प्रस, वीरगंज, ७ जेठ/
मधेस प्रदेशको एकमात्र वीरगंज महानगरमा अहिले मतगणना जारी रहेको छ । ३२ वटा वडा रहेको वीरगंज महानगरमा २० वटा वडाको मतगणना सकिसकेको छ भने १२ वटा वडाको मतगणना बाँकी छ । हालसम्म सकिएको वडाहरूको मतगणनाको नतीजा अनुसार वीरगंजको २० वटा वडामध्ये आठवटामा काङ्ग्रेस र सातवटामा जसपाले वडाध्यक्ष जितेको छ भने एमालेले चारवटा वडामा र एउटा वडामा लोसपाले जितेको छ । वीरगंज महानगरको ३२ वटा वडामध्ये १ देखि ९ सम्म र २२ देखि ३२ सम्मको मतगणनाको नतीजा आइसकेको छ । वीरगंजको वडा नं ८ मा जसपाका रितेश गुप्ता, २२ मा काङ्ग्रेसका द्वारिका महतो, २३ मा एमालेका अवधकिशोर कुशवाहा, २४ मा एमालेका विजयप्रसाद कुर्मी शनिवार विजयी घोषणा भएका छन् ।
दोहोरिएर जितेका वडाध्यक्षहरू
वीरगंज महानगरको वडा नं ३, ४, ५, २३, २६, २९ र ३२ मा गरी सातवटा वडामा पुरानै वडाध्यक्षहरूलाई जनताले चुनेको छ भने १३ वटा वडाको अध्यक्षमा नयाँ अनुहार आएका छन् । वीरगंजको केही वडामा आफ्नो दलले टिकट नदिंदा अर्को दलबाट उम्मेदवारी दिएर पनि केही वडाध्यक्षमा विजयी भएका छन् । वीरगंजको वडा नं १ का मनोजराउत कुर्मीलाई काङ्ग्रेसले नपत्याउँदा उनी जसपाबाट चुनाव लडेर विजयी भएका छन् ।
त्यसैगरी, वडा नं ८ मा काङ्ग्रेसका नेता रितेश गुप्तालाई दलले टिकट नदिंदा उनी जसपाबाट चुनाव लडेर विजयी भए । त्यसैगरी, वडा नं २४ मा पनि काङ्गे्रसबाट टिकट नपाउँदा विजयप्रसाद कुर्मी एमालेबाट चुनाव लडेर जितेका छन् । त्यसैगरी, वीरगंज ३१ बेल्वामा पनि जसपाले जीतेन्द्र यादवलाई टिकट नदिंदा उनी एमालेबाट विजयी भए ।
बाँकी चारवटा वडामा ककसको अग्रता
अहिले वडा नं १०, ११, १२, २१, १६ को मतगणना जारी रहेको छ । जसमा वडा नं १० मा जसपाका सुशील साह कानू, वडा नं ११ मा जसपाका अजय चौरसिया, वडा नं १२ मा एमालेका सुरेश साह कानू, २१ मा लोसपाका राधाकृष्ण रौनियारले अग्रता लिएका छन् ।
वडा नं १६ को मतगणना प्रारम्भिक चरणमा छ ।