प्रस, महोत्तरी, २९ वैशाख/

बर्दिबास नगरपालिकाका प्रमुख उम्मेदवार विदुर कार्कीमाथि आक्रमण प्रयास भएको छ। स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्री समूहका केही युवाले आक्रमण प्रयास गरेको नगरप्रमुख कार्कीले बताए।

कामको सिलसिलामा वडा नं ६ स्थित घुरन महतोको घरमा भेटघाट गर्न गएको बेला जम्मा भएका युवकहरूको समूहले आक्रमणको प्रयास गरेको स्थानीयले  बताए। प्रत्यक्षदर्शीका अनुसार केही युवा आएर गालीगलौज गर्दै भिडियो बनाउँदै आक्रमणको प्रयास गरेका थिए।

माओवादी केन्द्र मधेस प्रदेशका नेतासमेत रहेका कार्की मत माग्न गएको भन्दै अभद्र व्यवहार गरेको पीडित पक्षको आरोप छ। भिडियोमा महतोले भेटघाटको लागि बोलाएको स्वीकार गरेका छन्। उनले भने, “मैले मेयरलाई घरायसी भेटघाटको लागि बोलाएको थिएँ। उनीहरू आएर अभद्र व्यवहार गरे,” उनले भने।

यता, नेपाली काङ्ग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका क्षेत्री समूहले भने नगरप्रमुख विदुर कार्की मत माग्नै गएको दाबी गरेको छ।

जिल्ला निर्वाचन कार्यालय, महोत्तरीका प्रमुख सुबोधकुमार महतोका अनुसार अहिलेसम्म कार्कीले राजीनामा नदिएकाले जनप्रतिनिधिको रूपमा जनतासँग भेटघाट गर्न आचारसंहिताले नरोक्ने बताए।

उनले भने, “उहाँ कुन आशयले जानुभयो, त्यो थाहा छैन तर जनप्रतिनिधि जनताको समस्यामा जतिबेला पनि जान पाउनुपर्ने हो।”

यसबारेमा इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रमुख रवि रावलले आपूmलाई जानकारी नभएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here