काठमाडौं, २९ वैशाख/रासस
विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा ६४ वटा उद्योगलाई कानूनी कारबाही गरिने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगलाई कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा मुद्दा दर्ता गरिसकेको छ।
चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्य वस्तु उत्पादन गरेको अभियोगमा उनीहरूलाई कालोबजारी ऐन अनुसार कानूनी कारबाही हुने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। लेवल नराखी बिक्री वितरणमा ल्याइएका १९ र अखाद्य वस्तु उत्पादन गरेका ४५ उद्योगलाई कालोबजारी ऐन २०३२ ले हदैसम्मको कारबाई अन्तर्गत १० वर्षसम्म कैद र जरिवाना तोकेको छ।
महर्जनका अनुसार विभिन्न शीर्षकमा भइरहेको र अखाद्य वस्तु उत्पादन गर्ने, दालमोठ, मिट मसला, सब्जी मसला, मिक्स मसला, मसलाजन्य वस्तु जीराको धूलो, मुसुरोको दाल, घ्यू, दूध तथा दुग्धजन्य पदार्थ, आयातित तोरीको तेल, प्रशोधित पिउने पानी, स्टिम नुडल्स्, चियालगायतका धूलो उद्योगलाई कारबाई गरिने भएको हो।
वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका