नयाँ दिल्ली, १२ जेठ/सिन्ह्वा
भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झन्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीवार जनाएको छ ।
उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा राज्य’को रूपमा चर्चा गरिने गरिएको छ ।
तर छिमेकी राज्यबाट खरीद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नतामा अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ । मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको यकीन सङ्ख्या भने बताउन अस्वीकार गरेका छन् ।
धेरैजसो पीडितले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको बताएका छन् । “छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा बिक्री गरिएको छ,” जी न्युजले उल्लेख गरेको छ ।
यसैबीच, भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ । रासस