ्यो–राजेशमान भन्छन्–“वीरगंजको गीतामन्दिर छेउको जग्गामा रहेको कीर्ति सिनेमा हलमा बुवाले प्राविधिक भएर प्रोजेक्टर पनि चलाउनु भएको छ ।
वीरगंजको ठाकुररामबाट राजनीति शुरू गरेका सिंह २०२७ सालमा जन्मेका हुन् । २०४२ सालमा उनले त्रिजुद्ध माविबाट एसएलसी गरे । प्रवीणता अध्ययनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा नाम लेखाए । २०४३ सालदेखि मानविकी प्लस टुमा अध्ययनरत सिंहको राजनीतिक शुरूआत नेपाली काङ्ग्रेसको जनवर्गीय सङ्गठन नेविसङ्घबाट भएको हो । हाल नेका पर्साका सभापति जनार्दनसिंह क्षत्रीसँगै अध्ययन गरेका उनी २०४६ सालको जनान्दोलनमा काङ्ग्रेसको सक्रिय कार्यकर्ता थिए । उनले भारत मोतिहारीको पण्डित उगम पाण्डे महाविद्यालय, बिहारबाट बिए गरे ।
२०५४ सालमा नेकाबाट वडा सदस्यमा निर्वाचित भएका थिए । त्यति बेला वीरगंज नगरपालिकाबाट उपमहानगरपालिका भएको थियो । सिंह पाँच वर्ष नगरसभाको सभामुख बने । त्यतिबेला काङ्ग्रेस, एमाले, सद्भावना र राप्रपा पार्टी मात्रै थियो । त्यस बेलाको ११६ सदस्यीय वीरगंज उपमहानगरपालिकाको परिषद् सदस्य थिए र विमल श्रीवास्तव सामीप्यमा थिए ।
२०६२ सालको राजशाही शासनकालमा वडाध्यक्ष बने ।
२०६२–०६३ को मधेस आन्दोलनपछि उनी मधेसवादी पार्टीसँग आबद्ध भएर मधेसी राजनीतिमा होमिए । २०६८ सालमा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीको नेताको रूपमा उनले आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिए । २०७० सालको पहिलो संविधानसभा चुनावमा उनी शरदसिंह भण्डारीकै पार्टीबाट पर्सा क्षेत्र नं १ मा चुनाव लडेर हारे । त्यति बेला काङ्ग्रेसका राजेन्दबहादुर अमात्य विजयी भएका थिए । विमल श्रीवास्तव दोस्रो र सिंह तेस्रो भएका थिए । त्यसपछि २०७३ सालमा ६ वटा मधेसवादी राजनीतिक पार्टीहरू मिलेर राजपा
बन्यो । २०७४ सालमा वीरगंजको नगरप्रमुखमा उनी राजपाबाट वीरगंजको नगरप्रमुखमा लडेर हारे । योपटक पनि उनी तेस्रो भए भने नेकाका अजयकुमार द्विवेदी दोस्रो भएका थिए ।
नगरप्रमुखमा सिंह जितेको पाँच कारण
नगर प्रमुखमा निर्वाचित सिंहले आफ्नो जीतमा पाँचवटा कुराले महŒवपूर्ण भूमिका खेलेको बताएका छन् ।
१. चुनाव हारे पनि जनताबीच रहेर काम गरेको,
२. अहिले पार्टी राम्रो पाएको,
३. जसपा नेतृत्वले राम्रो साथ दिएको,
४. निवर्तमान मेयर सरावगीसँग जनता निराश भएको,
५. निर्वाचनमा जसपा सांसद प्रदिप यादवको राम्रो कमान्डिङ रहेको ।
एमालेबाट किन फर्के ?
राजेशमान सिंहले यो स्थानीय चुनावमा एमाले पार्टीबाट उम्मेदवार बन्ने सोच राखेका थिए । लोसपामा रहेका उनी एमालेबाट नगरप्रमुखमा लड्ने तयारीमा थिए । यसैबीच फागुन २८ गते निवर्तमान नगरप्रमुख सरावगी एमाले प्रवेश गरेपछि सिंह एमालेमा प्रवेश गर्न चाहेनन् । किनभने उनी पनि प्रमुख पदको दाबी गर्दै एमाले प्रवेश गरेका थिए । सरावगी प्रवेश गरेपछि पार्टीले टिकट नदिने ठम्याएर उनी चैत २ गते जसपा प्रवेश गरे । आफूमाथि धेरै पार्टी चहारेको आरोप लागेपनि अहिले घर फर्केको उनी बताउँछन् । उनले चुनावमा दुई महीना राम्ररी नसुतेको र अब पाँच वर्ष राम्रो काम गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका छन् । मेहनतबाट पाएको विरासत मेहनत गरेर सफल पार्छु–सिंह भन्छन् ।