प्रस, वीरगंज, ४ जेठ/
पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षको कार्यभार २१ वर्षीय वशिष्ठकुमार कलवारले सम्हाल्ने भएका छन् । यही उमेर समूह भएपछि मात्र नेपालको संविधान अनुसार उम्मेदवार हुन पाइन्छ र उनी सम्भवतः नेपालको इतिहासमा पहिलो कान्छो पालिका अध्यक्ष बनेका छन् ।
जसपाबाट टिकट पाएर गापा अध्यक्षमा कलवारले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका अजय कुमारलाई ११४ मतान्तरले पराजित गर्दै अध्यक्ष बनेका छन् । कलवारले तीन हजार ७१९ मत ल्याएर विजयी भए भने अजयले तीन हजार ६०५ मत ल्याएका थिए । कालिकामाई गापाको उपाध्यक्षमा नेकाकी राजमती बरैनी विजयी भएकी छन् । उनले तीन हजार ९६१ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले तीन हजार ८३४ मत ल्याइन् ।
कालिकामाई गापाको वडा नं १ मा जसपाका लालबाबू राउत बरै एक हजार ४१८ मत, वडा नं २ मा एमालेका सोनालालप्रसाद चौरसिया ५७२ मत, वडा नं ३ मा जसपाका सञ्जयकुमार पटेल ६५० मत, वडा नं ४ मा काङ्ग्रेसका सञ्जयकुमार साह ७६९ मत र वडा नं ५ मा जसपाका जयनारायणप्रसाद कुर्मीले ७६६ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।