प्रस, सिम्रौनगढ, २५ वैशाख/
सिम्रौनगढ नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी दलका र स्वतन्त्र उम्मेदवार गरी ३२४ जना चुनावी मैदानमा छन् ।
३२८ जनाले उम्मेदवारी दर्ता गराएकामा चारजनाले फिर्ता लिएपछि ३२४ जना चुनावी मैदानमा छन् । यसपटकको स्थानीय तहको चुनावमा सिम्रौनगढमा नेपाली काङ्ग्रेसका निवर्तमान नगरप्रमुख विजयशङ्कर यादव र लोसपाका किशोरी साह कलवारबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । सिम्रौनगढमा एमालेबाट ताराचन्दप्रसाद साह र जसपाबाट शैलदेवी अहिरिन तथा जनमत पार्टीबाट लक्ष्मीकान्तप्रसाद साहलगायत चुनावी मैदानमा छन् ।
यसैगरी, उपप्रमुखमा पनि नेका, जसपा र लोसपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । नेकाबाट रीतादेवी कुशवाहा र लोसपाबाट नजमु शेहर र जसपाबाट पन्नालालप्रसाद कुशवाहा चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट किरण देवी, नेकपा माओवादी केन्द्रबाट फूलझरीदेवी यादव, जनमत पार्टीबाट सुषमाकुमारी यादव र नेकपा (एस)बाट गजेन्द्रप्रसाद कुशवाहा चुनावी मैदानमा छन् ।
११ वटा वडा रहेको सिम्रौनगढमा नेका, लोसपा, एमाले, नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू मुख्यरूपमा विजयी हुने अनुमान गरिएको छ ।