स्थानीय तह अन्तर्गत महानगरपालिकाहरूको मतगणना जारी छ भने उपमहानगर, नगर र गाउँपालिकाहरूको मतपरिणाम आउने क्रममा छन् । अहिलेसम्म आएको मतपरिणाममा नेपाली काङ्ग्रेस जीतको अग्रस्थानमा छ । एमाले दोस्रो अनि माओवादी तेस्रो स्थानमा छन् । मतगणना सकिंदासम्म जीतको यो परिणाममा परिवर्तन पनि हुन सक्ला । स्थानीय तहको यसपटकको चुनावमा अन्य सबै कुरा जति उत्साहका साथ सम्पन्न भए मतगणना त्यत्तिकै ढिलासुस्तीबाट भइरहँदा सबैमा नैराश्यता छाएको छ । निर्वाचन आयोगले जेठ ५ गतेसम्म सबै परिणाम आइसक्ने दाबी गरे पनि अहिले मतपरिणाम ढिला हुनुमा आफ्नो जिम्मेवारी स्वीकार नगरी मातहतका निर्वाचन अधिकृतहरूको थाप्लोमा पारेर आफू चोखिने प्रयासमा छ । निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भयो । यसको जस लिने आयोगले गणनामा भएको ढिलाइका कारण भने निर्वाचन अधिकृतहरूको जिम्मेवारी भनेर पन्छिने काम गरेको छ । राम्रोको जस लिनेले नराम्रोको अपजसको भागीदार हुनबाट डराउनुहुँदैन । जस/अपजस काम गर्दा हुने कुरा हुन् । राम्रो गर्ने चाहना राख्नुपर्छ, काम गर्दा अनजानवश हुने गलती माफी लायक हुन्छ ।
स्थानीय तहको मतगणना सजिलो पाटो पक्कै होइन । गणनामा बसेका गणकहरू र उम्मेदवारका प्रतिनिधिहरूले पनि बुझेका छन् । विनाकारण उम्मेदवार बनेकाहरूको ताती अनि उनीहरूको चुनाव चिह्नले विशाल बनेको मतपत्र, मतदान गर्दा गठबन्धन र स्वतन्त्र उम्मेदवारहरूको छुट्टाछुट्टै मतगणना गर्नुपर्ने, अनि त्यसरी गणना गरेको मतपत्र उम्मेदवारहरूको प्रतिनिधिहरूलाई देखाएर उनीहरूबाट अनुमोदन गराउनुपर्ने जस्ता जटिल कार्यले मतगणनामा ढिला भएको हो । यसअघि मतगणना गर्दा उम्मेदवारहरूको प्रतिनिधिलाई सँगसँगै राखेर गणकहरूले गणना गर्थे । त्यसमा केही धाँधलीका कुराहरू पनि आउने गरेका थिए भने हार्नेहरूबाट मतपत्र नष्ट गर्ने सम्भावना बढी हुने गरेको थियो । चितवनको भरतपुर नगरपालिकामा गत स्थानीय चुनावमा माओवादी पार्टीका कार्यकर्ताहरूले मतपत्र च्यातेको घटनापछि मतगणना कार्यमा संवेदनशीलता अपनाएर सुरक्षाका अन्य तरीकाहरू अपनाउने कार्यहरू भए । फलतः यसअघि हुने गणना र अहिलेको गणनामा ढिला हुने कारणमध्ये एउटा यो पनि रह्यो । यो चुनावमा मत बदरको सङ्ख्या पनि बढी रह्यो । देशभर मत बदरको समस्या देखिएको छ । यसको कारण चुनावको अन्तिम चरणमा दलहरूबीच गठबन्धन बन्यो, मतपत्रको ढाँचा दलीय गठबन्धनबाट हुन सकेन । गठबन्धन बनेका ठाउँहरूमा सबैभन्दा बढी मत बदर भएको अनुमान गरिएको छ ।
जान्ने सुन्नेहरूको मत पनि बदर भएको दृष्टान्त सुन्नमा आएको छ । नजान्नेहरूको कुरै भएन । गठबन्धनमा रहेकाहरूले नजान्नेहरूलाई सातका सात मत एकलहरमा दिन सुझाए । जोखिम कम गर्ने यो उत्तम उपाय भएपनि गठबन्धनप्रतिको इमानदारिता भने देखिएन । यसैमा गठबन्धनमा मत दिनेहरू धेरै अलमलिए । सातवटा मत दिंदा कसैले एउटै पदमा दुईवटा स्वस्तिक छाप हाने भने कतिपयले सात सङ्ख्याभन्दा बढीमा पनि मतदान गरे । मतदाता शिक्षाको अवसर पनि यो चुनावमा जुरेन । यस कारण निर्वाचन आयोगले यो चुनावका नराम्रा पक्षहरूलाई केलाउने र आगामी चुनावमा त्यस्तो नदोहोरियोस् भन्नेतर्फ कदम चाल्नुपर्छ । जसले गर्दा आगामी चुनावमा यस प्रकारका त्रुटिहरू हुन पाउँदैनन् ।