स्थानीय तहको निर्वाचनका लागि अब मतदानको प्रक्रिया मात्र बाँकी छ । उम्मेदवारी दर्ता, दाबी विरोध, नाम फिर्तालगायतका प्रक्रियाहरू पूरा भएर उम्मेदवारहरूको अन्तिम नामावली पनि प्रकाशन भइसकेको छ भने स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न दिने कार्य पनि सकिएको छ । वैशाख ११ गतेदेखि निर्वाचन प्रक्रिया शुरू भएको थियो र वैशाख १७ गते एक चरणको निर्वाचन प्रक्रिया सकिएको छ । अब सबै उम्मेदवार आफ्नो वडा र पालिकामा चुनावी प्रचारप्रसारमा होमिएका छन् । यसोत उम्मेदवारी पक्कापक्की भएकाहरूले वैशाख शुरू भएसँगै चुनाव प्रचारमा होमिएका थिए । उम्मेदवारी पक्का नभएकाहरू निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि सक्रिय भएका हुन् । पर्सा जिल्लामा दुई हजार ६७० जनाले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूमा मनोनयन दर्ता गराएका थिए । सोमध्ये ४१ जनाले मात्र नाम फिर्ता लिएका छन् । सत्तारूढ पाँच दलको गठबन्धन र प्रतिपक्षको तीन दलीय गठबन्धन प्रमुख र उपप्रमुखमा सीमित रह्यो । वडास्तरमा उनीहरूबीच समीकरण बन्न सकेन ।
केही स्थानीय तहमा भने गठबन्धनबीच वडाध्यक्ष र सदस्यहरूमा पनि सहकार्य भएको छ । वीरगंज महानगरपालिका त्यसको उदाहरण हो । महानगरमा प्रतिपक्षको गठबन्धन एमाले, लोसपा र राप्रपा नेपालबीच वडास्तरमा पनि सहकार्य भएको छ । तीन दलबीचको सहकार्य भएपनि लोसपा र राप्रपा नेपालका उम्मेदवारहरू भने सूर्य चिह्नमा चुनाव लड्दैछन् । लोसपाबाट उपप्रमुखका उम्मेदवारले मात्र आफ्नो दलको चुनाव चिह्न लिएका छन् । निर्वाचन आयोगले एउटै दलको चिह्नमा चुनाव लड्दा प्रमुख र उपप्रमुखमध्ये एकजना महिला अनिवार्य गरेकोले यसो भएको हो । अहिले देशभरका स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । यसो त यसपटकको स्थानीय तहको निर्वाचन पनि गर्मीयाममा भइरहेको छ । राप र तापबीच उम्मेदवारहरूमा जित्ने होडबाजी हुनु अस्वाभाविक पनि होइन । अहिले एकले अर्कालाई बेइमान, भ्रष्टको उपाधि थुपार्ने र आफूलाई चोखो बनाउने कार्य भइरहेको छ । मतदाताहरू पनि अन्योलमा छन् । मतदाता आकर्षित पार्नका लागि उम्मेदवारहरूले कुनै कसर छाडेका देखिंदैनन् । बोलीचालीबाट लोभिने मतदातासँग मीठो बोल्ने, खानपिन गर्नेलाई सोही अनुरूपको आतिथ्य प्रदान गर्ने अनि पैसाबाट प्रभावित हुने मतदातालाई पैसा पनि बाँड्ने जस्ता कुराहरू निर्वाचनका क्रममा थुप्रै सुन्नमा आइसकेको छ । यसअघिका घटनाक्रमहरू सम्झने हो भने मौन अवधिमा सबैभन्दा बढी रकमको लेनदेन हुने गरेको थियो । यसपटक वैशाख २७ गते राति १२ बजेपछि मौन अवधि शुरू हुन्छ । सो दिनसम्म प्रचारप्रसारमा व्यस्त उम्मेदवारहरूमध्ये पैसा खर्च गरेर पनि चुनाव जितिन्छ भन्ने सोच विकास गरेकाहरूले वैशाख २८ र २९ गते राति दुई दिन यसै विषयलाई प्राथमिकता दिने गर्छन् ।
मतदाताहरू चुनावका यी विकृतिविरुद्ध खडा हुने जमर्काे गर्न सक्नुपर्छ अनिमात्र असल उम्मेदवारहरूले चुनाव जित्न सक्छन् र जनपक्षीय विकासका कार्यहरूले प्राथमिकता पाउँछ सक्छन् । उम्मेदवारले पैसा खर्च गरेर चुनाव जित्छ भने पाँच वर्षसम्म मतदाताहरू पछुताउनेबाहेक केही हुन्न । किनभने लगानी गर्नेले असुल उपर गरिछाड्छ । राजनीतिक विकृति पनि चुनावमा अत्यधिक पैसा खर्च भएर बढेको हो । चुनावलाई निर्वाचन आयोगले सस्तो बनाउने प्रयास गरेको छ । त्यसमा मतदाताको भूमिका अहम् हुन्छ ।