बैंकक, ८ जेठ/एपी

एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहका वाणिज्यमन्त्रीको शनिवार भएको बैठकमा संयुक्त राज्य अमेरिका, क्यानडा र तीन अन्य राष्ट्रका प्रतिनिधिले युक्रेनमा जारी रूसी आक्रमणको विरोध गरेका छन् ।

बैठकको उद्घाटन सत्रमा रूसी प्रतिनिधिले सम्बोधन गर्न थालेपछि उनीहरू बैठक कक्षबाट बाहिरिएका थिए । एकजना जापानी अधिकारीका अनुसार जापानका वाणिज्यमन्त्री कोइची हागिउडाका साथ अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डका वाणिज्यमन्त्री युक्रेनमा रूसको आक्रमणको विरोध गर्न बैठकबाट बाहिर निस्केका थिए ।

युक्रेनमा जारी रूसी आक्रमणबाट कोभिड–१९ को महामारीले तहसनहस बनाएको अर्थतन्त्रमा थप प्रभाव परेको तथा आर्थिक सुधारका गतिविधिलाई सुस्त बनाउनका साथै मानवजीवन नराम्ररी प्रभावित बनाएकाले विरोधस्वरूप आफूहरूले रूसी समकक्षीको उद्घाटन सम्बोधन बहिष्कार गरेको न्युजिल्यान्डका वाणिज्यमन्त्रीको कार्यालयले जनाएको छ ।

क्यानडाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री मेरी एनजीले आफ्नो देशले युक्रेनमा गरिएको भीषण आक्रमणका लागि रूसलाई जवाफदेही बनाउन धेरै कारबाई गरिसकेको तथा राष्ट्रपति भ्लादिमिर पुटिन र उनलाई उकास्नेविरुद्ध कडा प्रतिबन्ध समावेश गरिएको बताउँदै सबैले दबाब जारी राख्नुपर्नेमा जोड दिए ।

रूसी वाणिज्यमन्त्री रेशेत्निकोभले मन्तव्य पूरा गरेपछि उनीहरू सबैजना बैठकमा पुनः सहभागी भएका थिए । अमेरिकासहितका वाणिज्यमन्त्रीको बैठक बहिष्कार योजनाबद्ध भएको बैठकमा सहभागी एक पर्यवेक्षकले बताए ।

पश्चिमी राष्ट्रहरूले युक्रेनमाथिको आक्रमणको विरोध गर्दै  रूसमाथि कडा कूटनीतिक एवं आर्थिक प्रतिबन्ध लगाएका छन् भने धेरै एपेक सदस्य राष्ट्र तथा विशेषगरी दक्षिणपूर्वी एशिया र ल्याटिन अमेरिकी देशले त्यस्ता कदमबाट आफूलाई टाढा राखेका छन् । युक्रेनको युद्धले व्यापारिक समस्या बढाएको छ भने त्यसले खाद्य क्षेत्रमा आपूर्ति शृङ्खला अवरुद्ध पारेको छ ।

सन् १९८९ मा सदस्य राष्ट्रहरूबीच आर्थिक एकीकरण र व्यापार प्रवद्र्धन गर्दै आर्थिक वृद्धिलाई बढावा दिन एपेक स्थापना गरिएको हो ।

युक्रेनद्वारा युद्धविराम अस्वीकार

कीभ/रोयटर्स

डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भएपनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमण गरिरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।

रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकूहरूले प्रतिरोध समाप्त गरेपछि रूसले डोनबासका दुई प्रान्तमध्येको एक लुहान्स्कमा भीषण आक्रमण गरिरहेको छ । रूस समर्थित पृथकतावादीहरूले फेब्रुअरी २४ मा आक्रमण गर्नुअघि लुहान्स्क र छिमेकी डोनेटस्क प्रान्तको ठूलो भूभाग नियन्त्रण गरिसकेका भएपनि  मस्कोले युक्रेनको नियन्त्रणमा रहेको डोनबास कब्जा गर्न चाहेको छ ।

रूसी सेनाले स्लोभ्यान्स्क र सिभिएरोडोनेत्स्क शहरहरूमा आक्रमण गर्ने प्रयास गरिरहेको तर युक्रेनी सेनाले उनीहरूको दुष्प्रयासलाई असफल पारेको जानकारी दिंदै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबासको अवस्था अत्यन्तै कठिन भएको बताएका छन् । 

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धविराममा सहमत हुन अस्वीकार गर्दै कीभले मस्कोसँगको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट गरेका छन् । युद्ध नरोकिने बताउँदै उनले त्यसो गर्दा मस्कोले नयाँ आक्रमण गर्ने तथा भारी मात्रामा रक्तपात हुने युक्रेनका प्रमुख वार्ताकार पोडोल्याकले कडा सुरक्षामा राखिएको राष्ट्रपति कार्यालयमा भएको अन्तर्वार्तामा रोयटर्सलाई बताए ।

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र इटालीका प्रधानमन्त्री मारियो ड्राघीले तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here