प्रस, वीरगंज, १२ जेठ/
पर्सा, बारा, रौतहटमा दोस्रो कार्यकालको लागि निर्वाचित हुनेहरूको सङ्ख्या न्यून रहेको छ । पर्सा जिल्लाका चौधवटा पालिकामध्ये प्रमुखमा छिपहरमाई गाउँपालिकाका मनोजकुमार गुप्ताले मात्र दोस्रो कार्यकालका लागि जीत हासिल गरेका छन् । पहिलो कार्यकालमा उनी नेकपा माओवादीबाट निर्वाचित भएका थिए भने दोस्रो कार्यकालमा एमालेबाट निर्वाचित भएका हुन् ।
वीरगंज महानगरको प्रमुखमा दल (जसपा) दोहोरिए पनि उम्मेदवार भने फेरिएको छ । यसअघिका निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी जसपाबाट निर्वाचित भएका थिए तर यसपटकको निर्वाचनमा उनी नेकपा एमालेबाट चुनाव लडेर पराजित भए । उनको ठाउँमा जसपाकै राजेशमान सिंह विजयी भएका छन् ।
बहुदरमाई, पर्सागढी, पोखरिया नगरपालिका र कालिकामाई, धोबिनी, पटेर्वासुगौली, जीराभवानी, ठोरी, जगरनाथपुर, पकाहामैनपुर, विन्ध्यवासिनी, सखुवाप्रसौनीमा प्रमुख/अध्यक्षहरू फेरिएका छन् । पटेर्वासुगौलीमा मात्र उपाध्यक्षमा ममता महतो दोहोरिएकी छन् । बाँकी सबै पालिकामा उपप्रमुख/उपाध्यक्षहरू फेरिएका छन् ।
बारा जिल्लामा पनि १६ वटा पालिकामध्ये एउटा पालिकामा मात्र प्रमुख दोहोरिएका छन् । बाँकी १५ पालिकाका प्रमुखहरू फेरिएका छन् । महागढीमाई नपामा नेकाका उपेन्द्रप्रसाद यादव दोस्रोपटक निर्वाचित भए । बाँकी जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, कोल्हवी, निजगढ, पचरौता, सिम्रौनगढ नगरपालिका र आदर्शकोतवाल, करैयामाई, देवताल, बारागढी, फेटा, विश्रामपुर, सुवर्ण गापाका प्रमुखमा नयाँ अनुहार आएका छन् ।
रौतहटका १८ पालिकामध्ये चारवटा पालिकाका प्रमुख दोहोरिएका छन् भने बाँकी चौधवटाका प्रमुखमा नयाँ अनुहारले जितेका छन् ।
गुजरा, परोहा, फतुवा विजयपुर, गढीमाई नपाका प्रमुख दोहोरिएका छन् भने बाँकी चौधवटा पालिकामा नयाँ अनुहार आएका छन् ।
रौतहटमा यमुनामाई, दुर्गाभगवती गापा र बाँकी गौर, राजदेवी, माधवनारायण, वृन्दावन, गरुडा, देवाही गोनाही, मौलापुर, बौधीमाई, राजपुर, ईशनाथ, फतुवा विजयपुर, चन्द्रपुर, कटहरिया नपाका प्रमुखमा नयाँ अनुहारले जितेका छन् ।