प्रस, बारा, २९ वैशाख/
मौन अवधिमा पनि बारामा राति खुलेआम मदिरा बिक्री भइरहेको समाचार छ।
शुक्रवार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, बाराले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ तर बारामा मादक पदार्थ बिक्री वितरण खुलेआम भइरहेको छ।
बाराका सबै पालिकामा खुलेआम मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवन भइरहे पनि सम्बन्धित निकाय मौन देखिन्छ। बुधवार राति ९ बजेसम्म पनि बाराका विभिन्न ठाउँमा मादक पदार्थ बिक्री भइरहेको स्थानीयले जनाएका छन्। बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बारामा १६ वटै पालिकामा मादक पदार्थ निषेध भएकाले कोही कसैले उल्लङ्घन गरेको भए कारबाई गरिने जानकारी दिए।
जिप्रका, बाराले सोमवार जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा कडाइ गरेको उल्लेख छ।