- श्रीमन्नारायण
दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पवित्र वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा)का दिन लुम्बिनी भ्रमणमा आउँदैछन्। उनको यस भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनेछ। नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा महत्वपूर्ण पक्ष सामाजिक एवं सांस्कृतिक पक्ष पनि हो।
नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँध्न सक्दैनौं किनभने वैदिक ज्ञानको अस्तित्वलाई हामी आफूसँगै सुन्दै र बुझ्दै आएका छौं। धर्म, अध्यात्म र सांस्कृतिक समानताले दुवै देशलाई एकअर्कासित यसरी बाँधिदिएको छ कि दुवै देश पृथक भएर पनि अभिन्न छन्। नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ। नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका संवाहक हुन्। हिमालय, हामी दुवैको निम्ति आत्मसाधनको स्थल रहिआएको छ। आदिकालदेखि नै हिमालयका महान् शिखरहरूले हामीलाई आध्यात्मिक शक्ति प्रदान गर्दै आएका छन्।
नेपाल–भारत सम्बन्धको आधार पौराणिक, धार्मिक, भौगोलिक, सांस्कृतिक, वैवाहिक, सामाजिक, राजनीतिक र आर्थिक पक्ष पनि रहिआएको छ। यति प्राचीन र प्रगाढ सम्बन्धलाई कसैले चाहेर पनि कमजोर बनाउन सक्दैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुन लागेको लुम्बिनी भ्रमणले बुद्धको जन्मस्थल लुम्बिनीको विकास गर्नुका साथै बुद्ध सर्किटको निर्माण र नेपाल–भारत दुई पक्षीय सम्बन्धलाई पनि बलियो बनाउने निश्चित छ।
नेपाल र भारतबीच परम्परागत एवं बहुआयामिक सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउनमा दुवै देशका सरकार, बुद्धिजीवी, धर्माचार्य, साहित्यकार, कवि एवं कलाकारहरूले पनि आआफ्नो तर्फबाट महत्वपूर्ण भूमिकाको निर्वाह गरेका छन्। संविधानतः दुवै देश धर्मनिरपेक्ष भएपनि यहाँको जीवनपद्धतिमा हिन्दू एवं बौद्ध धर्म–संस्कृतिको गहिरो र व्यापक प्रभाव छ। केही वर्षयतादेखि नेपाल र भारतका सांस्कृतिक महत्वका तीर्थस्थलहरूलाई आकर्षक एवं पर्यटकीय बनाउने प्रयासहरू थालिएका छन्। नेपाल र भारतले संयुक्तरूपमा रामायण तथा बुद्ध सर्किटको निर्माण गरी यसको पर्यटन प्रवद्र्धनमा सहयोग पु–याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छन्। मोदीको लुम्बिनी भ्रमणले बुद्ध सर्किटको निर्माणमा ठूलो भूमिका निर्वाह गरेको छ। नेपाल र भारतको सांस्कृतिक सम्बन्धको ठूलो आधार वैवाहिक सम्बन्ध पनि हो।
यो वैवाहिक सम्बन्ध सीता–रामबाट शुरू भई राजपरिवार हुँदै सर्वसाधारणको घरसम्म पुगेको छ। हालका दिनमा वैवाहिक सम्बन्धको सङ्ख्यामा केही कमी अवश्य पनि आएको छ। तर हाम्रो धर्म–संस्कृतिको रक्षा एवं दुई देशबीचको कूटनीतिक सम्बन्धमा प्रगाढता ल्याउन पनि सांस्कृतिक सम्बन्ध बलियो रहनु आवश्यक छ।
रहनसहन, खानपान, जीवनशैली, सामाजिक एवं सांस्कृतिक मान्यता तथा संस्कार पनि एउटै किसिमको रहने गरेका कारण हामी कहिल्यै एकअर्काभन्दा भिन्न हुन सक्दैनौं। हाम्रF सामाजिक सम्बन्ध कहिल्यै कमजोर भएन। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित…भाग्यवेतको कल्याणमयी भावनाबाट हाम्रो सामाजिक व्यवस्था ओतप्रोत रहिआएको छ।
देवीदेवताका मठमन्दिरको देशको रूपमा प्रचलित नेपाल र भारतमा शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, मुस्लिम, इसाई, शिख आदि धर्मावलम्बीहरू आफ्नो इच्छा अनुसार धर्मानुष्ठान गर्ने गर्दछन्। धर्मानुष्ठानका बेला सङ्कल्प लिंदा हरि ॐ तत्सत् आर्यावर्तान्तर्गते भारत वर्षे भारत खण्डे जम्बूद्वीपे बौद्धावतारे आदि। गणेशादि विविध देवीदेवताका पूजनादिका बावजूद प्रमुखरूपमा ब्रह्मा, विष्णु र महेशको पूजन गर्दछन्। यिनलाई जन्मदाता, पालनकर्ता र संहारकर्ताको रूपमा जानिन्छ।
महाकाली, महालक्ष्मी र महासरस्वती यी तीन शक्तिलाई कष्ट दूर गर्ने, वैभव प्रदान गर्ने तथा बुद्धि प्रदान गर्नेको रूपमा मान्यता रहेको छ। यसरी नै पञ्चदेवता, विष्णु, पञ्चभौतिक, दशदिक्पाल एवं नवग्रहादि देवताहरूलाई समानरूपमा पूजाअर्चना गरिन्छ। र यिनमा अहिंसा परमोधर्मको भावना बढी हुन्छ। यी ईश्वर अंश जीव अविनाशीको मान्यता राख्दै पशुपक्षी, जड–जङ्गलमा पनि ईश्वरकै अंश मान्ने गर्दछन्।
नेपाल र भारत बहुभाषिक, बहुजातीय देश भएका कारण यहाँ विविध प्रकारका जाति, संस्कृति, संस्कार, पर्व एवं त्योहार मनाउने गरिन्छ। यिनमा रक्षाबन्धन, दुर्गापूजा, दीपावली, होली, छठ, इन्द्रजात्रा, मच्छिन्द्रनाथ रथ यात्रा, मकर सङ्क्रान्ति, वैशाखी, रामनवमी, कृष्णाष्टमी, बौद्ध जयन्ती, रमजान आदि यस्ता सांस्कृतिक समारोह हुन्, जो दुवै देशमा समान भावले मनाइन्छ। उपरोक्त सांस्कृतिक परिवेशले पनि हाम्रो सांस्कृतिक सम्बन्धलाई बलियो बनाएको छ।
नेपाल र भारत आर्यावर्तान्तर्गतका देश मानिन्छ। यस भूभागमा वैवाहिक सम्बन्ध निकै पुरानो छ। पौराणिककालदेखिको यस सम्बन्धलाई रोटीबेटीको सम्बन्ध पनि मानिन्छ। सीताराम, उत्तरा, अभिमन्यू, अंशुवर्माको छोरी र हर्षवद्र्धनको वैवाहिक सम्बन्ध यति पुरानो रहिआएको छ कि त्यस परम्पराको निर्वाह शाही परिवारका सदस्यहरूले अहिले पनि गर्दै आएका छन्।
श्री ५ बडामहाराजधिराजको वैवाहिक सम्बन्ध काशी नरेशका छोरीसित थियो भने काश्मीरका राजपरिवारका राजकुमारीको विवाह नेपालको शाही परिवारमा भएको थियो। त्रेतायुगमा स्थापित अयोध्या र जनकपुरको सम्बन्ध अहिले पनि कायम छ। यसैबाट प्रभावित भएर मध्यप्रदेशको टिकमगढकी महारानीले जनकपुरमा जानकी मन्दिरको निर्माण गराएकी थिइन्। त्यति बेला नौ लाख रुपैयाँमा यस मन्दिरको निर्माण गरिएको कारण नै जनकपुरको जानकी मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ। आजको समयमा भरसक नौ अर्बमा पनि यस्तो मन्दिरको निर्माण सम्भव नहोला।
सीताराम, राधाकृष्ण, शिव–पार्वती, गौरीशङ्कर, पशुपतिनाथ, भगवान् बुद्ध, जनक, याज्ञवल्क्य, विश्वामित्र, परशुराम, विद्यापति, मुक्तिक्ष्Fेत्र, बराहक्षेत्र, जनकपुर, लुम्बिनी, विराटनगर, काशी, प्रयाग, हरिद्वार, अयोध्या, मथुरा, गङ्गाजमुना, कोशी, वाग्मती, विष्णुमति आदि यस्ता सांस्कृतिक धरोहर तथा सनातन आस्थाका केन्द्र रहेका छन्, जहाँ नेपाल–भारत सम्बन्धका आयामहरूलाई थप्ने गरिन्छ। यो एउटा यस्तो सङ्गमस्थल हो, जसले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउँदै रहनेछ।
सयकडौं वर्षदेखि एक समान संस्कृति तथा सभ्यताको बन्धनमा बाँधिएका दुवै देशको सौहार्दपूर्ण सम्बन्धमा कूटनीतिक सम्बन्धको कुनै खासै असर हुन सक्दैन। नेपाल–भारत सम्बन्ध हिन्दू संस्कृतिको जगमा आधारित छ। अयोध्या र जनकपुरको सम्बन्ध सीता र रामको रूपमा सम्पूर्ण हिन्दू राष्ट्रका लागि आस्थाको विषय बनिसकेको छ। जसलाई मेटाउन सकिंदैन। सत्य र अहिंसाको किरण भगवान् बुद्धको तीर्थस्थल लुम्बिनी जबसम्म यस पृथ्वीमा अवस्थित छ, तबसम्म नेपाल–भारत सम्बन्ध कमजोर हुन सक्दैन। यो सम्बन्ध दुई देशका सरकार अथवा नेताद्वारा निर्मित नभई आदिकालदेखिको प्राकृतिक र जनस्तरको सम्बन्ध हो, जसको मापन सम्भव छैन।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्षअघि पशुपति–काशी र जनकपुर–अयोध्या जोड्ने राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। गत वर्ष नेपाल र भारतका अधिकारीहरूबीच सम्पन्न एक बैठकले रामायण र बुद्ध सर्किट निर्माणको विषयमा समेत सहमति जनाउनुलाई ठूलो सांस्कृतिक उपलब्धिको रूपमा लिन सकिन्छ। माता जानकी तथा मर्यादा पुरुषोत्तम श्रीरामको शुभविवाहको पावन दिवस विवाह पञ्चमीको अवसरमा अयोध्याबाट जन्तीको रूपमा सहभागी हुन केही वर्षअघि जनकपुरधाम आएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर–अयोध्या तथा काठमाडौं–बनारसबीच भगिनी शहर निर्माणसम्बन्धी सम्झौताले दुवै देशको पर्यटकीय विकासमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरेका थिए। रामायण तथा बुद्ध सर्किटको निर्माणमा भारतको केन्द्र सरकार तथा उत्तरप्रदेश सरकारले जोड दिएको छ। जनकपुर र अयोध्याबीचको दूरी घटाउन रामजानकी राजमार्ग निर्माण हुन लागेको छ। भारत सरकारको सहयोगमा उत्तरप्रदेश सरकारले चार लेनको यो रामजानकी राजमार्ग निर्माण शुरू गरेको छ। यसको निर्माण सम्पन्न भएपछि जनकपुर–अयोध्या, जनकपुर–लखनऊ एवं जनकपुर–नयाँ दिल्ली बीचको दूरी पनि कम समयमा नै पूरा गर्न सकिन्छ।
प्रस्तावित रामायण सर्किटमा त्रेतायुगमा राम र सीता पुगेका नेपाल, भारत र श्रीलङ्काका धार्मिकस्थलहरूलाई एउटै मार्गले जोड्नेछ। त्यसमा नेपालको जनकपुर, भारतको सीतामढी, दरभङ्गा, बक्सर, चित्रकुट, नन्दीग्राम, महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, टम्पी, नासिक, नागपुर र रामेश्वरम् रहेका छन्। हाल श्रीलङ्काको पर्यटकीयस्थल यसमा नजोडिएको भएपनि निकट भविष्यमैं यसलाई पनि रामायण सर्किटमा जोडिनेछ। त्यसैगरी, बुद्ध सर्किटमा नेपालको लुम्बिनी, कपिलवस्तु, देवदह, भारतको बोधगया, सारनाथ, कुशीनगर, वैशाली पर्दछन्। भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल तथा ज्ञानप्राप्ति एवं निर्वाणप्राप्ति स्थल भारत रहेकोले बुद्ध सर्किटको निर्माण भएमा नेपाल र भारत दुवै देशमा पर्यटकहरू आकर्षित हुनेछन्। गौतम बुद्धका सम्पूर्ण अवशेष, उनका पदचिह्न, उनका भिक्षुद्वारा निर्मित स्तुपहरू, एलोरा जस्ता अवर्णनीय शिल्प यहाँ छन् तर पनि नेपाल र भारतमा बौद्ध धर्म–संस्कृतिको जति विस्तार एवं प्रचारप्रसार हुनुपर्ने हो, त्यति हुन सकेको छैन। बुद्धको जन्मभूमि, कर्मभूमि एवं निर्वाणप्राप्ति भूमिसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक वस्तुहरू पूरै विश्वको निम्ति उपयोगी साबित हुन सक्छन्। पर्यटन क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा विस्तारमा सहकार्य गर्दै दुवै देशका धेरै नागरिकको आस्थासँग जोडिएको क्षेत्रमा पर्यटनसँग सम्बन्धित कार्यक्रम र गतिविधि बढाउन दुवै देशबीच हुने गरेका सहमतिहरूलाई उपलब्धिको रूपमा लिनुपर्ने हुन्छ। नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्व छन्। जसमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटनाको रूपमा लिन सकिन्छ। सरकारहरूको सञ्चालन आफ्नै तरीका र परिस्थितिको बाध्यात्मक अवस्थाबाट भइरहेको हुन्छ तर दुर्ई देशबीच सांस्कृतिक सम्बन्ध यति प्रगाढ एवं अद्वितीय छ कि यसको बराबरी विश्वका अन्य कुनै पनि दुर्ई देशबीचको सम्बन्धले गर्न सक्दैन। नेपाल र भारत परस्पर आध्यात्मिक, धार्मिक एवं सांस्कृतिकरूपमा अनन्य भावले जोडिएका छन्। राजनीतिकरूपले नेपाल–भारत दुई पृथक सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र एवं अलग–अलग देश भएपनि दुवै एकअर्काको लागि अभिन्न छन्। मोदीको लुम्बिनी भ्रमण दुवै देशको लागि लाभकारी साबित हुनेछ।