प्रस, परवानीपुर, १७ वैशाख/
गएराति आएको हावाहुरीका कारण ३६ घण्टामा वीरगंजका एक हजार घरमा बत्ती बलेको छैन ।
हावाहुरीले पर्सा, बाराका अधिकांश गाउँमा बिजुलीको तार चुँडिएको, पोल खसेको कारण विद्युत् आपूर्ति असहज बनेको छ । गाउँलेहरूका अनुसार हिजो बिहान ११ बजेदेखि नै अधिकांश गाउँमा बत्ती गएको छ ।
साँझ ५ बजे आएको बत्ती राति ७ बजेपछि आएको हावाहुरी र पानीको कारण अवरुद्ध भएको छ । गर्मीको मौसममा बत्ती नहुँदा लामखुटेको प्रकोपले रात गुजार्न पनि समस्या भइरहेको वीरगंज–२१ पटेलनगरका सन्तोष कुर्मी बताउँछन् ।
त्यसैगरी, बारा, प्रसौनी गापा–१ नकुटुवाका जीतेन्द्र जैसवारले गएरातिदेखि बत्ती नआएको बताए । उनले लामो समयसम्म बत्ती जाँदा मोबाइल, टिभी र धान कुट्ने मिल पनि बन्द भएको बताए । उनले विद्युत् आपूर्ति सुचारु गर्न पनि नेपाल विद्युत् प्राधिकरण, वीरगंज वितरण केन्द्रले खासै वास्ता नगरेको गुनासो गरे ।
वीरगंजका उपभोक्ताहरूले दुई दिनदेखि अघोषितरूपमा बत्ती कटिरहेको तर प्राधिकरणका प्राविधिकहरूले तदारूकताका साथ काम नगरेका कारण आफूहरू दुई दिनदेखि विद्युत्विना दिनरात काट्न बाध्य भएको आरोप लगाए ।
नेपाल विद्युत् प्राधिकरण, वीरगंज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झासँग बुझ्दा हावाहुरीले विद्युत् सेवा प्रभावित भएको स्वीकार गरे । उनले विशेषगरी ७१ जना उपभोक्ताबाट प्रत्यक्ष बिजुली नपाएको गुनासो आएको बताउँदै २४ ठाउँमा तार चुँडिएको र सात ठाउँमा पोल ढलेका कारण समस्या भएको बताए । उनले हिजोदेखि आज दिनभर गरी करीब सात सय फोन रिसिभ गरी समस्यालाई यथाशीघ्र सुचारु गर्न प्रयासरत रहेको दाबी गरे । “हिजोको हावाहुरीले निकै क्षति भएको छ, ठाउँठाउँमा पोल ढलेको छ, तार चुँडिएको छ,” उनले भने, “आज दिनभर निकै गम्भीरतापूर्वक प्राविधिकले काम गरेका छन्, अहिले पनि सबै ठाउँको लाइन सुचारु गर्न हामी तत्पर छौं ।”
उनका अनुसार ग्रामीण र औद्योगिक गरी कुल ५० हजार उपभोक्ता रहेकामा करीब ४९ हजारजनाको घर र उद्योगमा बत्ती बलिरहेको र बाँकी एक हजारजनाको घरमा बत्ती नबलेको स्पष्ट पारे । तर आइतवार दिउँसो २ बजेसम्म सबै ठाउँको लाइन चालू गर्ने गरी तीव्ररूपमा काम भइरहेको पनि स्पष्ट पारे । उनले बाराको नकटुवा, नितनपुर, वीरगंजको भेडियाही, नेशनल मेडिकल कलेज क्षेत्र, पटेलनगर, परवानीपुर र पर्साको कृषि फिडर र ग्रामीण फिडरमा समस्या भएको बताए ।