काठमाडौं, ५ जेठ/रासस
नेपाल तेस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युगान्डासँग फेरि पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको खेलमा नेपाल पाहुना टोली युगान्डासँग छ विकेटले पराजित भएको हो । यस जीतसँगै युगान्डाले दुई खेलअगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा युगान्डाले ३–० को अग्रता बनाएको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग एक विकेटले पराजित भएको थियो ।
नेपालले दिएको एक सय रनको लक्ष्य युगान्डाले १८ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । युगान्डाको जीतमा केभिन विनोले अविजित रहँदै ४२ रन जोडिन् । यस्तै, जेनेट बाबाजीले २७ रन जोडिन् ।
बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन् भने रूबिना क्षेत्री र इन्दु वर्माले समान एक/एक विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रनको योगफल बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन् । त्यसैगरी, कप्तान रूबिना क्षेत्रीले अविजित रहँदै १८ रन जोडिन् भने सीता रानामगर १२ रनमा आउट भइन् । त्यस्तै, बिन्दु रावलले चार रन जोड्दा रोमा थापा र डोली भट्टले समान तीन/तीन रन जोडिन् । सबनम राई र इन्दु वर्माले एक/एक रन जोडे ।
बलिङमा युगान्डाका फिओना कुलुमे, कोन्सी अवेको र सराह अकिटेङले समान दुई/दुई विकेट लिए भने रीता मुसामाली र जनेत एम्बाबाजीले एक/एक विकेट लिए । पाँच खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले भोलि युगान्डासँग चौथो खेल खेल्नेछ ।