नितेश कर्ण, वीरगंज, ६ जेठ/
वीरगंज महानगरपालिकाको मतगणना जारी छ । शुक्रवार जारी मतगणनामा सत्तारूढ ५ दलीय गठबन्धनबाट जसपाका नगरप्रमुखमा उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन् ।
वैशाख ३१ गतेदेखि जारी मतगणनामा नगरप्रमुखका उम्मेदवार सिंहले एमाले–लोसपा गठबन्धनबाट एमालेका उम्मेदवार निवर्तमान नगरप्रमुख विजयकुमार सरावगीलाई अगाडि बढ्न दिएका छैनन् । शुक्रवारसम्म सिंहले २४ हजार ३१६ मत ल्याएका छन् भने सरावगीले १२ हजार ४८९ मत ल्याएका छन् । राप्रपाका गिरीश गिरीले १ हजार ४८७ मत पाएका छन् ।
उपप्रमुखमा सत्तारूढ ५ दलीय गठबन्धनबाट नेकाका इम्तियाज आलमले १७ हजार ७५, एमाले–लोसपा गठबन्धनबाट लोसपाका पुरुषोत्तमलाल झाले ३ हजार ६७४, राप्रपाकी बिना जयसवालले २ हजार ६३९ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले २ हजार २८७ मत पाएकी छन् ।
मतदान भएको ९५ हजार ३२५ मध्ये करीब आधा मतगणना भइसकेको छ । वडाध्यक्षहरू पनि निर्वाचित हुने क्रम जारी छ ।
यसैबीच शुक्रवार चारवटा वडाको वडाध्यक्ष विजयी भएका छन् । वडा नं. ९ मा नेपाली काङ्ग्रेसका जवाहिरप्रसाद गुप्ता, वडा नं. २६ मा नेपाली काङ्ग्रेसका शम्भु मिश्र दोस्रोपटक निर्वाचित भएका छन् । यसैगरी वडा नं. २८ मा नेकाकै सरयुग महतो निर्वाचित भएका छन् । वडा नं. २५ मा जसपाका आशुतोष चतुर्वेदी निर्वाचित भएका छन् ।
शुक्रवार सम्पन्न मत परिणाम अनुसार वडाध्यक्षमा नेकाको ७, जसपाको ६, एमालेको २, लोसपाको १ सिटमा जीत भइसकेको छ । शुक्रवारसम्म नेकाले वडा नं. २, ४, ७, ९, २६, २७, २८, जसपाले १, ३, २५, २९, ३० र ३२, एमालेले ५ र ३१ तथा लोसपाले ६ नं. वडामा जीत हासिल गरिसकेको छ ।
अहिलेसम्म ४७ हजार ७५४ मत गणना भएकोमा प्रमुखमा ९ हजार ६६८ र उपप्रमुखमा २१ हजार ८७३ मत बदर भएको छ । उपप्रमुखमा सदर मत सङ्ख्या २५ हजार ३८१ रहेको छ ।
अहिले ८, १०, ११, २२, २३, २४ वडाको मत गणना भइरहेको छ ।