महोत्तरी, २९ वैशाख/रासस
महोत्तरीका सबै मतदानस्थलका मतदान केन्द्रमा मत खसाल्नका लागि तयारी पूरा गरिएको छ। जिल्लाका १५ स्थानीय तहका २५८ मतदानस्थलका ४९७ मतदान केन्द्रमा मतदानलाई व्यवस्थित गर्न तयारीका काम भइरहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
“मतदान कार्य सम्पन्न गर्न हाम्रो सबै जनशक्ति सम्बन्धित मतदानस्थल र मतदान केन्द्रमा काममा छन्,” मुख्य निर्वाचन अधिकृत दीपकप्रसाद खरेलले भने, “सबै मतदान स्थल र केन्द्रमा खटिएका कर्मचारीले सुरक्षा घेरा व्यवस्थित गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने र मतदानको तरीकाबारे बुझाउन लागिपरेका छन्, यी सबै कार्य आज साँझसम्म सम्पन्न भइसक्नेछन्।”
जिल्लाका सबै मतदान स्थल र केन्द्रको सुरक्षा संवेदनशीलताबारे अध्ययन गरिएको र सोअनुरूप सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। “आम मतदाताले भयरहित भई मतदान गर्न सकून् भन्ने ध्येयलाई प्राथमिकतामा राखिएको र सो अनुसार व्यवस्था गरिएको छ,” प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने, “आम मतदातालाई निर्धक्क भएर मतदान गर्न हाम्रो आग्रह छ।”
दक्षिणतर्फ भारतसँगको ३८ किलोमिटर सीमा जोडिएको छ। स्थानीय तहका मतदानस्थलको सुरक्षा व्यवस्थामा पर्याप्त जनशक्ति परिचालन गरिएको छ। यस्ता ठाउँको सुरक्षा व्यवस्था विशेष चासोसाथ गरिएको जिल्ला प्रशासनले जनाएको छ। “नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन्, सबैतिर अनुगमनको व्यवस्था मिलाइएको छ,” उनले भने, “यद्यपि मुख्य पक्ष आम मतदाता, दलहरू र उम्मेदवारमा सकारात्मक चासो हुनुपर्छ।”
मङ्गलवार मध्यरातदेखि नै मौन अवधि शुरू भएको छ। यसै अवधिमा मतदानमा प्रभाव पार्न भोजभतेर, एकअर्को पक्षबीच भनाभन, दल र उम्मेदवारका कार्यकर्ता समूहमा निस्कनेजस्ता कार्यले निर्वाचन सुरक्षा र निष्पक्षतामा असर पार्ने हुँदा यस्तो कार्य नगर्न लगातार सचेत गराइएको निर्वाचन कार्यालले जनाएको छ।
आचारसंहिता सबै पक्षबाट परिपालना गराउन अनुगमन भइरहेकाले अवाञ्छित गतिविधि भए तत्काल कारबाई गरिने बताइएको छ। स्थानीय तहको निर्वाचनका लागि यसपालि जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता छन्।
धनुषामा निर्वाचन तयारी पूरा
धनुषा, २९ वैशाख/रासस
भोलि शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको छ। जिल्लाका १८ स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका र मतपत्रलगायतका आवश्यक सामग्री पुगिसकेको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा म्यादीसहितको सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा भाग लिने ३२ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित छ हजारभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। आज मतदाता परिचयत्रपत्र वितरण गर्नुका साथै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने तरीकासम्बन्धी जानकारी दिइएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन्। उनका अनुसार जिल्लामा ३२३ मतदानस्थल र ५९६ मतदान केन्द्र कायम गरिएका छन्।
सीमानाका बन्द
निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा स्थानीय प्रशासनले भारतसँग जोडिएका सीमानाका बन्द गरेको छ भने मदिरा बिक्री वितरण निषेध गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्था अनुसार आदेश जारी गरिएको जानकारी दिए। मङ्गलवार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को बिक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै मङ्गलवार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द गरिएको उनले जानकारी दिए।