-समिर पाख्रिन
“पुस्तक छपाइको काम सकियो । कहिले आउनुहुन्छ ?” छापाखानाबाट फोन आयो ।
सुनेर खुशी हुनुपर्ने मान्छे म, अहँ त्यस्तो केही लागेन । बरु पैसोको जोहो कहाँबाट गर्ने समस्यामा परें । पहिलोचोटि त मेरी उनले स्वस्फूर्तरूपमा पच्चीसवटा हात्ती गनेर टक्राएकी थिइन् । तर लामो साधना र मिहेनत गरेर सिर्जना गरेको त्यो पुस्तक ङिच्च हाँस्दै सित्तैमा बाँडेको थाहा पाएपछि उनले चित्त दुखाएकी थिइन् । यसैले यसपल्ट मैले उनलाई दोस्रो कृति प्रकाशनको भनकसमेत दिएको थिइनँ ।
दिनदिनै छापाखानाबाट फोन आउन थालेपछि मलाई छटपट हुन थाल्यो । जुन मित्रले आँट भरोसा दिएका थिए, उनको समेत फोन उठ्न छाड्यो । अब के गर्ने ? चिन्ताले सताउन थाल्यो ।
उपायको खोजीमा लामै समय घोत्लिएपछि यौटा उपाय फु-यो ।
हामी नवप्रवेशी स्रष्टाहरूले एकाअर्काको प्रकाशित कृति एक प्रति उठाइदिंदा स्रष्टालाई कृति प्रकाशनमा सहयोग पुग्ने हुँदा “आउनोस्, हामी ‘ऐंचोपैंचो समूह’को रूपमा अघि बढौं । सहमत हुनेले कमेन्ट बक्समा सहमत लेखेर ऐक्यबद्धता जाहेर
गर्नोस्,” फेसबूकमा स्टेटस लेखेर पोस्ट गरें ।
नभन्दै लाइक र कमेन्टको ओइरो लाग्यो र संयोगवश पहिलो पुस्तक पनि मेरै प-यो ।
दोस्रो दिन केही रुपियाँ बोकेर छापाखाना पुगें । पुस्तक बन्डल गरी एक कुनामा फालिएको रहेछ । लेनदेनको कुरामा साहुजी सहजरूपमा प्रस्तुत हुनुभयो । शायद साहुले पनि उक्त स्टेटस पढेको हुनुपर्छ ।
ढिलो नगरी सामान्यरूपमा विमोचन कार्यक्रम आयोजना गरियो । सबैजसो स्रष्टा मित्रहरू विमोचन कार्यक्रममा सहभागी भए । उपस्थित नवप्रवेशीहरूले ऐंचोपैंचो समूहको अवधारणाको हदैसम्म प्रशंसा गर्दै उक्त प्रस्तावलाई एक प्रति पुस्तक खरीद गरी सोही समारोहमा अनुमोदनसमेत गरे ।