• अनन्तकुमार लाल दास

वैशाख ३० गते लोकतान्त्रिक प्रणाली अन्तर्गत स्थानीय तहको निर्वाचन हुँदैछ । लोकतन्त्र आफैमा एउटा यस्तो प्रणाली हो जसमा सबैको हित र सबैको सुख र समृद्धिको परिकल्पना गरिएको हुन्छ । अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनका अनुसार लोकतन्त्र जनतामाथि जनताद्वारा गरिने शासन हो । यसबाट के प्रस्ट हुन्छ भने यस शासन प्रणालीमा जनताद्वारा छानिएका प्रतिनिधिहरूले शासन गर्छन् अर्थात् यस शासन प्रणालीमा प्रतिनिधिमार्फत जनसहभागिता अनिवार्य हुन्छ । त्यहीं लोकतान्त्रिक प्रणालीलाई पूर्णरूपले सफल बनाउनको लागि स्वच्छ, निष्पक्ष शान्तिपूर्ण र कदाचारमुक्त निर्वाचन हुनु अनिवार्य हुन्छ ।

विश्वमा निर्वाचनको बढी महŒव रहेको छ । यसैगरी नेपालमा पनि निर्वाचनले आफ्नो बेग्लै पहिचान कायम गरेको छ । नेपालजस्तो विकासशील मुलुक जहाँ आर्थिक मन्दीको सम्भावना रहेको छ र देश विप्रेषण, ऋण र अनुदानको भरमा चलिरहेको छ त्यहाँ तीनवटै तहको निर्वाचनमा हुने खर्चले झन् आर्थिक सङ्कट निम्त्याउने खतरा त्यतिकै प्रबल हुन्छ । एकातिर पेट्रोल र डिजलको खपत कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता अव्यावहारिक निर्णय गरिन्छ त्यहीं उम्मेदवारहरू प्रचारका लागि निश्चित रकम खर्च गर्ने प्रावधानका बावजूद रक्सी र मासुको खोलो बगाइरहेका छन् र निर्वाचन आयोग लाचार भई, थाहा हुँदाहुँदै, मौन बसेको छ ।

निर्वाचनमा अहम् भूमिका देशका नागरिकको हुन्छ र त्यसमा पनि सबैभन्दा बढी अहम् भूमिका विद्यार्थी र युवाहरूको हुन्छ । यस कारण विद्यार्थी जीवनमा निर्वाचनको बढी महŒव हुन्छ । यदि विद्यालय तहदेखि नै निर्वाचन शिक्षा दिन थालियो भने निर्वाचनमा हुने धेरैजसो धाँधली न्यून गर्न सकिन्छ । इमानदार र सही नेतृत्व छनोट गर्न सकिन्छ । सँगसँगै निर्वाचनमा आम नागरिकको सहभागिता प्रतिशत पनि वृद्धि हुन्छ ।

संसद्, प्रदेश कार्यपालिका, स्थानीय तहमा प्रतिनिधि छान्ने प्रक्रियामा विद्यार्थीहरूको भागीदारिताको अर्थ युवामाथि दायित्वको बोझ हाल्नु, देशका पढेलेखेको युवावर्गद्वारा आफ्नो प्रतिनिधि छान्ने क्षमता विकसित गर्नु र स्वयं उत्साही युवाद्वारा राष्ट्र निर्माणमा सहयोग गर्नु हुन्छ । युवा पीढी भोलिको भविष्य भएको कारण ऊ राजनीतिक रूपले जागृत हुनु भनेको राष्ट्रिय जीवनको उन्नति र प्रगतिको प्रतीक हो । युवापीढी अर्थात् विद्यार्थीवर्ग शिक्षित एवं ज्ञानी भएको कारण उसले आफ्नो भावना पोख्ने अधिकार पाउनुपर्छ । यस कारणले नै होला हाम्रो देशमा मत दिने उमेर १८ वर्ष रहेको छ, जसले विद्यार्थी र राजनीति सम्बन्धमा कहिलेकाहीं उठ्ने गरेको प्रश्नचिह्न समाप्त गरिदिएको छ । यसरी हिजोआज विद्यार्थी पनि राजनीतिको एउटा अङ्ग बनेको
छ ।

कैयन विद्वान्ले विद्यार्थीहरूको क्षमता र उर्जा रचनात्मक र क्रियाशील बनाई देशहितमा प्रयोग गर्ने कुरामा जोड दिएका छन् । वास्तवमा भन्ने हो भने युवाशक्ति बेगर सामाजिक क्रान्ति सम्भव छैन । आज पनि नेपालको लगभग ३३ प्रतिशत जनता अशिक्षित छ । निरक्ष्Fरले विचार पु¥याएर मत खसाल्छ भन्ने आशा गर्नु निरर्थक हो । यस कारणले शिक्षित र विवेकशील मानिसहरू निर्वाचन प्रतिस्पर्धामा पछि पर्छन् । अतः निर्वाचनमा विद्यार्थीहरूले भाग लिनु गणतन्त्रको लागि शुभ सङ्केत हो । उनीहरूले गणतन्त्रमा अशिक्षित मतदाताबाट मतदानमा हुने असन्तुलन न्यून गर्न सघाउ पु¥याउँछन् ।

यही कारण हो माध्यमिक तहको सामाजिक शिक्षामा नागरिक चेतना एकाइ अन्तर्गत राजनीतिक दलहरू, निर्वाचन प्रक्रिया, निर्वाचनमा नागरिकको भूमिकाजस्ता पाठ समावेश गरिएको छ । जस अन्तर्गत राजनीतिक दल भनेको के हो ? प्रजातन्त्रमा राजनीतिक दलहरूको के भूमिका हुन्छ ? राजनीतिक दल खोल्नको लागि हाम्रो संविधानमा के प्रावधान दिइएको छ ? नेपालको निर्वाचन प्रक्रिया कस्तो छ ? कसरी मत बदर हुन्छ ? निर्वाचनभन्दा पहिले, निर्वाचनको बेला र निर्वाचनपछि गरिने काम के–के हुन् ? कसरी राम्रो उम्मेदवार छनोट गर्ने ? नेपालको मतदानमा विद्युतीय मेशीनको प्रयोगमा के–के सहजता र जटिलता छ ? निर्वाचनमा खट्ने कुन–कुन पदाधिकारीले के–के काम गर्छन् ? निर्वाचन घोषणापत्र भनेको के हो ? कसलाई भोट हालेर के हुन्छ ? भोट दिन जान्न भन्ने अभिभावकलाई विद्यार्थीहरूले कसरी सम्झाउन सक्छन् जस्ता गम्भीर कुरा पाठमा समावेश गरिएको छ । तर विडम्बना के छ भने यस्ता पाठ पढाउने जुन तरीका दिइएको छ त्यसरी यो पढाइँदैन ।

सामाजिक शिक्षा चाखलाग्दो विषय हो र यो विषय पढाउने शिक्षकहरूले यदि सही तरीकाले पढाउँछन् भने देशको अनुहार सजिलै फेर्न सकिन्छ तर शिक्षकहरूले नै यसलाई जटिल विषय बनाइदिएका छन् । माथि उल्लिखित प्रश्नहरूको जवाफ घोक्न नलगाई यदि सम्पूर्ण निर्वाचन प्रक्रिया विद्यार्थीहरूद्वारा नै गर्न लगाइयो भने विद्यार्थीहरूमा निर्वाचनबारे सम्पूर्ण प्रक्रियाको ज्ञान हुनुका साथै निर्वाचन कसरी स्वच्छ र धाँधलीरहित बनाउन सकिन्छ र कसरी मासु–चिउरा खुवाउने वा पैसा बाँड्ने नेताहरूको छनोट नगरी स्वच्छ छवि भएका इमानदार नेतृत्व चाहे त्यो जुनसुकै दलको किन न होस्, छान्न सघाउ पु¥याउँछ ।

सामाजिक शिक्षामा भएको निर्वाचन शिक्षालाई यदि प्रयोगात्मकरूपमा बुझाउनुको साथै विद्यार्थीहरूलाई निर्वाचन र मतदानको प्रत्यक्ष अनुभव गराइयो भने निर्वाचन शिक्षाको व्यावहारिक ज्ञान पाउनुको साथै स्वच्छ प्रतिस्पर्धाको पनि अभ्यास विद्यालयमैं गराउन सकिन्छ । त्यहीं अर्कोतिर अभिभावकले मात्रै निर्वाचनमा मत खसाल्ने गरेको अनुभव लिएका विद्यार्थीहरू स्वयं विद्यालयमा मत खसाल्दा दङ्ग पर्छन् र निर्वाचन प्रक्रियाको अभ्यास गर्न पाउँदा खुशी पनि हुन्छन् र सामाजिक विषयप्रति रहेको नकारात्मक धारणा पनि समाप्त हुन्छ । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सहभागिताका लागि स्वजिम्मेवारी बोध गराउने उद्देश्यले सृजना गरिने विभिन्न पदका लागि शिक्षकले नाम तोक्नुभन्दा निर्वाचन पद्धतिबाट चयन गर्दा पारदर्शी हुनुका साथै विद्यार्थीहरूले निर्वाचन शिक्षाको व्यावहारिक ज्ञान सजिलै पाउँछन् । त्यसैले विद्यालय तहमा निर्वाचन शिक्षालाई प्रभावकारी बनाउने हो भने यस्तो प्रयोगात्मक अभ्यास सबै विद्यालयमा हुनु जरूरी छ ।  

हिजोआज निर्वाचनले गर्दा शिक्षण संस्थाहरू राजनीतिको अखडा बन्दै गएका छन् । विश्वविद्यालय र क्याम्पसमा हुने विद्यार्थी सङ्घ र सङ्गठनको निर्वाचन सङ्घ, प्रदेश वा स्थानीय निर्वाचनको एक प्रकारले लघु रूप हो । आज लाखौं रुपियाँ खर्च गरेर अध्यक्ष र सचिव पद हासिल हुन्छ । जब राजनीतिक मताधिकारको घ्यूबाट राजनीतिक स्वार्थको आगो सल्किन्छ अनि त्यसको परिणाम सुखद हुने आशा कसरी गर्न सकिन्छ ? अर्कोतिर यस उमेरमा विद्यार्थीहरू आफै विवेकपूर्ण ढङ्गले सही निर्णय लिन सक्नेजति समझदार पनि हुँदैनन् । यस उमेरमा वा भनौं यस अवस्थामा उनीहरूले पारिवारिक दायित्वको परिभाषा पनि राम्ररी बुझेका हुँदैनन् र जागीरे योग्यताबाट वञ्चित रहेको बेला निर्वाचनको महŒव के बुझ्छन् ? परिणामस्वरूप उनीहरू कुटिल र चलाख राजनीतिज्ञजस्ता स्वार्थीहरूको षड्यन्त्रका शिकार बन्न पुग्छन् ।

विद्यार्थीहरूमा बढी जोश त हुन्छ तर होश कम हुन्छ । यस कारण उनीहरूमा अदम्य साहसी स्रोतको प्रवाह बेस्सरी हुन्छ । होशको कमीले गर्दा उनीहरू निर्वाचनको धारा मोड्न सक्छन् र राष्ट्रमा परिवर्तन पनि देखापर्छ तर परिवर्तनको लागि मात्र परिवर्तन कहिल्यै पनि उचित हुँदैन । देशका युवाहरू भावी पीढीका द्योतक हुन् र प्रायः प्रत्येक महान् कार्य युवाद्वारा नै गरिनुपर्छ । विद्यार्थीहरूलाई निर्वाचनमा मताधिकार दिनु वा उम्मेदवार बनाउनु राष्ट्रहितमा नै हुन्छ । त्यही अर्कोतिर विद्यार्थी जीवनमा प्राप्त यस प्रकारको अनुभव र अभ्यासको प्रयोग उनीहरू प्रौढ भएपछि राष्ट्रहितमा गर्न सक्छन् । तेस्रो देशमा नेतृत्वको दोस्रो पङ्क्ति उभिन्छ र प्रथम पङ्क्ति हटेपछि नेतृत्वको अभाव हुन दिंदैन ।

विद्यार्थीहरूको निर्वाचनमा अहम् योगदान हुन्छ किनभने भोलि उनीहरूले नै देशलाई सही दिशा प्रदान गर्न सक्छन् । विद्यार्थीहरूले आफ्नो छरछिमेक र परिवारमा समेत निर्वाचनमा भाग लिन जागरूक बनाउन सक्छन् । सही नेतृत्व छनोट गर्न र नेतृत्वलाई देश र नागरिकप्रति दायित्व बुझाउने काम एउटा शिक्षित विद्यार्थीभन्दा राम्रो कसैले गर्न सक्दैन । आउने वैशाख ३० गते हुने निर्वाचनमा विद्यार्थी र युवाले अशिक्षित जनतालाई योग्य जनप्रतिनिधि छनोट गर्ने काममा जागरूक बनाउन भूमिका खेल्नुपर्ने हुन्छ, अनिमात्र सही र योग्य नेतृत्व छान्न सकिन्छ जसले स्थानीय र राष्ट्रिय हितमा कार्य गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here